दुई व्यक्तिको नागरिकता नम्बर एउटै, एउटामा नम्बर नै छैन

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट जारी गरिएको दुई छुट्टाछुट्टै व्यक्तिको नागरिकतामा एउटै नम्बर भएको पाइएको छ। जिल्लाको दोखु र खोक्लिङ गाविसका दुई व्यक्तिको नागरिकता नम्बर एउटै भएको पाइएको हो।
सदरमुकामस्थित एक मोबाइल पसलमा सिमकार्ड खरिद गर्न आएका दोखु गाविस– ८ बस्ने अम्बरबहादुर गुरुङकी छोरी चन्द्रमाया गुरुङ र खोक्लिङ– ४ बस्ने जनकलाल कार्कीका छोरा भीमप्रसाद कार्कीको नागरिकतामा एउटै नम्बर पाइएको छ। गुरुङ र कार्कीको नागरिकता नम्बर २३४/२३४ रहेको छ।
कार्कीको नागरिकता २०४४ साल माघ २८ गते जारी गरिएको र नागरिकतामा टोली प्रमुख जध्यदेव रायले हस्ताक्षर गरेको छ भने गुरुङको नागरिकता २०४६ साल जेठ २४ गते जारी भएको र त्यसमा निमित्त प्रमुख जिल्ला अधिकारी वामदेव शर्मा पौडेलले हस्ताक्षर गरेका छन्।
यस्तै जिल्लाको पूर्वी साब्लाखु गाविस वडा नं ४ बस्ने पदमलाल लिम्बूका छोरा बुद्धिराज पन्दाकको नागरिकतामा नम्बर नै नभएको पाइएको छ।
पन्दाकले २०५७ साल माघ २९ गते नागरिकता लिएका र नागरिकतामा सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार दाहालले हस्ताक्षर गरेका छन्।
केही समयअघि जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न टोली गाउँ पुगेको बेला नामावली दर्ता गर्न जाँदामात्र आफ्नो नागरिकतामा नम्बर नभएको थाहा भएकोे पन्दाकले बताए।
नागरिकतामा नम्बर नभए पनि फोटोसहितको मतदाता नामावलीमा भने नाम दर्ता गराएको उनले बताए।
Post a Comment