0

साउने सङ्क्रान्ति, लुतो र नयाँपुस्ता

साउने सङ्क्रान्तिमा लुतो फाल्ने चलन नेपाली गाउँघरमा अझै छ । असारे हिलोका कारण आउने लुतो फाल्ने पुरानो चलनबारे कमै शहरिया नेपालीलाई थाहा होला । गोरखाको तान्द्राङ गाउँमा जन्मिएको मलाई हरेक साउने सङ्क्रान्तिमा लुतो फालेको र महीनौंअघिबाट त्यसको चर्चा–तयारी हुने गरेको सम्झ्ना छ ।
त्यसैले, साउने सङ्क्रान्तिमा पूजा सामग्री खोज्न छोराहरू सकेसम्म त्यता नगइदिए हुन्थ्यो भन्ने बाआमाको चाहना भए पनि हामी चुलबुलेहरू त्यतै जाने बहादुरी देखाउँथ्यौं, त्यो पनि प्रतिस्पर्धाको रूपमा । त्यो चिप्लो भीरको जंगलमा हामी जनैलहरो, पानीसरो, कुरिलो, कुकुर डाइनो, मकर काँचुली, भलायोको पात, रातो पाते लगायतका वनस्पति संकलन गथ्र्यौं । अरू चिज सजिलै पाइए पनि कुकुर डाइनो कमै थियो, त्यो वनमा । जुन पाइँदैन, त्यो भेट्ने होड हुन्थ्यो हामीबीच । जंगलमा पाइने मात्र होइन, हामी घर वरिपरिका लतालहरासँगै जोले अम्बा, निबुवा, कागती, मकै समेत जम्मा गरेर तुलसीको मठ नजिक थुपाथ्र्यौं ।
यसरी जम्मा गरिएका पूजा सामग्री र पातीको झिर्कासँगै राखेर सूर्यास्तपछि पूजा गर्ने चलन छ । पूजापछि पातीको थुप्रोमा आगो बाल्ने गरिन्छ । कसले बढी पातीको झिर्का जम्मा गर्न सक्छ भन्ने प्रतिस्पर्धा साउने सङ्क्रान्तिको राति कसको घरमा ठूलो आगो बल्छ भन्ने कुरासँग जोडिएको हुन्थ्यो । त्यही आगोबाट अगुल्टो निकालेर हल्लाउँदै ‘लुतो पिलो, खटिरा पटिरा लैजा है’ भनेर कराउँदै र शंख फुक्दै चारै दिशामा फाल्ने चलन छ । अगुल्टो फाल्दा खरले छाएको घरमा पुग्ने हो कि भन्ने डर हुन्थ्यो । यसरी अगुल्टो फाल्दा राक्षसले वर्षभरि दुःख नदिने विश्वास पनि गरिन्छ ।
यस्तो रमाइलो पर्व साउने सङ्क्रान्ति नमनाएको २० वर्ष भइसकेछ । २०५० सालमा एसएलसी पास गरेर काठमाडौं झ्रेपछि साउनमा घर जाने मौका नजुर्दा लुतो फाल्ने एक महीने तयारी सम्झ्नामा सीमित हुन पुग्यो । यसपालि साउने सङ्क्रान्तिको दुई दिनअघि गाउँघरको यस्तो चलनबारे कुरा गर्दा सात वर्षकी छोरी राशीले खूब चाख मानेर सुनिन् । नेपाली समाजमा परापूर्वकालदेखि चलेका यस्ता चलनहरूबारे आजका बालबालिकालाई कसले सिकाउने, कसले पढाउने होला !

Post a Comment

 
Top