हजुरआमाको पालाको तिज महादेवको गुणगान गरेर बित्थ्यो । अहिलेका तिजका भन्दा बिलकुल भाका अर्कै हुन्थे । सानो धिपधिपे पालामा बत्ती बालेर गाउँथे । गीत गाउनेहरु गाउँथे भने बाँकी हजुरआमाहरु बत्ती कातेर समय बिताउँथे । मलाइ धिपधिपे सम्झना छ लाहुरे परिवारका हजुरआमाहरु भने लडाइँका गीत पनि गाउँथे । माइति लिन आउने चलन थियो । आमाको पालाको तिज लोग्ने र सासुले दिएको दुख अनि काम गर्दा अन्धकार रातमा एक्लै बाटोमा परेको कुरा गरेर बित्थ्यो । माइति लिन आएनन भने आमाहरु रुन्थे । आमाको पालोसम्म लालटिनको चलन आइसकेको थियो । तैपनि सबैलाई यो भाग्य नभएकोले कोही चाँही आगोको अगुल्टो हल्लाउँदै गीत गाउनका लागि घर या ठाँटीहरुमा जम्मा हुन्थे । हाम्रो पालोको तिज परिवर्तनकालागि छनौट गरिएका गीतहरु गाएर बित्थ्यो र यसमा दाजुभाइले लेखिदिएका गीत पनि पर्थे । हामीहरु पुल र स्कूल हेल्थपोष्ट दिनुहोस राजा बिरेन्द्र भनेर गाउँथ्यौ । पछि पछि राजा बिरेन्द्र बाट मोडेर हामीलाई राजनीतिका गीत गाउन पनि लाए । हाम्रो पालोमा लालटिन आइसकेकोले त्यहि लिएर जान्थ्यौँ र ६ ७ वटा लालटिन भएपछि जम्मा भएको घर बढो रमाइलो हुन्थ्यो । बिहे गरेर गएपछि माइति लिन आउनै पर्छ भन्ने थिएन किनभने हाम्रो सोचाइमा माइति घर भनेको पनि घर जस्तै हो भन्ने थियो । साथिभाइलाई बोलाएर दर खाने चलन आइसकेको थिएन । अहिलेको तिजमा साथिभाइ बोलाउने चलन आयो । बिजुली आयो । तर दुखको कुरा क्यासेटका गीत लाएर नाच्ने चलन आयो । क्यासेटका गीतमा न आफ्नो आत्मा बोलेको हुन्छ न आफ्नो वरिपरिको समाज । न बिकासका कुरा हुन्छन् । न आमाहरुको दुखको कुरा हुन्छ । न हजुरआमाहरुको झैँ महादेवको गुणगानको कुरा हुन्छ । अचेल एउटै कुरा हुन्छ कसैले नगर्या काम गर्या जस्तो गहना देखाउने र कसैले लाउन नपा जस्तो सारी देखाउने र तिज हो कि रत्यौली हो छुटाउनै नसकिने ।
Post a Comment