‘ओई !’ पहिलो दिन क्याम्पस जान लाग्दा कमलाले भनेकी थिई— ‘पोते लार कलेज जान्छेस्, पाखेजस्तो ?’
प्रियाले खोल्न अप्ठयारो मानी । कमलाले थपी— ‘तेसरी गइस् भने त म तँसँग हिन्दिनँ ।’
प्रियाले बाध्य भई खोलेर भित्तामा झुन्डयाई ।
भित्तो प्रियाजस्तो, प्रिया भित्तोजस्तो देखिए !
‘सिँदूर नि पुछ् है’— कमलाले आदेश दिई ।
‘यो त मेरो बुडाको चिनो’— उसले भनी— ‘आजसम्म कइल्यै खाली राखेकी छुइन ।’
‘तेरो बुडालाई तँ मनमा राख् न । ब्यान–बेल्का पूजा गर् । नाथे सिँदूर पोतेमा अल्झेर हुन्छ ?’ उसले भनी ।
प्रिया अन्योलमा परी ।
कमलाले थपी— ‘पइला पुरूषले दस वटीसम्म ल्याउँथे । स्वास्नीचैँ अरुसँग नजाओस् भनेर सिँदूर–पोते लाउन बाध्य पार्थे । आफूचैँ जुल्फी लर्काउँदै जान्थे । अर्काले बे गर्न ठिक्क पारेकीलाई जग्गेबाटै तानेरसमेत ल्याउँथे । तेतिखेरै बनेको ढोँगी चलन त्याग्नुपर्छ ।’
प्रिया चुपचाप बसिरही ।
कमलाले कर्के नजरले हेरी ।
भारी मनले प्रिया बाथरूम गई, टाउको नुहाई । सिँदूरको दागसमेत पखाली । अनि, कमलाजस्तै बनेर हिँडी कलेज ।
आधुनिकताको हावाले कमलालाई छुयो, कमलाको हावाले प्रियालाई !
--मलाया एक्सप्रेसबाट--
Top
Post a Comment