जीवितभन्दा दिवंगत मरिचमान शक्तिशाली

सन् १९७८ मा पाकिस्तानका पूर्वप्रधानमन्त्री जुल्फीकर अलि भुट्टोलाई फाँसी दिएपछि भारतीय प्रधानमन्त्री मोरारजी देशाईको चेतावनीयुक्त प्रतिक्रिया थियो : 'जीवित भुट्टोभन्दा मृत भुट्टो शक्तिशाली सावित हुने छन्।' यो भनाइलाई पाकिस्तानको अस्थीर र सैनिक वर्चस्वसहितको राजनीतिक पृष्ठभूमिमा कसरी विश्लेषण गर्ने, भन्न कठीन छ। तर, भुट्टोलाई फाँसी दिने शक्ति र सत्ताको पतन अपमानजनक र विभत्स तरिकाबाटै भयो।
कुनै मुलुकका घटना–दुर्घटना अर्को मुलुकमा त्यही रूपमा दोहोरिँदैनन्। तर, समान प्रकृतिका घटना विभिन्न मुलुकका विभिन्न कालखण्डमा पुनरावृत्ति भने हुन सक्छन्, कुनै न कुनै रूपमा। क्यान्सरसँगको लामो लडाइँपछि विहीबार प्राण त्याग गरेका पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठबारे अहिले नेपालमा त्यस्तै अवधारणा बन्न थालेको छ– के दिवंगत मरिचमान सिंह जिउँदा मरिचमानभन्दा बढी शक्तिशाली सावित होलान्?
राजनीतिक मान्यता र राष्ट्रियताप्रतिको प्रतिबद्धता या त्यसको अभावबाट प्रभावित हुन सक्छन् यसबारेको उत्तर। तर, मरिचमानका राजनीतिक र सामाजिक आफन्तसाथै परिवारले उनलाई सरकारले दिएको 'एक किसिमको राजकीय सम्मान'लाई 'राष्ट्रवादी नेता' को अपमान मान्दै अस्वीकार गरेपछि मरिचमानको जीवनकालमा राजनीतिक रूपमा फरकमत राख्नेहरूको पनि अहिले उनले समर्थन, सहानुभूति र आदर कमाएका छन्।
विहीबार बेलुका उनको अन्त्येष्टिमा लागेका नाराहरू र मलामीमा सामेल भिडको 'मुड'ले प्रधानन्यायाधीश खिलराज रेग्मी सरकारलाई 'खलनायक'को रूपमा मात्र प्रस्तुत गरेन, सरकारमाथि वर्चस्व राख्ने चार पार्टीहरू, अझ खास गरी माओवादी नेताहरूलाई 'विदेशी दलाल' भएको र त्यसैले 'राष्ट्रवादी' नेताको अपमान उनीहरूको 'नियत' र 'बाध्यता' दुबै भएको सन्देश पनि दिइरहेको थियो।
सरकारले आदेश दिएअनुसार त्यहाँ 'विगुल' र 'ब्याण्ड'सहित उपस्थित नेपाल प्रहरी स्वर्गीय मरिचमानलाई बिदाइ नदिई फर्कन बाध्य भयो।
रेग्मी रहस्यमय व्यक्ति हुन्। पश्चाताप उनको चरित्र होइन। तर, भिडले नारा लगायो, 'खिलराज यो सम्मान आफ्नै लागि राख।'
आर्यघाटमा सामेल हुनेहरूले राष्ट्रिय 'मुड'को प्रतिनिधित्व गरे भन्न मिल्दैन। तर, माओवादीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार भई पराजित रामराजाप्रसाद सिंहलाई दिइएको भन्दा निम्नकोटीको 'सम्मान'का नाममा मरिचमानलाई 'अपमान' गरेको व्यापक धारणा अधिकांश सामाजिक सञ्चार नेटवर्कमा देखापरे। मरिचमानप्रतिको त्यो जनसहानुभूति र सम्मानका विभिन्न कारण छन्। अहिलेको राजनीतिक अनिश्चितता, अराजकता र नेपालको आन्तरिक मामिलामा बढ्दो भारतीय र अन्य विदेशी हस्तक्षेपले मरिचमानको व्यक्तित्व र चरित्रलाई धेरै उकासेको छ। धापासीस्थित उनको निवासमा पार्थीव शरीरमा फूल चढाउन पुगेका रेग्मी अनि बाबुराम भट्टराई र प्रचण्ड सबैले उनलाई राजकीय सम्मान 'लायक' रहेको घोषणा गरेपछि औपचारिकता र निम्नकोटीको सम्मानको घोषणा गर्यो सरकारले।
२०४६ सालमा भारतले लगाएको आर्थिक नाकाबन्दीसमक्ष नझुकेका र पछि नेपालको रक्षा र प्राकृतिक क्षेत्रमाथि असमान हिसाबले नियन्त्रण गर्न खोजेको भारत सरकारको प्रस्ताव अस्वीकार गर्न राजा वीरेन्द्रसँग एकमन र एकमत प्रदर्शन गरेका मरिचमानले आवश्यकता पर्नेबित्तिकै सबै दोष आफूले लिँदै राजीनामा दिन तयार भएको आश्वासनसाथ भारतसमक्ष नझुक्न राजालाई आग्रह गरका थिए।
यस्तो अर्थ लाग्ने मस्यौदा(ड्राफ्ट) प्रस्ताव भारतका तत्कालीन विदेश सचिव एसके सिंहले समकक्षी नरेन्द्रबित्र्र्कम शाहलाई बुझाएका थिए, सन १९९० को मार्च ३१ देखि अप्रिल २ बीच भएको उनको यात्राको अवसरमा। (मस्यौदाको विवरण तल हेर्नुहोस्।)
त्यसविपरीत बाबुराम–प्रचण्डले मरिचमानको त्यो अडानको १२ वर्षपछि भारतीय संस्थापनलाई गुप्तचर संस्थामार्फत गोप्य तथ लिखित आश्वासन बुझाएका थिए– भारतको अपरिभाषित 'व्यापक हित' विपरीत नजाने प्रतिज्ञाका साथ। मरिचमानले प्रधानमन्त्रीका रूपमा लगातार भारतको उच्चतम् तहलाई नेपाल भारतविरूद्ध 'नरहेको' र 'नजाने' आश्वासन दिए पनि गोप्य दस्तावेजमा अपारदर्शी रूपले हस्ताक्षर गर्न मानेनन्। तर, भारतले लगाएको १८ महिने नाकाबन्दीकै कारण नेपालमा वहुदलीय संसदीय व्यवस्था पुनर्स्थापनाको आन्दोलन सुरू भएकोले उनी 'प्रजातन्त्र विरोधी' रूपमा चित्रित हुन थाले। भारतीय संस्थापनका नजरमा कीर्तिनिधि विष्टपछिका या त्यस्तै तहका 'भारत विरोधी' का रूपमा पनि उनी चर्चित हुन थाले।
२०४८ र २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा उनी पराजित भए। तर, राजनीति र प्रधानमन्त्रीका रूपमा आएका निर्णयका पक्षमा अडिग रहे उनी। बरू भारतीय संस्थापनसँग नजिक रहेको 'अवधारणा'बाट ग्रस्त नेपाली कांग्रेसभन्दा माओवादी ज्यादा 'राष्ट्रवादी' भएको उनको प्रारम्भिक मान्यता थियो। तर, बाबुराम–प्रचण्डले भारतीय संस्थापनलाई चिठी बुझाएको प्रकरण एसडी मुनिले खुलासा गरेपछि उनीहरूप्रति मरिचमानको वितृष्णा बढेको थियो। यता नेकपा–माओवादीसँग उनले भेटघाट निकै बाक्लिएको थियो।
यता आएर चार दलका नेताहरूले विदेशीलाई स्वीकार्दै र प्रोत्साहित गर्दै गएपछि मरिचमानले बराबर दुबै माओवादीका नेताहरूको 'कान निमोठ्न' थालेको समेत जानकारहरू बताउँछन्। अर्थात उनको साहस र हैसियत बढ्दै गएको बेला उनी क्यान्सरबाट ग्रस्त भएको थाहा भयो। स्वदेशमै मर्ने अन्तिम अभिलाषाले नेपाली माटोप्रतिको उनको प्रेम पुनः चर्चाको विषय बन्यो। अन्त्येष्टिमा सरकारी विवेकहीनता र राष्ट्रवादी छवि बनाएका एउटा पूर्वप्रधानमन्त्रीप्रतिको असमान व्यवहारलाई आमजनताले 'राष्ट्रवाद' विरूद्धको अपमान मान्यो।
उनको अपमान गर्नेहरूको हीनताग्रस्त व्यक्तित्व र राजनीतिक प्रमाण बन्न पुग्यो त्यो।
एउटा व्यक्तित्वको 'वासलात' उसका जीवनका विविध कार्यहरूले निर्धारित गर्छन्। त्यसमध्ये केही कार्यहरूले निर्णायक हैसियत राख्छन्।
गिरिजाप्रसाद कोइरालाको २०६२–२०६३ नेतृत्वका सफलताले उनका जीवनका अनेक कमजोरी र असफलता ओझेलमा पारे। लहरविरुद्ध उभिने नेतृत्व क्षमताले कृष्णप्रसाद भट्टराईलाई अमर तुल्यायो। बिपीले राजनीतिक पराजयभन्दा प्रजातन्त्र र राष्ट्रियताका मूल्य र मान्यता आत्मसात गरेर महान बने। विदेशी वर्चस्व स्वीकारी सत्तामा पुगेका रेग्मी र त्यसलाई अनुमोदन गर्ने चार दलका नेताहरू 'राजनीतिक बाउन्ने' देखिँदै गर्दा मरिचमानको त्यसबेलाको अडान अहिले 'राष्ट्रवादी' छविको कारक तत्व सावित भयो। त्यसैले हुन सक्छ, सायद दिवंगत मरिचमान जीवितभन्दा बढी शक्तिशाली बन्न पुगे भविष्यमा भने आश्चर्य मान्नुपर्ने छैन।
Post a Comment