प्रचण्डलाई बिजुक्छेंको चुनौती
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितले आफूलाई राजावादी पुष्टि गर्न एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई चुनौती दिनुभएको छ ।
प्रचण्डले भक्तपुरमै गएर विजुक्छेको राजावादी र सामन्तवादीसँग साँठगाँठ रहेको आरोप लगाएपछि विजुक्छेले प्रचण्डलाई आरोप पुष्टि गर्न चुनौती दिनुभएको हो । ‘को राजावादी भन्ने त कमल थापाजीले भनि हाले’, उज्यालो अनलाइनसँग कुरा गर्दै विजुक्छेंले भन्नुभयो ‘हामी माथिको आरोप प्रचण्डले पुष्टि गर्न सक्दैनन ।’
प्रचण्डले जे पायो त्यही बोल्दै हिडेको बिजुक्छेंले टिप्पणी गर्नुभयो । ‘राजावादीले रोहितलाई फाँसी देउ (०४६ सालअघि) भनेर जुलुश निकाल्दा प्रचण्डका कार्यकर्ता जुलुशमा थिए’, विजुक्छेंले प्रचण्ड नै राजावादी भएको दावी गर्दै भन्नुभयो ‘अनि उहाँ राजावादी कि हामी ? प्रचण्डजी आफैसँग झुट बोल्दै हुनुहुन्छ ।’
प्रचण्डले आफूमाथिको आरोप पुष्टि गर्न नसक्ने र पछि आरोप फिर्ता लिनुपर्ने बिजुक्छेंले दावी गर्नुभयो । एकीकृत माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठ प्रकाशले वैदेशिक हस्तक्षेप बढेको भन्दै राष्ट्रियताको कुरा उठाए पनि बिजुक्छेंले त्यसलाई पत्याउनु भएन ।
प्रकाशको कुरा बार्गेनिङ मात्रै भएको बिजुक्छेले टिप्पणी गर्नुभयो । ‘उहाँ त एकदम चिप्लो मान्छे । भित्री कुरा नमिल्दा मात्रै कहिले काहीँ त्यस्तो आउँछ’, विजुक्छेंले भन्नुभयो ‘त्यस्तो हो भने उहाँले किन परराष्ट्रमन्त्री हुँदा राजिनामा दिनुभएन् ?’
भारतीय हस्तक्षेप हुने गरी भएको १२ बुँदे समझदारी हस्ताक्षर गराउन भूमिका खेलेकोले प्रकाशको कुरालाई पत्याउन गाह्रो भएको बिजुक्छेंले बताउनुभयो । ‘अमिकजीले १२ बुँदेमा हस्ताक्षर गरेपनि सबै गर्ने त नारायणकाजीजी हो’, बिजुक्छेंले भन्नुभयो ।
Post a Comment