यूवा सहभागिता र विकास
शिखा शर्मा -
संयुक्त राष्ट्र संघले हरेक वर्ष अगस्ट १२ मा अन्तर्राष्ट्रिय यूवा दिवस मनाउँछ । हरेक वर्षका लागि एउटा नारा तोक्छ । यस वर्षको यूवा दिवसका लागि ‘युथ माइग्रेशनः मुभिङ्ग डेभेलोप्मेन्ट फर्वाड’ भन्ने नारा तोकिएको छ । यही नाराका साथ नेपालमा पनि ठाउँठाउँमा र्याली निकालेर, यूवाहरुलाई टी सर्ट बाँडेर र केहीलाई सम्मान गरेर अन्तर्राष्ट्रिय दिवस मनायो । तर दिवसमा जति पनि कार्यक्रम भए, प्रायः सबै राजधानी केन्द्रित भए ।
यूवा केन्द्रित अन्तर्राष्ट्रिय यूवा दिवसका बारेमा काठमाडौंका धेरै यूवाले थाहै पाएनन् । ग्रामीण भेगका यूवाले यसबारे अत्तोपत्तो पाउने त झन् कुरै भएन । यो त एउटा उदाहरण मात्र हो । नेपालका त्यस्ता धेरै यूवा केन्द्रित कार्यक्रम छन्, जसका बारेमा स्वयं यूवालाई थाहा हुँदैन । यो यूवा वर्गका लागि दुःखको विषय हो ।
आजको यूवा भोलिको अभिभावक अथवा देश हाँक्ने व्यक्ति भनिन्छ । त्यसैले राजनीतिक, सामाजिक र आर्थिक, सबै क्षेत्रमा यूवा सहभगिता आवश्यक मानिन्छ । सबै क्षेत्रमा यूवाको निर्णयलाई मान्यता दिनुपर्छ । तर यो कुराले आजसम्म प्राथमिकता पाएको छैन । यूवा सहभागिताका बारेमा जतिसुकै कुराकानी र छलफल गरेपनि अहिलेसम्म व्यवहारमा लागु भएको छैन । बरु सहभागिताको नाममा यूवाहरुको प्रयोग भैरहेको छ । राजनीतिक पार्टीले आन्दोलनहरुमा जसरी यूवालाई प्रयोग गर्छन् त्यसरी नै पार्टीको निर्णय तहमा यूवाको सहभागिता गराउँदैनन् । बल पर्ने काममा यूवालाई अगाडि सारिए पनि यूवालाई अल्लारे वा अनुभवबिहीनको नाममा अवसर दिईंदैन । चाहे घरभित्र होस् वा समुदायमा यूवाहरुले सबैतिरबाट एकखाले भेदभाव खेपिरहेका छन् ।
यूवा भनेका परिवर्तनका सम्वाहक हुन्, यसमा कसैको दुईमत छैन । यूवाहरुले जानेका, बुझेका र सिकेका कुराहरु पनि धेरै हुन्छन् । कुनैपनि विषयवस्तुलाई नियाल्ने सीप यूवामा बेग्लै हुन्छ । विभिन्न सीप भएतापनि आफूले बुझेका, सिकेका र जानेका कुराहरु देखाउने मौका यूवाहरुले कमै मात्र पाइरहेका छन् ।
जनसंख्याका हिसाबले संसारको आधाभन्दा बढी जनसंख्या २५ वर्ष मुनिको छ । हरेक वर्ष लगभग तीन अर्ब बालबालिका यूवा उमेरमा प्रवेश गर्छन् । नेपालमा पनि झण्डै एक तिहाई जनसंख्या यूवा उमेरकै छ । जनसंख्यासँगै यूवा सामु अप्ठेराहरु पनि धेरै छन् । उमेरको परिवर्तनसँगै आउने समस्याहरु एकातिर छन्, अर्कोतिर जिम्मेवारीहरु पनि थपिँदै गएका छन् । यो आफ्नो भविष्य कस्तो बनाउने भन्ने उमेर पनि हो । तर आफ्नो भविष्य दह्रो बनाउने बेलामा झण्डै १० वर्ष द्वन्द्वको मार सहनुपर्यो । एकातिर राज्यको यूवा सम्बन्धी कुनै नीति नहुनु र अर्कोतिर जिम्मेवारीसँगै समस्याहरु थपिँदै जानु, यसले यूवालाई झन् कमजोर बनाएको छ । त्यहीमाथि रोजगारीको अभाव छ । अवसरबाट यूवा नै बढि बञ्चित छन् ।
यस्तो अवस्थामा हामी ‘युथ माइग्रेशनः मुभिङ्ग डेभेलोप्मेन्ट फर्वाड’ भन्ने नारा सहित यूवा दिवस मनाइरहेका छौं । यसवर्षको नारालाई ध्यानमा राख्दै सरकारले लामो समय विदेशी भुमीमा काम गरेर फर्केका यूवालाई सीप सिकाई स्वरोजगारको ढोका खोल्ने जर्मको गरेको छ । तर अन्तराष्ट्रिय दिवसको यो नाराले वैदेशिक रोजगारमा जाने र काम गरेर फर्र्किएकाहरु सबैलाई साँच्चै नै समेट्न सक्छ कि सक्दैन भन्न सकिन्न । कारण, हरेक दिन कम्तीमा एकहजार यूवा वैदेशिक रोजगारका लागि नेपालबाट गल्फ जाने गर्छन् । त्यहाँबाट उनीहरुले कमाएर पठाउने रेमिटेन्सले देशको अर्थतन्त्रमा ठूलो टेवा त पुर्याएको छ तर, देश छोडेर विदेश उडेका धेरै यूवाले ध्यान पनि गुमाएका छन् ।
हरेक दिन कम्तीमा तीन नेपाली यूवाको लाशको बाकस त्रिभुवन विमानस्थलमा आइपुग्छ । यसबाहेक, वैदेशिक रोजगारका लागि गएका र त्यहाँबाट फर्किएका महिला दिदीबहिनीको अवस्था अझ कहालीलाग्दो छ । लामो समयसम्म परिवार, आफन्तबाट टाढा रहेर काम गरेर फर्किएपछि परिवारले गर्ने हेलोहोचो अझैपनि यथावत छ । यसैगरी काम गर्न विदेशिएकै बेला श्रीमान्ले अर्को विवाह गरेका कथाहरु पनि छन्, हाम्रो समाजमा ।
हाम्रो समाज आज पनि युवक÷पुरुषका लागि जति फरासिलो छ, युवती/महिलाका लागि उति छैन । छोरीलाई घरको काममा कजाउने र छोरालाई स्कूल पठाउने अभिभावक हाम्रो समाजमा सजिलै भेटिन्छन् । छोरीलाई स्कूल पठाइहाले पनि सरकारी स्कूल र छोरालाई बोर्डिङ्ग स्कूलमा पठाउने चलन अझै पनि गाउँ घरमा विद्यमान छ । महिनावारी शुरु हुनुभन्दा अघि नै छोरीलाई अन्माउने अभिभावक अझैपनि फेला पर्छन् । नेपालमा कलिलै उमेरको विवाह, चुलोचौका र घरभित्रकै काममा व्यस्त किशोरीहरु बाहिरी संसारको कुरा जान्न र बुझ्न पछि परेका छन् । पढ्ने, लेख्ने अवसरबाट बञ्चित छन् । युवकहरुको दाँजोमा निर्णय तहमा पछि परिरहेका छन् । यस्तो अवस्थामा यूवा र विकासलाई कसरी जोड्न मिल्छ ? शिक्षाको अभाव छ । स्वास्थ्य सेवामा पहुँच छैन । रोजगारीको त कुरै नगरौं, यूवा युवती÷महिलाले आफ्नो हिसाबले कुनै पनि कुराको निर्णय गर्न सक्दैनन् । त्यसैले त नेपालमा महिला हिंसा र यौन दुव्र्यवहारका घटना विद्यमान छन् ।
त्यसैले अब यूवा र विकासको कुरा सँगै गर्ने हो भने सबैभन्दा पहिले यूवा सहभागिता बढाउनुपर्यो । यस्तो सहभागिता संख्याको आधारमा मात्रै भन्दा पनि निर्णय तहमा बढी जोड दिनुपर्यो । वैदेशिक रोजगारबाट फर्किएका यूवालाई मात्र हैन, यहीं रहेर देशमै विकल्प खोजिरहेका यूवालाई समेत सीप र स्वरोजगारको बाटोमा लम्काउनुपर्यो । साथै युवक र युवतीमा गरिने भेदभावपूर्ण व्यवहार पनि योसँगै अन्त्य हुनुपर्छ । एक तिहाई जनसंख्या ओगटेका नेपालका अधिकाँश यूवाहरुले दश बर्षे द्वन्द्वमा आर्थिक, राजनीतिक, सामाजिक सँगै शारीरिक र मानसिक रुपमा धेरै अप्ठेरा झेलिसकेका छन् ।
दशबर्षे द्वन्द्वमा एउटा पुस्ता धेरैतिरबाट पछि परिसकेको छ । अहिले जस्तो वातावरणमा हुर्कियो, त्यस्तै सिक्ने र जान्ने हो । केही सिक्ने र जान्ने उमेरका यूवाहरु भने द्वन्द्वको चेपुवामा परे । परिवर्तनका सम्बाहक यूवाहरु नै पछि परे समग्रमा देशले त्यसको हानी व्यहोर्नुपर्छ । अबका दिनमा यूवा सहभागिताबारे जति कुरा हुन्छ, त्यो व्यवहारमा पनि लागू हुनुपर्छ । अनि मात्रै अरु सम्भावनाका ढोकाहरु खोल्न सक्छन् । किनभने आजको हरेक यूवा भोलिका अभिभावक हो । देश हाँक्ने अगुवा हो ।
Post a Comment