0

चुनाव स्थगन गर्न वैद्यको आग्रह (विज्ञप्तीसहित)

 कात्तिक १२ –

 नेकपा–माओवादीले चुनाव स्थगन गरी वार्ताबाट समाधान खोज्न चार दल र सरकारसँग अनुरोध गरेको छ ।

नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले विज्ञप्ति निकालेर  वार्ताका लागि आवश्यक पहल गर्न राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवीहरुसँग अपील गर्नुभएको छ ।
वैद्यको विज्ञप्तिमा ३३ दलीय मोर्चाको सर्वपक्षीय गोलमेच सभाको प्रस्तावलाई गम्भीरता पूर्वक लिएर परिणाममुखी वार्ता मार्फत निकास खोज्न चार दललाई विशेष अनुरोध गरिएको छ । नेकपा माओवादीले समस्या समाधानका लागि समय छँदै गंभीर बन्न आग्रह समेत गरेको छ ।
उम्मेदवार माथि आक्रमण, गाडीमा आगजनी र चुनाव विरुद्ध विभिन्न गतिविधिमा सक्रिय माओवादीले वार्तामा जोड दिएको हो । माओवादीले चुनाव बहिष्कार गर्नु आफूहरुको अधिकार भन्दै बहिष्कार आन्दोलनमा रोक लगाउने, नेता कार्यकर्तालाई गिरफ्तार गर्ने र मुद्दा लगाउने सरकारी कदमको भत्र्सना समेत गरेको छ ।

नेकपा–माओवादीले निकालेको विज्ञप्तीको पूर्ण पाठ

प्रेसवक्तव्य
मुलुक यतिबेला राजनीतिक दृष्टिले अत्यन्तै संवेदनशील संक्रमणकालीन तथा राष्ट्रिय सङ्कटको अवस्थामा छ । संविधानसभाको निर्वाचन शान्ति प्रक्रियाको एउटा प्रमुख अङ्ग हो । महान् जनयुद्धमा संलग्न माओवादी शक्तिको एउटा मूल हिस्सालगायत ३३ दलीय राजनीतिक मोर्चालाई पृथक राखेर हुन गइरहेको संविधान सभाको दोस्रो कथित निर्वाचनको कुनै अर्थ तथा औचित्य छैन र यसबाट जनताको संविधान पनि बन्न सक्तैन ।
जनताको संविधान नबन्ने र शान्ति प्रक्रियालाई पूरा गर्न नसक्ने मात्र होइन, उल्टो अर्को द्वन्द्व समेत निम्त्याउन खोजिदै छ । अतः  राजनीतिक शक्तिहरुका बीचमा वार्ता र संवादमार्फत् गोलमेच सभा गरी परिणाममुखी राजनीतिक निकास निकाल्नका लागि हामीले अत्यन्तै लचकता र गम्भीरताका साथ चार बुँदे प्रस्ताव राख्यौं । परन्तु, चार दलका नेताहरुले त्यसलाई अस्वीकार गरे र वार्ता समेत भङ्ग गरे । त्यस स्थितिमा हाम्रा सामु बहिष्कारमा जानुको विकल्प रहेन र हामी अहिले यस निर्वाचनको बहिष्कार आन्दोलनमा संलग्न रही आएका छौं ।
चुनावमा भाग लिनु र बहिष्कार गर्नु दुवै समान राजनीतिक अधिकार र स्वतन्त्रताको विषय हो । परन्तु, सरकारद्वारा देशका विभिन्न भागहरुमा बहिष्कार आन्दोलनमा रोक लगाउने, नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने र मुद्दा लगाउने जस्ता क्रियाकलापहरु गरिरहेका छन् । हामी यस प्रकारको दमनकारी नीतिको तीव्र विरोध तथा भत्र्सना गर्दछौं र गिरफ्तार गरिएका सबैलाई विनाशर्त रिहा गर्न जोडदार माग गर्दछौं ।  
त्यसका साथै देश र जनताप्रति जिम्मेवार राजनीतिक पार्टीका नाताले हामी अझैपनि समय छदै गम्भीर बन्न र राष्ट्रिय सहमति विना हुन गइरहेको संविधान सभाको दोस्रो “निर्वाचन”लाई स्थगन गरी ३३ राजनीतिक दलहरुको मोर्चाद्वारा प्रस्तुत सर्वपक्षीय गोलमेच सभा लगायतको प्रस्तावलाई गम्भीरतापूर्वक लिई वार्तामार्फत् परिणाममुखी राजनीतिक निकासका लागि आवश्यक पहल गर्न चार राजनीतिक दल तथा सरकारसँग फेरि पनि विशेष अनुरोध गर्दछौं । साथै, यसबारे आवश्यक पहल गर्नका लागि अन्य राजनीतिक दल, नागरिक समाज र बौद्धिक व्यक्तित्वहरुसित समेत हामी हार्दिक अपिल गर्दछौं ।
मितिः १२ कार्तिक २०७०

Post a Comment

 
Top