0
मोरङमा एचआइभी संक्रमितको संख्या ११ सय ६५

मोरङमा एचआइभी संक्रमितहरुको संख्या बढ्दै गएको पाइएको छ । जिल्लामा ठूलो संख्यामा रहेका यौनकर्मी तथा लागू औषध प्रयोगकर्ताहरुका कारण एचआइभी संक्रमितहरुको संख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

कार्यालयका अनुसार गत असार मसान्त सम्ममा जिल्लाको विराटनगर, उर्लाबारी, पथरी लगायतका शहरमा ४ सय ५ जना यौनकर्मी रहेका छन् । उनीहरुले अवैध रुपमा यौनधन्धा चलाउदा जिल्लामा एचआइभी संक्रमितहरुको संख्यामा पनि बृद्धि भएको हो । त्यस्तै एचआइभी संक्रमितहरुको संख्यामा बृद्धि गर्ने कार्यमा लागूऔधष प्रयोगकर्ताहरुले पनि सघाईरहेको जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख नवराज सुब्बाले बताउनुभयो । उहाका अनुसार मोरङमा लागू औधष प्रयोगका कारण एचआइभी संक्रमितहरुको संख्या २ सय ८१ रहेको छ ।

सुब्बाले गत असार मसान्त सम्म एचआइभी संक्रमितहरुको संख्या जिल्लामा १ हजार १ सय ६५ जना रहेको बताउनुभयो । जसमा पुरुषको संख्या ८ सय १ र महिलाको संख्या ३ सय ६४ रहेको छ । २ सय ५३ जना गृहिणी, ५६ जना बालबलिका तथा ४ जना रगत र अंग प्रत्यारोपणबाट एचआइभी संक्रमित भएको बताउनुभयो । मोरङमा एचआइभी संक्रमणबाट अहिलेसम्ममा १ सय ५८ जनाको मृत्यु भइसकेको जनस्वास्थ्य प्रमुख सुब्बाले जानकारी दिनुभयो ।

Post a Comment

 
Top