कालो ट्यांकीको पैसाले पिरोलिएका नेता
विभिन्न पार्टीका उम्मेदवारहरुलाई आमन्त्रित गरेर अयोजना भएको बहस कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ५ का एमाले उम्मेदवार ईश्वर पोखरेललाई त्यहाँ उपस्थित एक सर्वसाधारणले ट्यांकीमा पैसा लुकाएको प्रश्न गरेपछि एमाले कार्यकर्ताले बबाल गरेको बुझिएको छ । त्यसरी कार्यक्रम बिथोलने गरी आफ्ना कार्यकर्ता उफ्रिरहँदा पोखरेल भने मञ्चमा मौन बसेका थिए ।
प्रसंग हो, अन्नपूर्ण पोष्टले संविधानसभा निर्वाचनलाई केन्द्रित गरेर आयोजना गर्दै आएको निर्वाचन बहस कार्यक्रमको । अन्नपूर्ण पोस्टले विभिन्न क्षेत्रमा पार्टीका उम्मेदवारहरुलाई आमन्त्रित गरेर उनीहरुको क्षेत्रमा बहस कार्यक्रम आयोजना गर्दै आएको छ । काठमाडौंको क्षेत्र नम्बर ५ अघि पोष्टले क्षेत्र नम्बर ४ मा पनि त्यस्तै कार्यक्रम आयोजना गरेको थियो ।
यसपटक क्षेत्र नम्बर ५ मा आयोजित उक्त बहस कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट नरहरी आचार्य, नेकपा–एमालेका तर्फबाट ईश्वर पोखरेल र एमाओवादीका तर्फबाट महेन्द्र श्रेष्ठ तथा राप्रप्रा नेपालका उम्मेदवारले भाग लिएका थिए । कार्यक्रमको निर्धारित कार्यसूची अनुसार सबै उम्मेदवारहरुले १०–१० मिनेट आफ्ना कुराहरु राखेका थिए । त्यसपछि कार्यक्रमको दोस्रो चरणअन्तर्गत त्यहाँ उपस्थित सर्वसाधारणले उम्मेदवारहरुलाई प्रश्न गर्ने र उनीहरुले त्यसको जवाफ दिने कार्यक्रम रहेको थियो । कार्यक्रम अपेक्षित रुपमा राम्रै चलिरहेको थियो । तर, जब एक सर्वसाधारणले एमाले उम्मेदवार ईश्वर पोखरेललाई, ‘पोखरेलज्यू, तपाईंले त पानी ट्यांकीमा पैसा लुकाएको आरोप लागेको थियो नि’ भनेर प्रश्न गरे त्यहाँ रहेका एमाले कार्यकर्ताले होहल्ला गर्न थाले र त्यस्तो प्रश्न गर्न पाइँदैन भनेर उफ्रन थाले । त्यसपछि ती सर्वसाधारणले चुप लागेर आफ्नो स्थानमा बसे । यसो हुँदा विभिन्न दलका उम्मेदवारहरु मञ्चमा नै आसिन थिए ।
कार्यक्रम फेरि अघि बढ्न थाल्यो तर एमाले कार्यकर्ताहरुले फेरि बबाल गर्न थाले । केहीले त कार्यक्रमको मञ्चमा गएर माइक कब्जामा लिएर आफै भाषण गर्न थाले र ती सर्वसाधारणलाई धम्की दिन थाले । कार्यक्रममा एमाले कार्यकर्ताहरु काबु बाहिर जान थालेपछि त्यहाा उपस्थित अन्नपूर्ण पोष्ट सम्पादक गुणराज लुइँटेलले पोखरेललाई आफ्ना कार्यकर्ताहरुलाई रोक्न र बस्न आग्रह गरिदिनुप¥यो भनेर बिन्ती गरे । जवाफमा पोखरेलले – ‘म केही बोल्दिन यसबारे’ भन्ने उत्तर दिए । एमाले कार्यकर्ताहरुले ती सर्वसाधारणलाई हातपातनै गर्न खोजेपछि प्रहरीको मद्दतले तिनलाई सुरक्षित स्थानमा लगियो । प्रहरीको उपस्थिती पछि भने इश्वरले आफ्नो कार्यकर्ताहरुलाई बस्न आग्रह गरे र उनले आग्रह गर्ने बित्तिकै एमाले कार्यकर्ताहरु चुप लागेर आफ्नो ठाउँमा बस्न गए ।
त्यसपछि कार्यक्रममा बोल्दै पोखरेलले अन्य पार्टीहरुले पैसाको लुट गरेको तर आफूले कहिल्यै त्यसो नगरेको बताएका थिए ।

Post a Comment