मौरीपालनतर्फ बढ्दो आकर्षण
व्यावसायिक रूपमा मौरी पाल्ने किसानको संख्या बढेपछि चितवनमा बार्षिक तीन सय टन मह उत्पादन हुन थालेको छ । महबाट राम्रो आम्दानी हुन थालेपछि मौरीपालक किसानको संख्या ह्वात्तै बढेको हो । नेपाल मौरीपालक कृषक महासंघका अनुसार चितवनमा मात्र ३ सय किसानले व्यावसायिक मौरीपालन गरेका छन् । न्यून आय भएका किसानले समेत मौरी पालेर जीविकोपार्जन गरिरहेका छन् ।
मह बिक्रीबाट एक परिवारले वार्षिक ३ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । 'बर्सेनि व्यावसायिक रूपमा मौरी पाल्ने किसानको संख्या बढ्दो छ,' महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र गौतमले भने, 'त्यसैले सरकारी क्षेत्रबाट किसानलाई राहतस्वरूप अनुदान उपलब्ध गराउन आवश्यक छ ।' उनले जिल्लामा ०५१ सालबाट मौरीपालन थालिएको र यहाँ उत्पादित मह स्थानीय बजारमै खपत हुने गरेको बताए ।
मेलिसेरा जातको मौरीबाट नेपालमा झन्डै ५० प्रतिशत मह उत्पादन हुने गरेको गौतम बताउँछन् । एउटा किसानले सय घारसम्म मौरी पालेका छन् । कम लगानीमा मौरी पाल्न सकिने भएकाले यसको पालनमा न्यून आयस्तर भएकाहरूको संख्यामा वृद्धि भएको हो । 'थोरै लगानीमा यसलाई व्यावसयिक बनाउन सकिन्छ,' अध्यक्ष गौतमले भने, 'त्यसैले गाउँ क्षेत्रमा मौरी पाल्ने किसानमो संख्या बढी छ ।' उनका अनुसार मौरीपालनमा लाग्ने किसानका लागि भनेर सरकारले संरक्षण नीति ल्याउनुपर्ने बताए ।
किसानले उत्पादन गरेको मह स्थानीय बजारमै खपत हुन्छ । केही किसानले मौरीको गोला बेचेरसमेत आम्दानी गर्दै आएका छन् । वर्षात् र जाडोको समयमा मौरी घारबाट बाहिर निस्कँदैन । घारमै चिनी र चास्नी खुवाएर राख्नुपर्ने कृषि कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत शिवप्रसाद रिजालले बताए । 'चितवनमा मौरीपालनको राम्रो सम्भावना छ,' उनले भने, 'त्यसैले वाषिर्क ५ देखि १० प्रतिशतले मौरी पाल्ने किसानको संख्यामा वृद्धि हुने गरेको छ ।'
Post a Comment