कोइरालाको पल्लाभारी भएपछि देउवा पछि हट्ने संकेत
माघ ११ –
कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति सुशील कोइरालाको पल्लाभारी देखिएपछि बरिष्ठ नेता शेरबहादुर देउवा प्रतिष्पर्धाबाट बाहिरिने मनस्थितिमा हुनुहुन्छ ।
उपसभापति रामचन्द्र पौडेलले कोइरालालाई समर्थन गरेपछि देउवाले यस्तो मनस्थिति बनाउनुभएको उहाँ निकट एक नेताले बताए ।
‘हामी छलफलकै क्रममा छौं’ ती नेताले उज्यालो अनलाइनसित भने ‘सायद मतदान हुने बेलासम्म उहाँले नाम फिर्ता लिन सक्नुहुन्छ ।’ संसदीय दलको नेताका लागि आइतबार विहान मतदान हुँदैछ । पौडेलले समेत उम्मेदवारी दिने बताएपनि अन्तिममा कोइरालालाई समर्थन गरेपछि कोइराला र देउवाबीच मात्र प्रतिष्पर्धा हुने भएको हो । कोइराला र पौडेल मिलेपछि नयाँ समीकरणको विषयमा देउवा पक्षले आन्तरिक छलफललाई तिव्रता दिएको छ । कोइराला र पौडेल मिल्दा आफ्नोभन्दा झण्डै २० देखि २५ भोट बढी उतातिर पुगेको देउवा पक्षको विश्लेषण छ ।
‘पौडेलको पक्षमा खासै सभासदहरु नभएपनि दुईजना एक ठाउँ हुदा हामीहरु २०/२५ भोटले पछि हुन्छौं’ देउवा पक्षका ती नेताले भने ‘यस्तो स्थितिमा उम्मेदवारी फिर्ता नै सही निर्णय हुन सक्छ भन्ने विषयमा छलफल भैरहेको छ ।’
संविधानसभामा जम्मा एकसय ९६ सिट जितेको कांग्रेसमा एकसय ९४ सभासद छन् । सभापति कोइराला र देउबाले २ ठाउँबाट चुनाव जितेकाले सभासद्को संख्या २ जना घटेको हो । संसदीय दलको नेतामा विजयी हुन कम्तीमा ९७ मत प्राप्त गर्नुपर्छ ।
Post a Comment