जग्गादान गर्ने महिलालाई सम्मान
माघ ११ -
आर्थिक अवस्था न्यून स्तरको भएर पनि विद्यालयका लागि जग्गा दान गर्ने स्थानीय दलित महिलालाई विद्यालयले सम्मान गरेको छ ।
नुवाकोटको बधुसिङ–३ की ५५ बर्षिया कृष्णकुमारी सुनार र माकुरी सुनारलाई स्थानीय अन्नपूर्ण प्राविले आफ्नो बार्षिकोत्सवको अवसरमा सम्मानगरेको हो ।
यी दिदी बहिनीले आफ्नो पिता रविलाल सुनारको स्मृतिमा अन्नपूर्ण प्राविलाई कित्ता नं. ५ सय २० को स्थानीय मूल्य अनुसार एक लाख ५० हजार रुपैयाँ पर्ने ९ आना जग्गा प्रदान गर्नु भएको थियो । विद्यालयको लागि खेल मैदानको अभाव भएकोले
विद्यालयलाई दान गरेको कृष्णकुमारीले बताउनुभयो । ‘मेरा सन्तान छैनन् । यही गाउका बालबच्चा नै मेरा सन्तान हो । उनीहरुलाई सुख सुविधाको लागि मैले जग्गा दिएँ’ उहाँले भन्नुभयो ‘यसमा मेरो बहिनीहरुले पनि साथ दिए । यसैमा मलाई खुशी लागेको छ ।’
पहिले पहिले छुवाछुत गरेर हेप्नेहरुले समेत अहिले आएर आफूलाई सम्मान गरेको देख्दा रमाइलो लागेको माकुरीले बताउनुभयो । ‘समय काल बदलिए छ । पहिले हामीलाई तल्लो जात भनेर हेप्थे । अहिले हामीलाई सम्मान गर्न पनि गाउका ठूला जात भन्नेहरु पनि आए’ माकुरीले भन्नुभयो ‘गाउमै पहिलो पटक स्कूललाई जग्गा दिन पाउँदा हर्क लागेको छ ।’
विद्यालयको खेल मैदान नै नभएकोले बालबलिकालाई समस्या भएको बेला जग्गा पाएपछि सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सेतुलाल विश्वकर्माले बताउनुभयो ।

Post a Comment