0
नेकाँ संसदीय दलको नेतामा सभापति कोइराला र देउवाको उम्मेद्वारी
 
 ११ माघ 
नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराउनुभएको छ । 
 
सभापति कोइरालाको प्रस्तावकमा आनन्दप्रसाद ढुंगाना र समर्थकमा फरमुल्लाह मन्सुर तथा वरिष्ठ नेता देउवाको प्रस्तावकमा विमलेन्द्र निधि र समर्थकमा भीष्मराज आङ्दम्बे रहनुभएको छ । 
 
भोलि हुने संसदीय दलको नेताको निर्वाचनका लागि आज बिहान ११ देखि १ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयावधि निर्धारण भएको थियो । 
 
निर्वाचन कार्यतालिकाअनुसार उम्मेद्वारले आफ्नो नाम फिर्ता लिन चाहेमा ५ बजेसम्मका लागि समय निर्धारण गरिएको निर्वाचन संयोजक एवम् पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो । 
 
सो अवसरमा पार्टी उपसभापति रामचन्द्र पौडेलले सभापति कोइरालाले सरकार र आफूले पार्टी चलाउने सहमति भएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । “सोही सहमतिका आधारमा मैले संसदीय दलका नेताका लागि उम्मेदवारी दिइन्” उहाँले भन्नुभयो । संसदीय दलको निर्वाचन भोलि १२ गते हुँदैछ । 

Post a Comment

 
Top