0

' आक्रोशीत देउवा पार्टीभित्रै प्रतिपक्षमा बस्ने '

 
Sushil-ramchandraनेपाली काँग्रेसका सभापति शुसील कोइरालाले उपसभापति रामचन्द्र पौडेललाई एक वर्षपछि प्रधानमन्त्री बनाउने सम्झौता गरेको तथ्य खुलेको छ । संसदीय दलको निर्वाचनमा आफुलाई सघाउने प्रस्तावका साथ पौडेलसँग बार्ता गर्न गएका कोइरालाले पार्टी र सरकार दुबै पौडेललाई सुम्पने बचन दिएको बुझीएको छ । यसलाई देउवा पक्षले भने आफुहरुलाई सिध्याउने कोइरालाको ‘ग्रान्ड डिजाईन’को संज्ञा दिएको छ ।
‘म बुढो भइसकें, एक पटक यो संविधान बनाउने ऐतिहासीक कामको नेतृत्व मलाई गर्न दिनुस । एक वर्षपछि पार्टी र सरकार दुबै तपाईले नै चलाउने हो’, कोइरालालाई उधृत गर्दै सुत्रले भन्यो । संसदीय दलको निर्वाचन हुनुभन्दा केही दिनअघि भएको गोप्य बार्तामा सभापति कोइरालाले विधानतः पौडेल नै उपसभापति भएकाले कार्यवाहक सभापति पनि पौडेललाई नै बनाउने विश्वास दिलाएका थिए ।
पौडेलले त्यसबारेमा ‘लिखित प्रविबध्दता चाहिन्छ’ भनेपछि कोइरालाले आफ्नो लेटर प्याडमै ‘सभापतिको अनुपस्थितिमा विधानतः तपाई नै कार्यवाहक सभापति हुनुहन्छ’ भन्ने व्यहोरा लेखेर हस्ताक्षर गरेको काँग्रेस निकट सुत्र बताउँछ । यसका साथै एक वर्षपछि प्रधानमन्त्री पनि पौडेललाई नै बनाउने शर्तनामामा मन्जुरी दिएपछि मात्र पौडेल संसदीय दलमा कोइरालालाई सघाउन तयार भएका रहेछन् । कोइराला गुट पनि शुसीलपछि पौडेलललाई नै पार्टी नेताका रुपमा स्वीकार्ने मनस्थितिमा छ ।
पौडेलको जय हो
संसदीय दलको चुनाव जितेपछि सभापति कोइरालालाई बधाइ दिनेहरुको ताँती लाग्यो । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अर्को एउटा रोचक दृश्य देखियो । त्यहाँ सभापति कोइरालालाई भन्दा बढी माला र अबीर दल्ने काम भयो, अर्का नेता रामचन्द्र पौडेललाई । पौडेलकै कारण कोइरालाले जितेको ठहरमा पुगेका काँग्रेसजनले पौडेललाई पार्टीको भावी नेताका रुपमा देख्दै चाकडी बजाउने क्रम थालेका हुन । बिगतमा पौडेललाई गाली गर्नेहरु पनि त्यहाँ झुम्मीन पुगेको देखिन्थ्यो ।
यता, देउवा क्याम्पमा पनि पौडेललाई कम आँकलन गरिएकोमा पश्चाताप महसुस भइरहेको बताइन्छ । ‘पौडेलसँग कति नै सभासद होलान र ? भनेर खासै वास्ता गरिएन । जम्मा १६ भोटको अन्तर हुन्छ भन्ने थाहा भएको भए हामी पौडेललाई आफुतिर तान्नेथियौं, हामीले उनको शक्ति र समीकरणको प्रभाव आँकलन गर्न सकनौं’, देउवा निकटका नेता प्रकाश शरणम महत चुनावपछि आफ्ना कार्यकर्तामाफ भन्दैथिए ।
देउवा पार्टीभित्रै प्रतिपक्षी
८९ सभासदको समर्थन पाएका शेरबहादुर देउवा पक्ष अब नयाँ रणनीतिमा लागेको छ । यतिधेरै सभासदको समर्थन पाएकाले पार्टी र सरकारमा आफुहरुको पनि समान साझेदारी हुनुपर्ने देउवा पक्षको माग छ । यदि आफुहरुलाई उपेक्षा गरेमा पार्टीभित्रै प्रतिपक्षमा बस्ने देउवा पक्षको तयारी छ । ‘हामीले संस्थापन पक्षभन्दा जम्मा १६ मत कम पाएका हौं । त्यसैले अब सुशीलजीले देउवा दाईलाई पनि समान हैसियतको व्यवहार गर्नुपर्छ । पौडेलसँग गठबन्धन गर्ने नाममा देउवा दाईलाई बाइपास गरेर गएमा ठिक हुन्न’, पश्चिमतीरका एक काँग्रेस नेता भन्छन्, ‘हामीलाई उपेक्षा गरेमा हामी पार्टीभित्रै प्रतिपक्षमा बस्छौं ।’
पार्टीभित्रै प्रतिपक्षमा बस्ने भन्नुको अर्थ देउवा पक्षबाट सरकारमा कोही पनि मन्त्री नबन्ने तयारी हो । ‘हामीलाई सम्मानजनक सहभागीता भएन र कोइरालाले आफ्ना आसेपासेलाई मात्र मन्त्री बनाए भने हामीमध्ये कोही पनि मन्त्री बन्न जाँदैनौं’, देउवा पक्षका एक नेता भन्छन्, ‘हामी पार्टीभित्रै प्रतिपक्षमा बस्छौं ।’
कोइराला चौतर्फी घेरामा
नेपाली काँग्रेसका सभापति शुसील कोइराला यतिखेर पार्टी संसदीय दलको नेता भएकोमा खुशी हुनुको साटो चिन्तीत देखिन्छन् । त्यसको एउटै कारण हो, संसदीय दलमा आफ्ना प्रतिश्पर्धी शेरबहादुर देउवाको दरिलो उपस्थिति । देउवासँग त्यस्तै ५० देखी ५५ जना सभासदको समर्थन भएको हुनसक्ने आँकलन गरेका सभापति कोइराला देउवाको पक्षमा ८९ सभासदको समर्थन देखेपछि स्तब्ध नै भएको बताइन्छ । अर्का नेता रामचन्द्र पौडेलसँग गठबन्धन गरेर संसदीय दलका नेता भए पनि आगामी दिनमा देउवासँग सम्झौता नगरी अगाडी बढन कठिन हुने सभापति कोइरालाले महसुस गरीसकेका छन् ।
कोइराला संसदीय दलमा देउवाभन्दा जम्मा १६ मतले मात्र अगाडी छन् । यसमा कुनै पनि बेला यताउता हुने खतरा छ । देउवासँग कोइरालाको ठुलै टकराव परेमा अब देउवाले जुनसुकै कदम चाल्नसक्ने खतरा बढेको छ । बिगतमा पार्टी फुटाउनसम्म पछी नपर्ने देउवालाई चित्त बुझाएर सन्तुलन कायम गर्न नसके फेरि पनि पार्टी फुटनसक्ने खतरा उत्तिकै छ । ‘संसदीय दलको नेता सभापति कोइराला भए पनि अव पार्टी र सरकार हाँक्ने त देउवाले नै हो’, एक काँग्रेस नेता भन्छन् ।
यही कारण सुसील यतिखेर चौतर्फी घेराबन्दीमा परेका छन् । एकातिर उनले आफ्नै गुटका नेतालाई चित्त बुझाउनुपर्नेछ । आनन्द ढुंगाना, कृष्ण सिटौलादेखी नव प्रवेशी मिनेन्द्र रिजालसम्मलाई हातमा लिनुपर्नेछ । सरकार गठनदेखी विभिन्न लाभका पदमा आफ्ना निकटका नेतालाई समावेश गर्नुपर्ने दबाब त छँदैछ, त्यसमाथि रामचन्द्र पौडेल पनि अब करीव करीव आफ्नै गुटमा आएकाले उनका मानिसलाई पनि चित्त बुझाउनुप¥यो । अनी देउवा पक्षलाई त छुटाउनै भएन । यसरी चौतर्फी स्वार्थको जंजाललाई मिलाउन आगामी दिनमा शुसीललाई हम्मे हम्मे देखिन्छ ।

Post a Comment

 
Top