0
 पुनः निर्माणको कामले प्राथमिकता पाउँछ 
गृहमन्त्री शक्तिबहादुर बस्नेतले पुनःनिर्माण प्राधिकरण गठन भइसकेकाले अब सरकारले चरणबद्ध रुपमा पुनःनिर्माणको कामलाई प्राथमिकता दिने बताउनुभएको छ । 
 गाउँखर्क गाविस वडा नं ७ बोलगाउँमा भूकम्पपीडितलाई न्यानो सामग्री वितरण गर्दै गृहमन्त्री बस्नेतले भूकम्पपीडितका लागि सरकारले चरणबद्ध रुपमा काम थालेको बताउनुभएको हो । 
गृहमन्त्री बस्नेतले सरकारलेमात्र सबै पीडितलाई सहयोग गर्न नसकिरहेका बेला विभिन्न सङ्घसंस्थाले गाउँगाउँमा पुगेर गरेको उद्धार, राहत वितरणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था धन्यवादको पात्र भएकोसमेत बताउनुभयो । 
कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले भूकम्पले विनाशको पीडा लिएरमात्र नबसी यसलाई विकासको अवसरका रुपमा उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले पुनःनिर्माणको काम चुनौतीपूर्ण रहे पनि यसलाई अवसरका रुपमा उपयोग गर्दै नयाँ नेपाल निर्माण गर्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले सरकारले पीडितको वास्तविक पीडामा मलम लगाउने कार्य गर्न अझै नसकेको बताउनुभयो । उहाँले पुनःनिर्माण एकै रातमा हुने विषय नभएपछि यसका लागि सरकार दत्तचित्त भएर लाग्न नसके पुनःनिर्माणले गति लिन नसक्ने बताउनुभयो । 
एमाओवादीका नेता तथा पूर्व मन्त्री हितबहादुर तामाङले पुनः निर्माणमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । नुवाकोटका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको सभापतित्वमा भएको कार्यक्रममा सामरीट्यान्स पर्सको तर्फबाट गाउँखर्क गाविसका ८२८ परिवारलाई न्यानो सामग्री वितरण गरिएको थियो । 
भूकम्पपीडितलाई कम्बल, ज्याकेट, पञ्जा, तातोपानी राख्ने झोला, टोपीलगायत सामग्री प्रदान गरिएको थियो । 

Post a Comment

 
Top