युवाहरूले खोले जडीबुटी प्रशोधन केन्द्र

– गोरखाको ताङ्लीचोक गाविस–४ स्थित पातीस्वाँरा गाउँका युवाले जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याएका छन् । आटिमिसिया (एक प्रकारको जापनिज बिरुवा) प्रशोधन गरी औषधि उत्पादन गर्न ३० लाख रुपैयाँको लगानीमा केन्द्र सञ्चालनमा ल्याएको हो ।
जापानमा बसेर फर्केका स्थानीय माकी गुरुङको सक्रियतामा गाउँका युवा मिलेर सञ्चालन गरिएको केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । सुमन गुरुङ, सन्दिप गुरुङ, सन्तु गुरुङ, विकास गुरुङ, माकी गुरुङ, सोनाम गुरुङ, होमबहादुर गुरुङले संयुक्त रुपमा लगानी गरी गाउँमा उद्योग खोलेका हुन् । साथै युवाले २१ रोपनी क्षेत्रफलमा आटिमिसिया नामक बिरुवाको खेती गर्दै आएका छन् । सो बिरुवाको पात, डाँठ र जरा आटिमिसिया उत्पादन गर्न काम लाग्छ । आटिमिसियाको प्रयोगले बाथ रोग निको हुनुका साथै कपाल झर्ने रोगको रोकथाम गर्ने केन्द्र सञ्चालकमध्येका माकी गुरुङले जानकारी दिए ।
केन्द्रले दैनिक २०० प्याकेटभन्दा बढी आटिमिसियाको झोल उत्पादन गर्दै आएको छ । केन्द्रबाट मासिक करिब ७० हजार रुपैयाँ नाफा आर्जन भएको गुरुङले बताए । साथै युवाले किबीखेती, सुन्तलाको बोक्राबाट साबुन उत्पादन गर्नुका साथै रोजेलको जुस पनि उत्पादन गरी विदेश निर्यात गर्दै आएका छन् । ‘हाम्रो फार्मलाई पल्मोकल्चर ढाँचा (मोटोलाई मलिलो बनाउने प्रविधि) अनुसार थप विकसित बनाउँदै लैजान्छौँ’ अर्का लगानीकर्ता सोनाम गुरुङले भने, ‘रासायनिक र कम्पोस्ट मलको प्रयोग नगरी किबी र च्याउ उत्पादन गछौँ ।’ माटोको परीक्षण गरी चुन छर्केर अम्लीयपना हटाउने गुरुङको भनाइ छ ।
केन्द्रमा उत्पादन भएको आटिमिसिया प्याकेट काठमाण्डु, गोरखा बजारलगायत क्षेत्रमा बिक्रीका लागि राखिएको गुरुङले बताए । ‘माग उच्च छ’ उनले भने, ‘सुन्तलाको साबुन हामी विदेश निर्यात गर्छौँ ।’ केन्द्रमा १५ जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।
Post a Comment