नेपालकै पहिलो चट्टान अभिलेख सङ्कटमा
भक्तपुरको ताथली गाविसमा रहेको नेपालकै पहिलो चट्टान अभिलेख संरक्षणको अभावमा सङ्कटमा परेको छ । इतिहासमै दुर्लभ मानिने चट्टान अभिलेख जिल्लाको पूर्वी भेगमा अवस्थित ताथली गाविस( ३ अन्तर्गत नालाछाप र हलल गाउँमा पत्ता लागेको दुई वर्ष बित्तिसक्दा उल्लेख्य प्रचारप्रसारको अभाव र उचित संरक्षण ध्यान नदिँदा सो अभिलेख सङ्कटमा परेको हो ।
चट्टान अभिलेखलाई सरोकारवालाले ध्यान नदिँदा अभिलेखको अस्तित्व नै खतरामा पर्ने सम्भावना बढ्दै गएको संस्कृति तथा इतिहासविद्हरू बताउँछन् । संस्कृति तथा इतिहासविद् पुरषोत्तमलोचन श्रेष्ठका अनुसार मल्लकालीन समयको उक्त चट्टानहरूमा चित्र तथा अक्षरहरू कुदिएका छन् । जसमा सिंह, साँढे जुधाई, हात्ती र घोडाको चित्रहरूका साथै नेवारी लिपीमा अक्षहरू समेत कोरिएका छन् । जसमा मल्लकालीन राजाहरूले मन्दिर र धाराहरू निर्माणका लागि ढुङ्गा लिन गएको अभिलेखमा उल्लेख गरिएको श्रेष्ठले बताउनुभयो ।
ताथलीकोे वासुकी ढुङ्गामा तत्कालीन काठमाडौँका मल्लकालीन राजा प्रताप मल्लले नेपाल संवत् ७७८ मा कोरिएको चट्टान अभिलेख कुदिएका छन् । वासुकी ढुङ्गाको माथिल्लो भागमा पाँचवटा र पूर्वी भागमा तीनवटा गरी आठवटा अनेक खालका चट्टानमा अभिलेखहरू रहेका छन् । त्यसैगरी भक्तपुरका मल्ल राजा जितामित्र मल्लले नेपाल संवत् ८३१ मा कोरिएको अभिलेख पनि वासुकी ढुङ्गामा कुदिएको श्रेष्ठको चट्टान अभिलेख र अन्य सम्पदा नामक पुस्तकमा उल्लेख छ । इतिहासविद् पुरषोतमलोचन श्रेष्ठले यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने गरी कार्य अगाडि बढाउनुपर्ने भए पनि सम्बन्धित निकायको ध्यान नपुगेको बताउनुभयो ।
पुरातत्व विभागअन्तर्गत स्मारक संरक्षण तथा दरबार हेरचाह केन्द्र भक्तपुर प्रमुख अरूणा नकर्मीले पर्याप्त बजेटको अभावमा सो क्षेत्रमा काँडेतार समेत लगाउन नसकेको स्वीकार्नुभयो ।
Post a Comment