0

कपिलवस्तुको पथरदैया(८ का नौ वर्षीय बालक पुष्कर कुँवरलाई हेर्न कञ्चनपुरको महेन्द्रनगर बजारमा भिड लाग्ने गरेको छ । सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार तथा कञ्चनपुर पर्यटन महोत्सवमा उनी आकर्षणका केन्द्र बनेका छन् । पूरै अनुहार र शरीरभरि रौं भएका अनौठो बालक हेर्न दैनिक ५ सय व्यक्ति पुग्ने गरेका छन् ।

जन्मेदेखि नै पुष्करको शरीरमा रौं आएको उनका बुवा खिमबहादुर कुँवरले बताउनुभयो । प्रदर्शनीमा राखिएका बालकको शरीरको पछाडिको भागमा हात्तीको सुढ जस्तो आकृतिका रौं रहेको, दाँतका ढाँचा पूरै त्रिशूल आकारमा रहेको र अनुहार पूरै कालो रौंले छोपिएको छ । उनी मान्छेको भिडदेखि डराउने, कम बोल्ने र एक्लै बस्न रुचाउने गरेको उनका मामा दीपक रोक्कामगरले बताउनुभयो । कक्षा ४ मा पढ्ने अनौठा बालक पुष्करलाई हनुमान भनेरसमेत चिनिने गरेको छ । दाङ, धनगढी, स्याङजा, सुर्खेत, बर्दिया र सल्यानमा आयोजना भएका व्यापारिक मेलामा उनको प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा राखे वापत दर्शकबाट आउने रकम उनका नाममा बैंकमा खोलिएको खातामा जम्मा गरिँदै आएको बताइएको छ । “हालसम्म उनको खातामा रु २५ हजार जम्मा गरेका छौं” – मगरले भन्नुभयो । “आफू सुकुम्वासी भएकाले छोरालाई प्रदर्शनमा राखेर आएको रकमले घर खर्च चलेको छ” – बुबा खिमबहादुरले भन्नुभयो, “भगवान्ले खाने गुजारा दिएकाले उनकै सहारामा बाँच्नु परेको छ ।” 

Post a Comment

 
Top