0
कति वर्ष जेल बस्नुपर्छ उहाँले ?

माइला लामा, केन्द्रीय सदस्य नेकपा-माओवादी

२१ वर्षअघि उनी चार्टर्ड एकाउन्टेन्ट पढ्ने तरखरमा थिए । तत्कालीन महामन्त्री अर्थात् हाल एमाओवादी अध्यक्ष प्रचण्डले भने- तपाईंहरूजस्ता युवाको सपना साकार पार्न क्रान्तिको बाटो हिँड्दै छौँ । लाखौँ तन्नेरीले अझै विद्यालय जाने र दुईछाक खाने औकात बनाउन सकिरहेका छैनन् । तपाईं पनि जनताको सपना पूरा गर्ने क्रान्तिमा होमिनुपर्‍यो । त्यही बेलादेखि राजनीतिमा लागेर हिँडेका उनी अर्थात् माइला लामा जनयुद्धका क्रममा घाइते भए । कैयौँ दिनसम्म होसहवास नआएपछि लौ माइला मर्‍यो भने साथीहरूले । नवौँ दिन होसमा आउँदा संसार पूरै कालो देखे । मान्छेहरूले बोलेको सुनेनन् । उपचारका लागि काठमाडौं आउँदा पार्टीले वास्ता गरेन । यानप्रसाद गौतम आलोकको कुरा सुन्दै बादलले समेत उपत्यकामा कार्यरत कार्यकर्तालाई माइलासँग नभेट्न उर्दी गरे । तैपनि, माइला मरेन । ऊ जिउँदै छ । सपना जिउँदै छन् । त्यही जिउँदा सपनाहरूको रन्कोले उत्साहित गरिरहन्छ र ऊ गाइरहन्छ खोई हाम्रो लालसेना..., हामी राता मान्छेहरू... । सुन्न त अहिले पनि ऊ राम्ररी कान सुन्दैन । आँखा प्रस्टसँग देख्दैन । तर, प्रस्टसँग सुन्छ आफनो मनको आवाज र प्रस्टसँग देख्छ लालबोसमा फेरिएका केही मालिक नेताहरूलाई । त्यसैले माइला लामा कुराकानीको क्रममा भावुक हुन्छ र आँसु खसाल्छ मान्छेहरूको तहसनहस भएको जीवन र सपनाको बेहाल देखेर ।

० के गर्दै हुनुहुन्छ हिजोआज ?
- नक्कली संविधानसभा सम्भव छैन भन्दै जनतालाई अपिल गरेर बिउँझाउँदै हिँडिरहेको छु ।

० जनयुद्धमा छँदा संविधानसभाले सबै समस्याको निकास दिन्छ भनेर आउनुभयो । त्यही संविधानसभाको लोकपि्रय नारा जनयुद्धको अवसान बनेर गयो । गोलमेच सभाले समस्या समाधान गर्ने ग्यारेन्टी के छ ?
- संविधानसभा देशलाई निकास दिने बिन्दुको नजिक थियो । त्यसको हत्या कसले गर्‍यो ? नेताहरू कसरी विदेशी योजनामा परिचालित भए ? हिजो जनभावना प्रतिकूल हुने गरी संविधानसभाको म्याद थप्न हुँदैन भनेर अदालतबाट फैसला गर्ने को थियो ? त्यही मान्छे संविधानका सारा मान्यतालाई भत्काएर कसरी सरकारमा गयो ? देशलाई संविधान दिने विषयमा रत्तिभर नमिलेका फरक राजनीतिक दलका नेताहरू कसको इसारामा मौजुदा संविधानको मर्म र लोकतन्त्रको आधारभूत मान्यतालाई भत्काउन मध्यरात सहमत भए ? केही मान्छे खिलराजले चुनाव गराइदेला र सांसद, मन्त्री बनँुला भनी रातबिरात पार्टी अदल-बदल गरेर खिलराज, लोकमानहरूलाई अघि सार्ने प्रतिक्रियावादी पार्टीमा दौडिरहेछन् । तिनको सपनामा तातोपानी खनिने दिन आउँदै छ । किनकि खिलराजले कुनै हालतमा चुनाव गराउन सक्दैनन् । गराए पनि ज्ञानेन्द्र शाहले गराएको शाही चुनावभन्दा फरक खालको हुने छैन । यसो भइसकेपछि देशलाई निकास दिन, अनिश्चयको अवस्थाबाट निकालेर ट्रयाकमा ल्याउन राजनीतिक दल, बुद्धिजीवी, नागरिक अगुवासहितको सर्वपक्षीय सम्मेलनमार्फत निकास निकाल्नुपर्छ भन्दा यसलाई गलत भन्नेहरूले भन्न खोजेको के हो ?

० नागरिकले निर्वाचित गरी पठाएका मान्छेले संविधान बनाउने कुरा बेठीक हुने, पसल खोलेझैँ पार्टी खोलेर बसेका अनिर्वाचितहरूको सम्मेलनले देशलाई निकास दिने कुरा अलि मिलेन नि ?
- जीवनमा कहिल्यै राजनीति नगरेका, जनताको समस्या र पिरमर्का के हो कहिल्यै अनुभूत नगरेका मान्छेलाई सरकारमा पठाएर तिनले चाहिँ समस्याको निकास दिन्छन् त ?

० एमाओवादीबाट विभाजित भएर नेकपा-माओवादी गठन गरेको एक वर्ष भइसक्यो । यसबीच प्रचण्ड-बाबुरामलाई गाली गर्नेबाहेक अरू काम त तपाईंहरूले केही गर्न सक्नुभएन नि होइन ?
- तपाईंले उठाउनुभएको प्रश्नमा अलिकति सत्यता त पक्कै होला । तर, हामीले यसबीचमा केही पनि गरेनौँ भन्नेचाहिँ सत्य होइन । संविधानसभा विघटनपछि नेपालका सबै राजनीतिक दल असफल भए । कामै नलाग्ने भए भनेर जनता निराश भएको बेला देशलाई यो ढंगले निकास दिन सकिन्छ भनेर नेकपा-माओवादीले जुन एजेन्डा उठाएर जनताबीच गयो त्यसले जनतालाई निराशाबाट निकाल्ने र समाधान पनि छ है भन्ने अनुभूति विस्तारै बढ्दै गएको छ । हामीसँगको कुराकानीमा विभिन्न बुद्धिजीवी, कर्मचारी, सेनाकै केही अधिकृतले केही गरे अब तपाईंहरूले नै हो, अरूले गर्दैनन् भनिरहेका छन् । पर्याप्त मात्रामा जनताका दैनिक समस्याको सम्बोधन र समाधानबारे आफूलाई केन्दि्रत गर्न सकेनौँ होला । तर, वैकल्पिक शक्तिका रूपमा आफूलाई स्थापित गर्दै नवसंशोधनवादी, नवलेण्डुपहरूविरुद्ध दृढतापूर्वक संघर्षलाई उठाएर के हामीले गल्ती गर्‍यौँ त ?

० त्यो विद्रोह संविधानसभा कि गोलमेच सभा भन्ने बहसका लागि थियो कि अरू कुनै कामका लागि ?
- प्रचण्ड-बाबुरामकै कुरा गर्नुहुन्छ भने आन्दोलनमा रहँदासम्म उनीहरू आन्दोलन र जनताप्रति मुखैले भए पनि निकै प्रतिबद्ध देखिने । जब सत्ता र सरकारमा पुग्छन् त्यसपछि जनतालाई धोखा दिने । तर, के सधैँभरि नेपाली जनताले धोखा मात्रै सहेर बस्छन् त ? सधँैभरि गद्दारीको सिकार भएर मात्रै बसिराख्छन् त ?

० नागरिकलाई अधिकारसम्पन्न बनाउने भनेर तपाईंहरू फेरि हतियारबन्द आन्दोलनको भित्री तयारीलाई अगाडि बढाइरहनुभएको छ भन्ने पनि सुनिराखिन्छ नि ?
- एकहदसम्म यो हल्ला सही हो । यदि प्रतिबद्धताबमोजिम काम भएन भने युद्धविराम भंग हुन्छ र युद्धको घोषणा गर्न माओवादीलाई गाह्रो हुँदैन । शान्ति वार्ता या सम्झौता भंग भएको घोषणा गर्न पनि माओवादीलाई कुनै समस्या हुँदैन ।

० तपाईं जनयुद्धमा घाइते हुनुभयो है ?
- हो, लडाइँका क्रममा घाइते भएँ र आज त्यही घाइते शरीर बोकेर बाँचिरहेको छु ।

० त्यसको प्रसंग अलि विस्तारमा जनआस्थाका पाठकलाई पनि बाँड्नुहोस् न ।
- म ०५४ सालमा पिपुल्स वारसँग तालिम लिएर फर्किसकेपछि पूर्वीक्षेत्र र खासगरी काभ्रे, रामेछापमा कार्यक्षेत्र थियो । काभ्रे, रामेछापका छापामारलाई तालिम दिन थालेँ । पहिला र दोस्रो टोलीलाई फायरिङ ट्रेनिङ दिइसकेपछि तेस्रो क्याम्पमा ल्यान्डमाइनसम्बन्धी ट्रेनिङ दिँदै थिएँ साथीहरूलाई । त्यहीबेला अचानक प्राविधिक गडबडी आयो र घाइते भएँ ।

० पिपुल्सवारबाट को आएको थियो तालिम दिन ?
- पूर्वीनेपालका हामी छानिएका दुई दर्जनजति क्रिम फाइटर थियौँ । भाकपा माओवादीका केन्द्रीय सदस्य कमरेड विनोद तालिम दिन आउनुभएको थियो । पछि उहाँ सहिद हुनुभयो ।

० अनि घाइते भएर काठमाडौं आउँदा नेताहरू माइलालाई नभेट्नु है भन्दै उर्दी गर्थे । तैपनि माइला बाँच्यो है ?
- साँच्चै एउटा सपनाले यहाँसम्म डोर्‍यायो । जिउँदै राख्यो । नौ दिनपछि होसमा आउँदा पूरै अन्धो थिएँ । डर पनि लाग्यो, आफैँलाई देखेर । तर, त्यतिबेला मैले निकोलाई आस्त्रोवस्कीलाई सम्झिएँ । उनको अग्निदीक्षालाई सम्झिएँ । पावेललाई सम्झिएँ र आमा उपन्यासलाई सम्झिएँ । भूमिगत हुने बेला आमाले बलिन्द्र धारा आँसु बगाउँदै बिदा गर्नुभएको थियो । लाखौँ आमाहरूको आँसुलाई सम्झिएँ । जनताका घर-घरमा गएर उहाँहरूलाई जुन वाचा र कसम बाँडेको थिएँ त्यो पनि सम्झिएँ । त्यो कुनै हालतमा पूरा गर्नुपर्छ भन्ने दृढता आयो । हो, तपाइर्ंले भनेजस्तै त्यतिबेला आलोकसँग केही मतभिन्नता थियो । आलोक कमरेडको कमजोरीबारे ०५४ सालको साउन, भदौतिर हुनुपर्छ भारतको सिलिगुडीमा भएको प्रशिक्षण कार्यक्रममा मैले प्रचण्डलाई जानकारी गराएको थिएँ । मैले आलोकबारे गरेको टिप्पणी प्रचण्डले सुनाइदिएछन् । उनी मप्रति निकै आवेगमा आए । दुव्र्यवहार गर्न थाले । काठमाडौंमा ममाथि भएको व्यवहार त्यसैको निरन्तरता थियो । धेरै पछाडि ०६० सालमा जब मैले दिल्लीको एउटा कोठामा भेटेँ, त्यतिबेला प्रचण्डले भनेे, 'माइलाजी, आलोक यसरी पतन भयो, अन्त्य भयो तर आलोकको कमजोरीबारे पहिलोपटक तपाईंले भन्ने आँट गर्नुभा'थ्यो, जुन कैयौँ सिसिएम र पिविएमहरूले आँट गरेका थिएनन् ।' त्यसबेला आलोकजीको गलत सोचको सिकार भएँ, त्यो कुरा सत्य हो । तर, मान्छेमा सिर्जना मरेन भने, विश्वास मरेन भने मान्छेले जुनसुकै किसिमका चुनौतीको सामना गर्न सक्दो रहेछ ।

० हिजो जनयुद्धमा लागेर हजारौंले बलिदान दिए । सयौँ, हजारौँ मान्छे घाइते छन् । बेपत्ताहरूको संख्या पनि उस्तै छ । जनयुद्धमा लागेका कार्यकर्ता घरको न घाटको भएका बेला हिजोका दिनलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
- यदि, प्रचण्ड-बाबुरामजीहरू क्रान्तिको हिरोबाट भिलेनमा नबद्लिएको भए अहिले हामी राष्ट्र निर्माणको अभियानमा हुन्थ्यौँ होला । तर, कुनै दुःख छैन, कुनै गुनासो या पश्चात्ताप छैन ।

० तपाईं गीत गाउँदा या आफनो मन्तव्य राख्दा प्रचण्ड-बाबुरामप्रति असाध्यै धेरै आक्रोशित रूपमा प्रस्तुत हुनुहुन्छ । त्यस्तो के कारण छ ?
- २१ वर्षअघि प्रचण्डले एउटा सुन्दर सपना दिए । तर, आज उनी लाखौँ मान्छेको जिन्दगी बर्बाद पारेर महलमा बसिरहेका छन् । नेपालको अहिलेको कानुनमा एकजना मानिस मार्‍यो भने २० वर्ष जेल बस्नुपर्छ । प्रचण्डको आदेशमा १४ हजार माओवादी मारिए । सेना, पुलिस, कांग्रेस, एमालेलगायत गरी बीसौंँ हजार मारिए । हिसाब गर्नुहोस् त कति वर्ष जेल बस्नुपर्छ प्रचण्डले ? प्रचण्डले त राजनीतिक रूपमा धोखा मात्रै दिएका छैनन्, राजनीतिक हिसाबले बेइमानी र गद्धारी मात्रै गरेका छैनन्, लाखौँको सिउँदो पुछिएको छ । हजारौँको काख रित्याएका छन् । के प्रचण्ड प्रधानमन्त्री हुनकै लागि उनीहरूको जिन्दगी बर्बाद पारिएको हो ? प्रचण्डले आलिसान महलमा भव्य जिन्दगी बाँच्नका लागि उनीहरूलाई बिल्लीपाठ पारिएको हो ? हामीजस्ता युवाको जिन्दगीलाई अन्धकार बनाएका हुन् ? त्यो अधिकार छ प्रचण्डलाई ? यसकारण म त प्रचण्डलाई एउटा गम्भीर प्रकारको अपराधी भन्छु । एकदिन त्यो अपराधको कहालीलाग्दो दण्ड प्रचण्डलाई मिल्नेछ ।

० पछिल्ला दिनमा, जब तपाईंलाईं लाग्यो प्रचण्ड-बाबुरामले धोखा दिए । त्यसपछि उनीहरूसँग भेट भएको छ कि छैन ?
- भेटेँ, जनआस्थाले प्रचण्डपुत्र रक्सी खाएर ढलेको तस्बिर छाप्नासाथ भनेँ, 'अध्यक्ष कमरेड, प्रकाश तपाईंको मात्रै छोरा होइन । हाम्रो सहयोद्धा पनि हो । अध्यक्षको छोरा जाँड खाएर बाटोमा ढलेको समाचार पत्रिकाले छाप्दा पार्टीको बेइज्जत भएको छ । के तपाईं उसलाई सच्याउन सक्नुहुन्न ? तपाईं आज यस्तो मान्छेको घेराबन्दीमा हुनुहुन्छ, के त्यो घेराबन्दीबाट निस्कन सक्नुहुन्न ? तपाईंलाई आदर्श मान्यौँ । मेरै कुरा गर्नुहुन्छ भने जतिखेर म घाइते, अपांग, अन्धो थिएँ, त्यतिखेर प्रचण्ड, बादललाई सम्झिएर आˆनो आस्थालाई मर्न दिइनँ । सपनालाई मर्न दिइनँ । म त्यति धेरै सम्मान गर्थें, विश्वास गर्थें ।' उहाँले ठीक छ, माइलाजी यसबारे सोचाँैला भन्नुभयो, सकियो ।

०६३ सालमा धुतराज भन्ने नाटक प्रस्तुत गरेको थिएँ चितवनमा । त्यसको प्रचण्डले चर्को आलोचना गर्नुभयो । मैले पछि सोधेँ, 'यसमा गलत कुरा के छ कमरेड ?' भन्नुभयो, 'सही कुरा उठाउनुभएको छ । तर, तपाईंले नाटकबाट उठाउँदा कुरा अलि बिगि्रयो ।' प्रचण्ड त्यस्ता मान्छे हुन् । सही कुरा जेबाट उठाए पनि हुन्छ । नेतालाई कुन तरिका मन पर्छ भन्दै खोज्ने त दलाल मात्रै हुन्छ । पछिल्लो समयसम्म पनि उहाँहरूसँग कुरा हुन्थ्यो । बाबुरामजी प्रधानमन्त्री भएका बेला फोन गर्नुभयो । माइलाजी कता हुनुहुन्छ भेट्ने मन छ भनेर ।

मैले भनेँ- बाबुराम दाइ, म बाग्लुङ आइपुगेको छु । तपाईंले गर्नुभएको बिप्पाविरुद्ध जनतालाई जागृत गर्दै छु । तपाईंले पुलिस लगाएर सुकुम्बासीबस्तीमा आक्रमण गर्नुभयो । हिजो जनयुद्धका बेला बसोवास गराइएका भूमिहीनहरूलाई जमिन छाडेर जा भन्नुभएछ, जमिनदारको मतियार बन्यो बाबुराम भनेर भन्दै छु, जनतालाई भनिदिएँ फोनमा । तपाईंहरूले गर्नुभएको राष्ट्रघातप्रति कहिल्यै पनि माफी पाउनुहुने छैन । वर्गलाई दिनुभएको यो विश्वासघातप्रति कहिल्यै क्षमा पाउनुहुने छैन भनिदिएँ । उहाँ हाँसिरहनुभयो फोनमा । हाम्रो सोचमा फरक पर्‍यो । म पनि क्रान्तिकै पक्षमा, राष्ट्रकै पक्षमा छु भन्नुभयो । तर, मेरो मनभरि यो देशलाई पराधीन बनाउन उहाँले गरेको बिप्पा, एयरपोर्टमा भारतीय एयरमार्सल राख्न दिने चर्चा घुमिरहे । पश्चिममा सुकुम्बासीलाई जमिनबाट बेदखल पारेर लखेटिएको याद आयो । काठमाडौंको थापाथलीलगायत स्थानबाट डोजर र पुलिस लगाएर सुकुम्बासी लखेटिएको याद आयो र घृणा लाग्यो अनुहार सम्झिएर ।

Post a Comment

 
Top