0

मुन्द्रे, स्कुल र शिक्षा प्रणाली -डिकेन्द्र ढकाल

डिकेन्द्र ढकाल
एसएलसीको ‘मात्रात्मक’ नतिजा खस्किदै गएको चर्चा भैरहेको बेला हाम्रो शिक्षा पद्धतिकै गुणात्मक पक्ष झनै टीठ लाग्दो भएको पनि चर्चा हुनै पर्दछ। चल्तिको भाषामा डिस्टिंकशन नंबर ल्याएर देखाइदिने हाम्रा एसएलसी ग्रेजुएटहरुले खानेपानी संस्थानलाई धाराको लागि निबेदन लेख्न पाँच किलास पढेका हजुरबालाई गुहार्छन्। भरपाई लेख्न लगाउंदा “उल्टो के हो भरपाई?” भनी सोध्छन् ! माल अड्डामा एक्लै जान सातो जान्छ । तर सामान्य ढंगले एसएलसी पास मात्र गरेकाको पनि फूर्ति भने अर्कै छ ।
हाम्रो मुन्द्रे त्यसको प्रतिनिधि पात्र  हो। “एसएलसी एसएलसी पास गरेको मान्छे पो हूँ ! बारी जोतेर बस्छु ? गाई पालेर बस्छु ?” मुन्द्रे बाआमालाई दंग्याउंछ । तपाईंहरुले भेट्नु भएकै होला हाम्रो मुन्द्रेलाई । ऊ कहिले सड़कको कल्भर्टमा उपर्खुट्टी लगाएर हुल जम्मा गरेको हुन्छ, कहिले टोलको चिया पसलमा बिहानभर  झाँक हालेर बसेको हुन्छ । अनि दिउसो एउटा पातलो कापी पट्याएर जिन्समा कोची क्याम्पसतिर जान्छ । कक्षा भने स्ववियु भवनमा कहिले दिन्छ त कहिले लिन्छ ।  साँझतिर भने एकपटक आफ्नो महान पार्टी आफिस पुग्न बिर्सदैन ।
मुन्द्रे विदेश जाँदै गरेको एक दृश्य।
गत हप्ताको सोमबारे  जिरेखुर्सानी संस्करणमा नयाँ नेपाल बनाउने अठोट लिएको अमुक पार्टीले युवाहरुको सपनामा तुषारोपात पारेकालॆ  ‘एसएलसी एसएलसी पास गरेको’ मुन्द्रेले अन्तत: उक्त पार्टी परित्याग गरी  बिदेश लाग्यो  ! यरपोर्ट जाँदै गर्दा उसले बिदाई गर्न उभिएका बाआमालाई भन्यो – “आफ्नो देश छाडेर बिदेश जाने बेलाँ लाउनु परयाछैन तिम्रो फूलको माला; बरु भगवानलाई प्रार्थना गर: आज उपरान्त कोही पनि नेपालीका बिदेशिएका छोराहरु काठको बाकसभित्र प्याक भएर फर्किन नपरोस् ।”
बास्तवमा  अन्तत: ‘बुद्धत्वप्राप्त’  मुन्द्रेले आफ़्ना बाआमालाई सुनाएको आवाज होइन यो; यो खबरदारी हो, यो देशको नालायक राज्यसंयन्त्रलाई जसले एक दिनमा दुई हजार हाराहारीका दरले  युवाहरुलाई विदेशिन वाध्य पारेको छ ।
मलाई लाग्छ, हेर्दा सामान्य लाग्ने यस्ता जति पनि समस्या छन् – यिनलाई राजनीति गर्छु भन्नेहरुले राष्ट्रिय मुद्दा बनाउन सकेनन् भने देश कहिल्यै बन्ने छैन |  हालसालै त्रिभुवन विमानस्थलको  इमिग्रेशन हलमा माषिक १२ – १८ हजार रुपैयाँको लागिमात्र  विदेश भासिएका सयौं युवाहरुबीच २ घण्टाभन्दा बढ़ी  लाइनमा बस्दा र उनीहरूले देश छाड़न बाध्य हुनु परेको कथाब्यथा सुन्दा म बिह्वल भएँ  ! ती बिदेशिने युवाहरुलाई  ठूला काम चाहिएकै छैन – गोलभेंडा बारीमा, गाईगोठमा, होटेलमा, सडकमा, फैक्ट्रीमा जहाँसुकै होस् कमाइने काम गर्न पाए पुग्छ ।
रेमिटेंस अर्थतन्त्रले मुतको न्यानो अवश्य दिन्छ । तर देश निर्माण हुँदैन । देश निर्माणमा युवाको भूमिकाको चर्चा मैले यहाँ गरिराख्नु नपर्ला । तर हाम्रा राजनीति गर्नेहरुलाई यस्ता कुरामा किंचित चाँसो भएको मैले देखिन । न यहाँ शिक्षाका योजनाविदलाई नै चाँसो छ । अर्कातिर देशमा पढने कलेज नै नभएजस्तो गरी राजधानी र प्रमुख सहरमा १२ क्लास पास गर्ने बित्तिकै सबैजसो बिदेशै जान मरिहत्ते गरेको देखिन्छ । अरु त अरु स्नातकोत्तर तहका राम्रै डिग्री लिईसकेका र देशमै राम्रा सम्भावना भएकाहरु पनि बिदेशको लागि मरिमेटेका छन् । यी हुलमा केही थोरै जनमात्र यथोचित कारणले देश छाडेका वा छाड्न चाहेका छन् । उनीहरुसँग भए-गरेका अन्तरंग गफगाफमा धेरैजसो चाहिं “बहकाउ” मै लागेका मैले चाल पाएको छु । केही त बूढा भएका बाउआमा पाल्न झन्झट मानेर पन्छेका उनकै बाउआमाले भक्कानिदै सुनाएका पनि भेटेको छु ।  कोही अरुकै लहलहमा अरुलाई ‘देखाउन’ बिदेश गएका र यता न उताका भएका पनि देखेसुनेको छु  |
पहिलो खाले बिदेशिनेहरुको बाध्यता हो – चुहिएको घर छाउन, बहिनीको बिहे गर्ने  पैसो जुटाउन, एउटा इट्टाको घर बनाउन, आमालाई नयाँ फ़रिया किनीदिन प्राणप्यारीलई मुन्द्री किनी दिन । अर्को मैले माथि नै भनी सकेँ स्वभाविक गमनलाई छाडेर जुन उर्लदो बाढ़ी छ त्यो ‘डेमोंस्ट्रेशन इफेक्ट’ हो । देखासिकी हो। लहैलहै हो । अनि यसखाले बिदेश पलायनलाई ‘लिबर्टी’ भन्नेहरु पनि छन्, तर मेरो बिचारमा यो विसंगत लिबर्टी हो । यो  बेथिति हो । यो देश निर्माण नहुने क्रूर संकेत हो ।
यी सामाजिक समस्या नै हुन्, राष्ट्रिय सरोकारका विषय हुन् । हाम्रो शिक्षा पद्धतिसँग जोडिएका विषय हुन् । समग्रमा हामी विकासमा पछि परेको यिनै सूक्ष्म विषयमा ध्यान नपुगेर हो ।
उसो भए समाधान के त ? मलाई लाग्छ, हाम्रो  देशका ९०% भन्दा बढी समस्या ‘राष्ट्रिय शिक्षा’को अभावले भएका हुन् | त्यसो हुनाले कथित ‘नयाँ शिक्षा’ मै आमुल फेरबदल आवश्यक छ |
मुन्द्रे रहर लागेर मुन्द्रे भएको होइन । हाम्रो शिक्षाले मुन्द्रे बनाएको हो । हाम्रो स्कुल शिक्षाले काम र श्रमको इज्जत गर्न सिकाएन । फलस्वरूप हाम्रा एसएलसी ग्रेजुएटहरु आफ्ना बारीमा पस्न लाज मान्ने भए । शिक्षा ब्यवहारिक भएन । ‘च्याट’ गर्लान्, क्यानाडाका जस्टिन बिबरलाई चिन्लान् तर आफ्नै मान्यजन घरमा आउंदा बाआमाले ढोग्न सम्झाउनु पर्दछ ।
चाहे परिवारलाई माया गर्ने होस् वा देशलाई प्रेम गर्ने होस् – त्यस्तो नागरिक बनाउने शिक्षाले नै हो | ए गाँठे,देशको झण्डाको माया त हुनु परयो नि ! हुर्काउने बढाउने बाअमालाई बिर्सनेबाट समाज र देशले के आशा गर्ने ? कमसेकम् हाइस्कुलसम्म  शिक्षाको पाठ्यक्रम त्यस्तो हुनु पर्छ – जसले परिवारलाई, समाजलाई माया गर्न र उत्तरदायित्व बहन गर्न सिकाओस् । श्रमको श्रद्धा गर्न सिकोस् ।  हाम्रो शिक्षा हाम्रै मौलिक मूल्यमा आधारित होस् । ऐले हामी बढी पस्चिमेली दर्शनबाट मात्रै प्रभावित भएका छौं । अधिकारका बारे बढ़ी पढ्छौं-पढ़ाउछौं । प्रजातन्त्रको कुरो गरेर थाक्दैनौं । तर हाम्रा आफ्नै पूर्बिय दर्शनले सिकाएका नैतिक मूल्य, आदरभाव, कर्तब्य, जिम्मेवारीबोध, सहअस्तित्व, बहुसांस्कृतिक पहिचान र मेल, श्रमको सम्मान हाम्रो शिक्षाको केन्द्रमा राख्न बिर्सेका छौं ।
शिक्षा दूरगामी असर पार्ने राष्ट्रिय विकासको महत्वकांक्षी योजना हो भन्ने बुझ्नै पर्दछ । हेक्का हुनै पर्दछ, आगामी बर्ष स्कुल छिर्ने वालवालिका बिक्रमको बाइसौं सताब्दीको शुरुको नेपाल हाँक्न तैयार हुनेछन् । बाइसौं सताब्दीको नेपाल अहिले हामीले प्रदान गर्ने शिक्षामा भर पर्छ। त्यसैले हाम्रो स्कुल शिक्षा यिनै कुरा लाई ध्यानमा राखेर तैयार पारिनु पर्दछ ।
हाम्रो उच्च शिक्षामा समेत त्रुटी छ । खोई देशको आफ्नै नितिनिर्माणको अध्ययन अनुसंधान गराइने आफ्नै लगाव र लगानीको स्वतन्त्र विश्वविद्यालय ? नेपालको राजनीति, परराष्ट्रनिति अर्थनिति, जलनीति, शिक्षानीति यावत निति निर्माणमा हाम्रै नेपाली दृष्टिकोणको खाँचो छ ।  हामीलाई ‘मेड इन नेपाल’ चस्माको खाँचो छ । कालो चस्मा लगाए कालै देखिन्छ, हरियो लग्याए हरियै । नत्र मेड इन “जेएनयु-इंडिया” चस्मा लगाउनेले  “ऐसा क्यों किया” भन्दै तगारो खड़ा गरिदिन्छ !  यसको लागि देशमै त्यस्ता कलेज वा युनिभर्सिटी खोलियोस्, जसले अब्बल राजनेता, नेता, कुटनितिज्ञ, थिंक ट्यांक, कानुनवेत्ता आदि दीक्षित गरोस्, तालीम गरोस् । अमेरिकाको जर्जटाउन विश्वविद्यालयले यही गर्दछ |  विद्वान नेता महोदयहरुलाई थाहै होला – यस विश्वविद्यालयले राजनेता, नेता, कुटनितिज्ञ, थिंक ट्यांक उत्पादन गर्दछ अमेरिकाको निम्ति- जसको “कोर भ्यालु” नै अमेरिकी झण्डाको प्रेम हो, अमेरिकी एकता हो अमेरिकी सम्बृद्धि हो र डेमोक्रेसीको कुनै हालतमा पनि रक्षा गर्नु हो |
त्यसैले हामीलाई जन्म दिने बाआमालाई माया गर्न सिकाउने शिक्षा चाहिन्छ । बाआमालाई माया गर्नेले नै समाजलाई माया गर्छ । नेपाली झण्डालाई माया गर्ने शिक्षा चाहिन्छ । जब देशका नागरिकले आफ्नो झण्डालाई माया गर्छन्, अनि देश निर्माण हुन्छ । देश बन्छ । विकास त निरन्तर चलिरहन्छ ।
अन्त्यमा झापाका युवा भिष्म दर्नालले  हाम्रो मुन्द्रे पुगेको मुलुक मलेशियाबाट देश सम्झी लेखेका यी दुई लाइन लेखी बिट मार्छु ।
आफ्नै मन आफ्नै तन, आफ्नै देशको माटो होस्
नेपालीलाई देशको माया,जिन्दगीकै पाटो होस्

Post a Comment

 
Top