पीङजस्तो हल्लिरहेको जिन्दगी
रेशम विरहीलाई चिन्ने पनि थुप्रै छन्, नचिन्ने पनि थुप्रै । ऊ स्वयंलाई आफ्नो घर कहाँ छ भन्ने थाहा छैन । नेपालगंज गयो, मेरो घर चितौन भन्छ, चितवन गयो, नेपालगञ्ज बस्छु भन्छ । कसैले कवि दाजु भन्यो भने पत्रकार हुँ भन्छ, पत्रकार साथी भन्यो भने कवि हुँ भन्छ । तर कसैलाई ढाँट्तैन । एक कवि, पत्रकार र राजनीतिकर्मी रेशम विरहीको नाम पनि उहिले रेशमराज घिमिरे थियो । यो लेख नागरिकमा छापिँदा ५७ वर्षको उमेरमा थियो अहिले ६१ मा हिडिरहेको छ । वा, विगतका दिव्य ६१ वर्ष उसमाथि सवार भएर हिँडिरहेका छन् । अनुहारले प्रौढता झल्काउँछ, हिँडाइले गम्भीरता । तर ऊ स्थिर हुने प्रयासमा कहिले यता कहिले उता गरिरहन्छ, पीङ जस्तो । किनभने पीङ हल्लिइरहन्छ, गहिरो जरा भएको रूखको हांगामा । वा गहिरो गरी गाडिएका खाँबोमा जहाँ दुर्घटना हुन्न भनी ठोकुवा गर्न त सकिन्न तर पीङ राम्ररी मच्चिन्छ र एक खाले मजा आउँछ भन्न भने पक्कै सकिन्छ ।
२००९ सालमा गोरखाको हर्मीमा घिमिरे परिवारमा कान्छो छोरो भएर जन्मेको ऊ अर्को भाई आमाको कोखमा आएपछि काईंलो भयो । नौ वर्ष पुग्दा नपुग्दैको गोर्खाली बाबुआमाको पछि पछि लागेर चितौने भयो । पहाडका पाखा र भीरसंग गाँसिएको उसको नाभी चुँडिएर चितवनका घनाजंगल र बसाई सरेका मानिसहरूको वस्तीमा गएर गाँसियो । मैले सोधें- रेशम, तिमी यति ठाउँ पुग्यौ, तिमीलाई मन पर्ने ठाउँ कुन चैं हो त ? ’चम्पानगर ।’ मेरो प्रश्न भुईंमा खस्न नपाउँदै ऊ भन्छ । वास्तवमा आफु हुर्केको चम्पानगर छाडेर ऊ पश्चिमतिर किन हान्नियो?
त्यसबेला ऊ परिवारसंग छुट्टएिर अलग्गै बसेको थियो । बत्तीस सालमा तनहुँ रतनपुरकी सरल ग्रामबाला लक्ष्मीसंग बिहे गरेपछि उसको जिन्दगी एकप्रकारले ठिकै थियो । तर यो देशको मुहार फेर्ने राजनीतिको नसा लागेको थियो उसलाई । कामरेड पुष्पलालको पार्टीमा थियो जसलाई अचेलका माओवादी र एमालेहरू कांग्रेसको पुच्छर भनेर आफ्नो काँचो क्रान्तिकारिताको तुष्टि प्राप्त गर्थे । त्यसपछि नेकपा मानन्धरतिर लाग्यो । त्यसपछि एमाले भयो । एकपल्ट माओवादीका कमरेडहरूले वरिपरिबाट घेरे । त्यता पनि नजिक भयो । अधिनायकवादी शैलीका विरुद्ध आजीवन लडिरहेको उसका लागि त्या झन् सांगुरो र कहालीलाग्दो अनुभव थियो । तीन महिना पनि टिकेन । कांग्रेसको भाषामा ऊ घर फक्र्यो । अर्थात् एमालेमै । केही वर्षअघिसम्म ऊ काठमाडौंतिर भौंतारिइरहेको थियो ।
काठमाडौंतिर भौंतारिनुको अर्थ अहिले पनि अर्कै लाग्छ । सत्तामा उसका आफ्ना कामरेडहरू गजधम्म बसेका छन् । पटापट राजनीतिक नियुक्ति हुन्छन् ।तर उसलाई सिंहदरबार वरिपरि देख्न मुश्किल छ । ऊ कमरेडहरूका कुनै पनि सर्वहारा झुपडी नामका बंगलाहरूतिर धाउँदैन । अनि कुनै पनि नेतालाई उसको अनुहार धमिलो धमिलो कहीं कतै देखे देखे जस्तो मात्रै लाग्छ । भनेपछि उसको काठमाडौं भौंतारिनुको निजी वा पारिवारिक अर्थ केही होला ।
’चितौनका कुन नेता सार्है असल र कुन चैं सार्है खराब लाग्छ ?’
असलमध्येमा कांग्रेसका किशोरकुमार ढुंगाना र खराबमध्येका खराबमा पंचायतका खुंखार हिमायती लीलाराज बिष्ट ।’ रेशम विरही प्वाक्कै भन्छ । उसलाई मुलुककै असल नेताको नाम लिनु परे पनि भनिदिन्छ- ‘पुष्पलाल !’ सबभन्दा आदर्श कविको नामै लिनुपरे पनि निस्संकोच भनिदिन्छ- पुरानामा गोपालप्रसाद रिमाल र समकालीन पुस्तामा श्यामल उसका आदर्श कवि हुन् । हुन त मलाई अलि लाज लाग्नेजस्तै भो तर ऊ भन्छ, कुरो त्यै हो । साँचो कुरा त्यही नै हो ।
उसलाई सबैभन्दा सफल नेता पनि पुष्पलाल नै लाग्छ । उसको अब्बल तर्क छ- पुष्पलालले उहिल्यै भनेका थिए- पञ्चायत खोक्रो छ, त्यसलाई हान्ने लात बनाउनुपर्यो, ब्वाङ्गै ढल्छ । हुन पनि दुई तीन लातले पञ्चायत ढल्यो, अर्को एक लातले ढाइसय वर्षको बूढो राजतन्त्रको रूख ढल्यो । मदन भण्डारीको जनताको बहुदलीय जनवादको भ्रूण पनि पुष्पलालकै विचार हो ।
थातथलोको यायावर
चितवनको चम्पानगरमा उसको भागमा परेको जग्गाजमीन गुम्यो । बैंकको लिलामीमा पर्यो । राजनीति गथ्र्यो । कविता र गीत लेख्थ्यो । धेरैलाई वाहियात लाग्ने दार्शनिक भाषा प्रयोग गथ्र्यो । तर आफ्ना रचनामा ऊ कहिल्यै मख्ख परेन ।
उसले गर्ने कामबाट आयआर्जनको कुनै सम्भावना थिएन । किनभने ऊ राजनीतिको आवरणमा लुकेको माफिया थिएन । अतः आम्दानी थिएन । खर्च त छँदै थियो । दुई छोरा र एक छोरीको पिता थियो । पाँच जनाका खाने मुख र लगाउने आङ थिए । तर तिनलाई चारो हाल्न धौ भो रेशमलाई । एक रात पत्नी लक्ष्मीसंग उसले सल्लाह गर्यो -’अब ह्याँ क्यै नलाग्ने भो बुढी, लागौं बाँके बर्दियातिर ।’
लक्ष्मी धेरै सोझी, रेशमले जे भन्यो, विना कुनै प्रतिक्रिया पछि पछि लागिदिने । ससाना बालबालिका बोकेर एकजना परिचितको ठेगानालाई गन्तव्य बनाएर नारायणी तरे रेशम परिवारले, तिनाउ र राप्ती तरे, मानखोला र बबै तरे । अनि मैनापोखर पुगे । जग्गा किने । त्यो परिचित बदमास निस्क्यो । त्यहाँ पनि ऊ डुबानमै पर्यो । हुन त ऊ बसेको थियो नेपालगञ्जको धम्बोझीमा । नेपालगञ्जमा बसेर ललितपुरमा दर्ता गरेको ‘समानान्तर’ भन्ने पत्रिकाको सम्पादन गर्यो । कोहलपुरको आधा किलोमिटर पूर्व हाइवेकै छेउमा चपरगौडीको खेत जस्तो जग्गालाई घडेरी भनेर किन्यो र एक छाप्रो उठायो उसले । तर दुईतीन वर्षमै उसले छोरीको बिहे खर्च जुटाउन त्यो पनि डेढ लाखमै बेचिदियो । अनि ऊ कहिले धम्बोजी, कहिले गणेशपुर त कहिले फुल्टेक्रा बसाई सररिह्यो । काठमाडौं आएर बनस्थलीमा बस्यो । फेरि दुई महीनामै नेपालगञ्ज फक्र्यो । त्यहाँ ऊ बसेको ठाउँको नाम शहीद सेतु विक चोक भइसकेको छ ।
राजेन्द्र न्यौपाने नामका एक युवकले भनेको कुरा सम्झन्छ रेशम । उनले भनेका थिए-नेपालगञ्जमा रेशमदाईलाई सम्मान गर्ने धेरै छन् माया गर्ने कोही छैन । भन्न सकिन्छ, ऊ एक खाले फकीर हो ।नेपालगञ्ज छाडेर ऊ फेरि आयो काठमाडें खाल्डोमा । यो खाल्डोमा बस्ताबस्तै उसले दुई छोराको बिहे गर्यो । दुबैजना छोराले मिलेर उसलाई चितवन रवाना गरिदिए, केही जग्गा जोडेर र यौटा छाप्ो बनाइदिएर । ऊ अब पश्चिम रामपुरको एक गाउँमा बस्छ । ट्याम्पुमा नारायणगढ आउँछ ।र्फकन्छ । कहिले भरतपुरतिरै सुतिदिन्छ । हो, उसको केही ठेगान छैन । भरतपुर भन्ने मासिक पत्रिका निकाल्दैछ । हरेक महिना पाँच दिन जति पत्रिका छाप्न कलंकी उत्रन्छ, छापिसकेपछि पाँच प्रति झोलामा कोचेर माइक्रो बसमा चितवनतिर लाग्छ ।
राजनीतिक यायावर
म बुद्ध हुँ । सत्यको खोजमा भौंतारिएँ । यायावर भएँ । परिब्राजक भएँ । कहींको भइनँ । सबै ठाउँको भएँ- आफ्नो फिरन्ते जीवनबारे रेशमको यस्तो मूल्याङ्कन छ । पढ्दा २०२७ सालमा अनेरास्ववियुको तर्फबाट हाईस्कूलको अध्यक्ष थियो ऊ र त्यसै संगठनको जिल्ला कमिटी सदस्य पनि थियो । २०२८ सालमा कमरेड रोहित र रूपलाल विश्वकर्मा पनि संगै रहेको तत्कालीन नेकपामा क्रियाशील भयो । यसै वर्ष हो, उसले रूपलाल विश्वकर्माको हातबाट पार्टी सदस्यता लिएको । उसले सदस्यता पाएको चार पाँच महिनापछि मात्र उहिलेका पुष्पकमल दाहाल अर्थात अहिलेका प्रचण्डले रूपलालबाटै सदस्यता पाएका थिए । यसो भनौं, रेशम प्रचण्डभन्दा आधा वर्ष जेठा कम्युनिष्ट हुन् । तर अहिले प्रचण्डको क्रेज बेग्लै छ, रेशमको त्यस्तो केही छैन । तर भयानक असन्तुष्टि पनि छैन । सायद अब उसको बुद्ध हुने बेला आयो । उता, प्रचण्ड र बाबुरामले सत्तारोहण गर्नुअघि आफु दुईजना सत्तामा नजाने र गान्धी बन्ने बताएका थिए । सत्तालिप्सा र समयले उनीहरू दुबैलाई गान्धी बन्न दिएन । तर रेशमको त्यस्तो कुनै महत्वाकांक्षा छैन ।
ऊ पुष्पलालको अनुगामी थियो । तर त्यतिबेलाका चर्का वामपन्थीहरू उनलाई कांग्रेसको पुच्छर भन्ने आरोप लगाउँथे । जनमत संग्रहमा उसले पुष्पलालकै लाईन पछ्याएर बहुदलको पक्षमा भाषण गर्दै हिंड्यो । तर ती वामपन्थी भनाउँदाहरूले उसलाई लगातार लखेटे । २०३३ साल साउनको कुरा हो, उसले साझा प्काशनमा जागीर पायो । अनि ऊ इलाम गयो । तयहाँ ऊ उपशाखा प्रबन्धकको जिम्मेवारीमा थियो । गएको तीनचार महीनामै पुस १६ गते, राष्ट्रिय मेलमिलाप दिवस पारेर, ऊ बीरगञ्जमा गिरफ्तार भयो अहिलेका माओवादी नेता अमिक शेरचनहरुसंगै । संगै थुनिनेहरुको हुल १३ जनाको थियो तर अंचलाधीशले उसलाई बाहेक अरुलाई छाडिदिए । त्यति नै बेला केही कांग्रेसजन पटनामा पक्राउ परेका थिए । अमिकहरुले सफाइ पाए तर ऊ कति खतरनाक थियो कुन्नि, उसलाई राजकाज अपराध गरेको ठहर भयो । अमिकहरुलाइृ सफाई पाउँदा यस ठिटोलाई मात्र थुननु उचित हुनन भनेर राय दिने सहअञ्चलाधशि रत्नबहादुर गुरुङको जागीर पनि झण्डै अञ्चलाधीशले खाइदिएको ! वीरगञ्ज जेलमा ११ महीना बसेपछि ऊ निस्क्यो । दिशा अझैं प्रष्ट थिएन । यसरी हिलोमा डुंगा चलाउन आइपुगेको रेशम पश्चिम नेपाल हान्निएको थियो । जनयुद्ध कालभरि लगभग उतै बसेर काठमाडौं चितवन आवतजावत गर्न थाल्यो । मानौं ऊ जनयुद्ध गर्न खटिएको हो । तर ऊ त एमालेको संगठनमा क्रियाशील थियो ।
रेशम एकदिन नारायणगढ बजारतिर घुम्दैथियो । उसका पुराना चिनजानका नेता प्रचण्डजी सपत्नी उसका अगाडि प्रकट भए । र, भलाकुसारी नसक्तै भने, ‘विरहीजी, तपाईंले गल्ती गर्नुभो । अब सच्चिनुपर्छ ।’, कुनै पनि कम्युनिष्ट पदधारी नेताले त्यसो भन्नुको अर्थ हो- ‘तँ मेरो कार्यकर्ता बन्न लायक छस् । मेरा हातबाट टीका थाप् ।’ ऊ त्यतिबेला फिस्स हाँसेर विदा भएको थियो । गल्ती रेशमले गर्यो कि प्रचण्डले, त्यो बेग्लै र केही हदसम्म तुलना गर्नै नमिल्ने कुरा हो । तर प्रचण्ड यस देशका प्रधानमन्त्री भइछाडे । रेशम सर्वहाराको सर्वहारै छ । अचेल एक सर्वहाराले अर्को सर्वहारालाई चिन्दैन । हाम्रो वाम राजनीतिको हंस यतै कतै लुकेर बसेको छ ।
नेपालको राजनीतिक इतिहासको जानकारी राख्ने व्यक्तिलाई थाहा छ, २००६ सालमा नेकपा स्थापना भएपछिको केन्दं्रीय कमिटीका सदस्य थिए पुण्यप्रताप राणा । वामपन्थी नेताहरूको राजनीतिक खिचातानीले जर्जर भएको आन्दोलनमा वैचारिक अल्मल र व्यक्तित्व विघटनका कतिपय परिघटना देखिए । कोही कोही राजा महेन्द्रलाई राष्ट्रवादी ठान्ने नेता पनि थिए । यसै बीच २०२८ साल माघ १७ गते महेन्द्रको निधन भयो । पूण्यप्रतापले पनि बरालिएका नेातमध्येकै एक भएर राजा महेन्द्रको राष्ट्रवादिताको बखान गर्दै एक वक्तव्य निकाले । अर्थात् उनको बाटो विस्तारै पञ्चायततिर सोझियो ।
रेशम उसो त त्यसै बस्ने मनुवा थिएन । लखेटाई, निराशा र स्वाध्ययनका बीच उसलाई एक साहित्यिक पत्रिका निकाल्नुपर्छ भन्ने लाग्यो । अनिल सिग्देल र दिलीप कार्की नामका आफ्ना अल्लारे साथीहरू राखेर त्यतिबेलाको जिल्ला पञ्चायतको अतिथिगृहमा उसले बैठक गर्यो । पत्रिकाको न्वारान भयो-’आरन’ । बैठक सकेपछि पुण्यप्रताप र रेशमका अनौपचारिक गफ चले । पुण्यप्रतापले तत्कालीन परिस्थिति र चर्का वामहरूको कार्यशैलीबारे रेशमलाई राम्रैसंग बेलीविस्तार लाए । उसलाई लाग्छ, त्यसपछि ऊ एक किसिमले कन्भिन्स भएको थियो । कुनै बेलाका खुंखार अञ्चलाधीश सूबसेन आफ्ना समकालीन नेता प्रचण्डको क्रान्तिकारी पाटर्र्मि डटेर लागिरहेको यस्तो बेला रेशम भनिदिन्छ, ‘म त्यतिबेला मण्डले भएँ ।’ उसलाई गहिरोसंग चिन्नेहरू भन्छन्, ऊ कहिल्यै मण्डले हुन सक्ने मान्छे होइन । अस्थिरता उसले सम्हाल्न नसकेकेा परिस्थितिको दोष हो, उसको निजी खराबी होइन ।
स्वाभिमानको अभयारण्यमा
धेरैले रेशम एक सम्मानित मानिस हो भन्छन् तापनि खादा-पछ्यौरा वा रंगीविरंगी फूलमालाले ढाकिदिएर गरिने सम्मानप्रति एक हिसाबले उसलाई कुनै आकर्षण छैन । खरो छ । ऊ खरो भएकैले चिसा र चिप्लाहरू उसको कन्नापछाडि उसलाई अस्थिर, काम नलाग्ने घमण्डी र अटेरी बुढो भनिदिन्छन् । उ आफु।लाई यीमध्ये केही पनि ठान्दैन, एक मानिसबाहेक ।मैले पनि एक रसपान समारोहमा उसलाई सोधिदिएँ- कस्तो खाले सम्बन्धलाइ तिमी मन पराउँछौ त ?
बडो गम्भीर भयो ऊ । भन्यो- ‘मलाई मान सम्मान चाहिन्न तर अपमान सहन भने म सक्तिन र साथीहरू मसंग सोझो र स्वार्थरहित सम्बन्ध राखुन् भन्ने चाहन्छु । यस्तो सम्बन्ध कमै हुन्छ, सायद यसैले सम्बन्धमा पनि मेरो यायावरी कायमै छ ।’ राजनीतिमा पनि उसको पीङ हल्लाई उस्तै हो । वाम राजनीतिमा उसको निरन्तरता अवरुद्ध भो भन्नेमा उसलाई विश्वास रहेछ । कम्युनिष्ट नामधारी दलका नेताहरू कुरा जनवादी संस्कृतिको गर्ने तर कार्यशैलीमा प्रष्ट देखिने गरी अधिनायकवादी हुनाले उसलाई खल्लो लागेको रहेछ ।
आखिर किन त?
पुष्पलाललाई गद्दार भन्ने संस्कृतिबाट म पनि प्रताडित भएँ भन्छ ऊ । आफुसंग मतो मिले महान् र भिन्न विचार राखे गद्दार भएपछि कहाँ रह्यो जनवाद ? उसलाई नेपालमा बारम्बार रटिने जनवाद ढँटुवा जस्तो लाग्छ । केहीका लागि आफु माथि पुग्न माक्र्स, लेनिन र माओजस्ता प्रयोगवादी दार्शनिकहरूले बनाइदिएको सुरिलो लिस्नुकै नाम त हो जनवाद ! कोही माउसुलीमार्का हातखुट्टा भएकाहरू त्यसबाट माथि जाने ल्याकत राख्छन्, बाँकी जति त्यसको फेदैमा घाँटी ठाडो पारेर उभिइरहेका हुन्छन् ।
तर सबैसंगको उठबस र सहज सम्बन्धले उसले कुराको चुरो पत्ता लगाइसक्छ । भन्छ- एमालेमा बिताएका बार्ह वर्षमा म सधैं असत्यको शिकार भएँ । तर माओवादीभित्रको उपयोगितावादले मेरो मनलाई झनै त्रसित बनायो ।पुष्पलालसंगका स्मृति पनि छन् उससंग । एकपटक ऊ वनारस पुगेको थियो पुष्पलाल अर्थात् माल्दाईलाईृ भेट्न । अभिवादनको आदानप्रदान गरेपछि माल्दाईले भने- कमरेड, तपाईं नेपालबाट भर्खरै आउनुभा’छ, अलिकति खर्चपर्च बोकेरै आउनुभा होला । मासु खान नपाएको धेरै भो ।ल्याउन सकिएला?
माल्दाईका इच्छा बुझेपछि ऊ तम्तयार भो मासु खरीद गर्न । तर उसलाई बनारसको मासुबजारको केही आइडिया थिएन । कुरो बुझेर माल्दाई नै जुरुक्क उठे र विरहीलाई लिएर निस्के मासुबजारतिर । एक धार्नी रांगाको मासु किने -सम्झेसम्म त्यतिबेला रांगाको मासु एक धार्नीको दुई ढाई रुपिया पथ्र्यो) । माल्दाईले नै बोके । उसलाई माल्दाईले मासुको पोको बोकेको र आफु चैं हल्लिदै हिडेको सुहाएन जस्तो लाग्यो । तर बफ कहिल्यै नकिनेको र नखाएको रेशमलाई त्यो पोको सम्ाात्न दिगमिग लाग्यो । तै पनि उसले माल्दाईका हातबाट थुतेर आफ्नो हातमा लियो । त्यतिबेला भने आफु खाँटी कम्युनिष्ट भएको जस्तो लाग्यो उसलाई ।
रेशम भन्छ – ‘अनि माल्दाई मलाई मासु लगेर गोविन्दजीलाई पकाउन दिनू भनेर बीचैबाट हेडक्वाटरतिर लागे । मैले डेरा पुगेर मासु गोविन्द ज्ञवालीलाई दिएं । उनले पकाए । एक डेढ घण्टापछि आइपुगे माल्दाई । यति मजाले मासु खाए कि हेरिरहुँ जस्तो ! त्यसै बेलादेखि मैले बफ खान थालें ।’ भनिरहँदा बफसेकुवाको टुक्रा मुखमा हालेर सुपारीजस्तो चपाउँदै थियो ऊ । उसलाई गोविन्द ज्ञवालीको पाककला राम्रो लाग्छ । अचेल भने उसले गोविन्द ज्ञवालीले पकाएको खान पाएको छैन । बुढेसकालमा खै कस्तो पकाउँदा हुन् !
हुन त उसले थुप्रै पत्रिकामा काम गर्यो । घोषणा, कालचक्र, जनमत, मध्यपश्चिम, दिव्यदर्शन आदि आदिमा । कविताका तीनवटा किताब निकाल्यो – पहिलो मूलाको बोक्रा र आलीमुनिको झ्याउँकिरी, दोस्रो भित्ताको रंग, तेसा्रो मंगली गुप्ताको पान । उसलाई आफु कवि नै भन्न मन लागे पनि राम्रा र पाठकलाई हल्लाउने कविता लेख्न नसकेकेो जस्तो लाग्छ । महाकाव्य लेख्यो गतको आलोक । छाप्न आँट गरेको छैन । त्यसभन्दा पछिको ‘थालथालमा सपना’ छापिसक्यो ।निबन्ध संग्रह तयार पार्यो । छापेन । त्यसो भए ऊ के हो त?
फकीर, कवि, पत्रकार, निबन्धकार, राजनीतिज्ञ के हो, ऊ आफैसंग प्रश्न गर्छ
Post a Comment