0

रो टिल नेपाली किसानका लागि उपयोगी प्रविधि हो : नजवुल्लाह अन्सारी


album/1352Najbullaha Ansari.jpg
परम्परागत तरिकाले खनजोत गरी खेति गर्दै आएका बारा र पर्साका किसान अहिले खेतबारीमा नयाँ प्रविधिको प्रयोग गरिरहेका छन्। खेत खनजोत गरी धान, गहुँ मकै मुङजस्ता बाली लगाउँदै आएका किसानका लागि  सिरियल सिस्टम ईनिसिएटिभ फर साउथ एशिया सिसाले हालै नेपालमा भित्र्याएको जिरो टिल सिड ड्रिल नामक मेशिन वरदान सावित भएको छ। सोही  प्रविधिबारे जानकारी लिन हामीले सिसा प्रोजेक्टका अनुसन्धान सहायक नजबुल्लाह अन्सारीसँग गरेको छोटो कुराकानी  यहाँ प्रस्तुत गरेका छौ :



  

जिरो टिल सिड ड्रिल प्रविधि के हो ?

जिरो टिल सिड ड्रिल प्रविधि भनेको खेत खनजोत नै नगरी खेतिबाट बढी उत्पादन लिन सकिने प्रविधि हो।





यो प्रविधि नेपालमा कसरी र कसको प्रयासबाट आएको हो ? 

जिरो टिल सिड ड्रिल प्रविधि नेपालमा अर्न्तराष्ट्रिय गैरसरकारी सघ संस्थाहरु सिमिट, ईरी, युएनडीपी  युएसएड, एफएओ आईएफएडी,  विश्व बैंकजस्ता संस्थाहरुको आर्थिक सहयोगमा नेपाल सरकार कृषि मन्त्रालय, कृषि अनुसन्धान परिषद् मार्फत सिसा प्रोजेक्टले ल्याएको हो।



जिरो टिलबाट खेति कसरी गरिन्छ ?

जिरो टिल सिड ड्रिल खेति गर्ने एउटा आधुनिक मेशीन हो,  जो ट्याक्टरको सहायताले प्रयोगमा ल्याइन्छ। यो प्रविधिबाट खेति गर्दा खेत खनजोत नै नगरी मेशिनमा मलखाद र बिउ एकै पटक राखेर ट्याक्टरको सहायताले बोवाइ गरिन्छ।



खेतलाई खनजोत नै नगरी खेति गर्दा खेतमा भएको झारपातलाई कसरी नियन्त्रण गर्न सकिन्छ ?

सामान्य रुपमा परम्परागत खेति गर्दा किसानले खेतलाई मलिलो पार्ने र खेतमा भएको झारपात वा पुरानो लगाएको बालीको ठुटाहरुलाई नष्ट गर्न खेतलाई चार, पाँच पटक जोत्ने गरेका छन्। जसमा एकातिर किसानलाई खनजोत गर्दा ठुलो खर्च बेहोर्नु परेको र अर्कोतिर खेतलाई धेरै गहिरो खनजोत गर्दा खेतको उर्बराशक्तिमा कमी आउने गरेको छ। तर, किसानले लगाउने धान, गहुँ, मकै जस्ता बालीको जरा रुख जस्तो तल नगएर माथि नै बस्ने भएकाले खेतलाई धेरै खनजोत गर्न आवश्यक नभएको बालीमा गरिएको अनुसन्धानले देखाइसकेको छ। त्यस्तै पहिला खेतमा लगाएको बालीको ठुटालाई खेतमै राख्दा त्यसले मलको काम गर्ने भएकाले ठुटा नष्ट गर्दा मलको प्रयोग बढी गर्नुपर्ने भएकोले पनि ठुटा फाल्नुभन्दा खेतमै राख्नु बढी उपयुक्त देखिन्छ। जहाँसम्म झारपातको कुरा गर्नु भएको छ, खेत खनजोत नगरी जिरो टिलबाट खेति गर्दा खेतमा उमि्रने अनावश्यक झारपातलाई नष्ट गर्न हामीले किसानलाई विभिन्न किसिमका झारपात नाशक औषधिको प्रयोगको सुझाव दिने गरेका छौ , जो खेत गोडाईको तुलनामा अत्यन्तै कम खर्चिलो हुन्छ।



झारपात नाश गर्न प्रयोग गरिने विषादीको प्रयोग गरेर उत्पादन भएको  बालीले मानव स्वास्थ्यमा नकारात्मक असर गर्र्दैन ?

झारपात नाश गर्न हाम औषधिको प्रयोग गर्छौ जुन औषधि खेतमा भएको झारलाई नियन्त्रण गर्ने औषधि मात्र हो। यसले खेतमा लगाएको बालीलाई कुनै असर गर्दैन। बालीसँगै उम्रेको झारपातलाई नियन्त्रण गर्न प्रयोग गरिने औषधिले झारलाई मात्र नाश गर्ने तर बालीलाई कुनै क्षति नगर्ने कुराले पनि प्रमाणित गर्छ। हामीले बुझ्नुपर्ने कुरा के हो भने बिषादि र औषधिमा फरक छ। झारपात नाश गर्न हामी औषधिको प्रयोग गर्छौं न कि विषादिको।



यो प्रविधिको प्रयोगबाट किसानलाई के के फाइदा हुन सक्छ ? 

खनजोत नै नगरी खेति गर्दा खनजोतमा हुने खर्च बचत हुने, खनजोत गरी गरिएको खेतिको तुलनामा बिना खनजोत प्रविधिबाट गरिएको खेतिमा पानीको मात्रा कम लाग्ने भएकाले सिचाइँको खर्चमा बचत हुने, मलखाद र बीऊमा पनि झन्डै २५ प्रतिशतको बचत हुने, खेतिको बोवाई, रोपाई र गोडाईजस्ता काममा लाग्ने मजदुरको ज्यालामा बचत हुनुका साथै समयमा खेति लगाउँदा  कम समयमा बढी उत्पादन हुने भएकाले यो प्रविधिको प्रयोगबाट किसानलाई फाइदै फाइदा छ।



हाल जिरो टिल सिड ड्रिल मेशीनको प्रयोगकर्ता नेपालमा कति छन र अन्य किसानलाई यो प्रविधि कसरी उपलब्ध गराउन सकिन्छ ?

यो प्रविधि हाल नेपालका ६ जिल्ला बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी र रुपन्देहीमा लागू भइसकेको छ भने अन्य जिल्लामा विस्तार हुने क्रममा छ। यसको प्रयोगकर्ता हालसम्म करिब एक हजारदेखि १२ सयसम्म रहेका छन्। जिरो टिल सिड ड्रिलको कुल लागत करिब ८० हजार रुपैयाँ पर्न जान्छ। यो प्रविधि  जोसुकै किसानले पनि प्रयोग गर्न सक्छन्।



नजवुल्लाह अन्सारी, सिसा परियोजना

Post a Comment

 
Top