0

जुहारी

कम्प्युटर नं. १ ...

‘हेर्छु म पनि कसरी जेल हाल्दो र’छ, त्यसको बाउको बिर्ता हो ?’ श्रीपेच लगाएको राजपरिवारको तस्वीरतिर हेरेरै उनले आगो ओकले । लगाइरहेको ढाकाको टोपी फुकालेर भुईँमा पछार्दै कम्प्युटरको किबोर्ड समाए । लेखे,
‘कसैको बाउको बिर्ता होइन यो देश । सबैलाई आफ्नो गर्ने हक छ ।’

कम्प्युटर नं. २ ...
‘ए हजुर, हेरिस्यो त, प्रतिगामीको झटारो आयो ।’
श्रीमतीको यो नोटिफिकेसनसँगै उनले आँखा तन्काए
‘खै खै मेरो चस्मा ले त मानुषी ।’ उनले ल्यापटप तानेर हेरे । कम्पारो तात्यो । मुड्कीले टेबल ठोके ।
‘के टेबल ठोक्नुहुन्छ, कमेन्ट ठोक्नुस् न । अनि स्टाटस ठस ठस पार्दिनुस्, तेस्को नाकको दुलोमा ।’
श्रीमतीलाई आगोमा घ्यु कतिबेला हाल्ने भन्ने राम्रोसँग थाहा छ । उनी पहिलो गाउँमा हुँदा दाउरा बालेरै खाना पकाउने गर्थिन्, अचेल धेरै भयो, धुँवाको गन्ध नसुँघेको । त्यसैले त श्रीमानको दिमाग तातेको पनि चाँडै थाहा पाउँछिन् ।
‘के लेखुँ भन त ?’ श्रीमतीबाट राम्रो सुझावको आशा गरे उनले ।
‘के थाहा ? त्यत्रो डाक्टरी गरेर पनि मलाई सोध्ने ? लेख्नु नि त्यसको घाँटी थिचिने गरी ।’
सक्सकाएका औंलाहरु कम्प्युटरका किबोर्डमा नाच्न थाले, ‘राजासँग मिलेर ढुकुटी चुस्दा जनतालाई हक दिनुपर्छ भन्ने ख्याल भएन, अनि अहिले चाहिँ केको हक खोज्छौ ? फेरी पनि शासक बन्ने सपना देख्ने तिम्रा राजालाई पाता फर्काएर जेलमा कोचिदिन्थे म प्रधानमन्त्री भएको भए ।’
यति लेखिसकेर इन्टर बटन दबाए । ‘लु हेर, बुढी, लेख्दिएँ मैले त । आज चाहिँ यसको चुरीफुरी नझारी छाड्दिनँ ।’

कम्प्युटर नं. १ ...
‘म छु नि हजुर, हजुर निश्चिन्त होइबक्स्योस् । अब फेसबुकबाटै भएपनि यसको उछित्तो काढ्नुपर्छ । फेसबुकले पनि जनमत बनाउँछ नि हजुर ... ’ फोनमा उनले कसैलाई आफ्नो प्रगती जाहेर गर्दैथिए । नुन र गुनको सोझो कुरा थियो त्यो, यो कुरा छेउमा भुईँ पुछिरहेको दुःखीलाललाई थाहा थियो । हलिया मुक्तिपछि लोकतन्त्रले उसलाई शहर तानेको थियो । लोकतन्त्र, गणतन्त्र, संविधान केके जाति शब्दहरु आक्कल झुक्कल सुन्दा सुन्दै कण्ठ भइसकेको थियो । तर बुझेको भने थिएन । उसले बुझेको यौटै कुरो, राम्रोसँग भुई सफा गर्नुपर्छ, कहिँ कतै हिलो, धुलो देखिनुहुँदैन, वस् ... । ऊसँगै सहर पसेको दयारामले चार वटा पार्टी फेरेर अहिले यौटा पार्टीको मजदुर प्रमुख छ । तर दुःखीराम भने सधै दुःखीका दुःखी ।
फोन राखेलगत्तै उनको ध्यान कम्प्युटरको म्यासेज नोटिफिकेशन धुनले तान्यो । उनी मनिटर अघि आए । मेसेज आएको थियो । ‘मेरो वालमा हेर, था पाजी हिहिहि ... ’ अनि तल्तिर गिज्याएको इमोसन पिक्चर ।
‘कस्लाइ पाजी भनिस्, ए ... ?’ लेखिसकेको पनि मेटाए उनले । ‘जंगली ... ’ उनले फुसफुस आवाजमा भने अनि स्टाटस हेर्न थाले । हेर्दा हेर्दै कन्पारो तात्यो । तिम्रा राजा रे ? उहिले चाहिँ राजतन्त्र मान्छु भनेर मसँग खासखुस गर्ने, अनि अहिले विपक्षीसँग राजाको सहकार्य हुन लाग्दा चाहिँ जेलमा कोच्नुपर्ने ? दुईजिब्रे ।
उनले लेखे,
‘राजासँग गिड्गिडाउँदै राष्ट्रपती बनिदेऊ भन्ने तिमी नै होइनौ ? अहिले अरु मिल्न लागेको देखेर किन आत्तिन्छौ ए दामरेड ?’
‘लु, ऐत्ति भएपछि पुग्छ क्यारे ।’ उनले कम्प्युटर बन्द गरे ।

कम्प्युटर नं. २ ...
‘छाड्देऊ तिमी यस्ता बकम्फुसेसँग । तातो न छारो । फेसबुकमा बाझेर बस्नु भन्दा गाउँ जाऊ । चुनाव आइसक्यो । तिमीलाई फेसबुकमा भुलाएर चुनाव जित्ने दाउ हुन सक्छ प्रतिगमनकारीको । म चाहिँ गएँ पार्लर । हेर न मेरो कपालको रंग कति चाँडै उड्यो ।’
‘गाउँ त जाउँला नि । तर यो था पाजीलाई त ठिक पारुँ । यस्ता धेरै था पाजी हाम्रो गाउँमा पनि छन् । हामी सहर पसिहाल्यौं । यिनीहरु राहत बाँड्ने भन्दै गाउँ पस्दैछन् । नयाँ था पाजी पनि धेरै जन्मीसके होलान् अब त । तर बुझ्यौ, एक एक लाई तह लाउँछु ।’
म्यासेज नोटिफिकेशनको आवाजले उनको ध्यान तान्यो । हेरे । लेख्याथ्यो, ‘के म्यासेज हेरिरा’को काम नपाएर ? स्टाटस हेर खाओवादी दामरेड ।’
अनौठो, पेचिलो तर कता कता अपनत्व अनुभव हुन थालेको छ उनलाई दाम र खाम शब्दसँग । तर अहिले भने मुड अर्कै थियो । राँक्किँदै च्याटमा लेखे, ‘खान्छु त । तिमेरुले मात्रै खानुपर्छ भन्ने छ ?’
अनि एक छिन छट्पटाएर स्टाटस ठोके, ‘राजालाई राष्ट्रपती बन भनेकै हो । तर ... तर ... ’ त्यसपछि लेख्ने उपयुक्त शब्द नै भेटेनन् ।
हिमाल दहाल

Post a Comment

 
Top