0

अख्तियारले प्रचण्डलाई पनि नछोड्ने
 २४ साउन ।
    माओवादी लडाकुको नाममा तत्कालीन नेकपा माओवादीका उच्च तहका नेता तथा कमाण्डरहरुबाट भएको अर्बौं भ्रष्टाचारको चर्चा लगातार चल्दै आएको छ । आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले यस विषयलाई थप चर्चित तुल्याइदिएका छन् । माओवादी लडाकूको नाममा भएको भ्रष्टाचारको छानबिन कार्य आयोगले अन्तिम चरणमा पुर्याएको र यसमा संलग्न भएको प्रमाणित हुने कुनै पनि तहका नेता वा अन्य व्यक्तिलाई उन्मुक्ति नदिइने अभिव्यक्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त कार्कीले बीबीसी नेपाली सेवामा अन्तरवार्तामार्फत् दिएपछि यस प्रकरणको चर्चा चुलिएको हो । 
पूर्वलडाकूको नाममा २० अर्ब रुपैयाँ भ्रष्टाचार भएको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डसहितका नेताविरुद्ध उजुरी परेको थियो । उजुरीमा ४ अर्ब रुपैयाँ हुँदै नभएको लडाकूको नाममा र १६ अर्ब लडाकूको नाममा भ्रष्टाचार गरिएको जिकिर गरिएको छ । एमाओवादी अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कृष्णबहादुर महरा, वर्षमान पुन, नन्दकिशोर पुन र जनार्दन शर्माले सो रकम भ्रष्टाचार गरेको जिकिर उजुरीमा गरिएको छ ।
जतिसक्दो चाँडो त्यो भ्रष्टाचारको छानबिन पूरा गरिने प्रमुख आयुक्त कार्कीले अन्तरवार्तामा जनाएका छन् । छानबिनको दायरामा जतिसुकै ठूलो व्यक्ति आए पनि नछाडिने उद्घोष उनले गरेका छन् । सबैभन्दा उच्च व्यक्तिकै संलग्नता देखियो भने पनि हामी कारबाही गर्छौं भनी कार्कीले दिएको अभिव्यक्तिले प्रचण्डतर्फ इशारा गरेको छ । यसअघि कार्कीलाई आयोगमा नियुक्त गर्न प्रचण्ड नै लागिपरेका भनी आलोचकहरुले टिप्पणी गर्दै आएका थिए । कार्कीलाई एक हक्की व्यक्तिका रुपमा प्रशंसा गर्नेहरुको पनि कमी छैन ।
अन्तरवार्ताको क्रममा प्रमुख आयुक्त कार्कीले नक्कली भ्याट बिलमा १ हजार ६ सय ५० जना दोषी पाइएकाले अन्तिम चरणको छानबिन भइरहेको रहस्योद्घाटन पनि गरेका छन् । आन्तरिक राजस्व विभागसँग मिलेर गरिएको छानबिनमा पहिलो चरणमा ती व्यापारीहरूले नक्कली भ्याट बिल बनाएर राजस्व छली गरेको पाइएको कार्कीले खुलासा गरे । त्यसको नतिजा पनि चाँडै आउने उनले जनाए । अहिलेसम्म २ सय ५० जना अकूत सम्पत्ति छानबिन भइरहेको जानकारी पनि कार्कीले दिए । भ्रष्टाचारीहरुमाथि कारबाही भएको जनताले छिट्टै देख्न पाउने प्रमुख आयुक्त कार्कीको कथन छ ।

Post a Comment

 
Top