संस्मरण-
आमाको ओछ्यानमा सुत्न छाडिदिएँ
सीता पाण्डे
हाम्रो परिवार ठूलो थियो- छोराछोरी मात्र दस जना । अहिले सम्झँदा मलाई कहाली लाग्छ, भीरको बाटो हिँड्दा तल ठूलो नदी देखेजस्तो म आत्तिन्छु । मेरी आमाले यत्तिका छोराछोरी (त्यो पनि करिब-करिब बर्सेनीजस्तै भने पनि हुन्छ) के गरी हुर्काउनुभयो होला ? हुन त त्यस बेला मलाई यी कुराको परवाह नरहने मात्र होइन, ख्याल पनि रहँदैनथ्यो कि छोराछोरी हुर्काउनु वा जन्माउनुको पीडा वा व्यथा कस्तो हुन्छ । खासगरी मैले छोरो जन्माएपछि साँच्ची नै मलाई थाहा भयो यसको ‘पीडा’ वा ‘आनन्द’ दुवै कुराको आनन्द ? तपाईं भन्नुहोला पीडाको कुरा गर्दागर्दै फेरि आनन्दको कुरा कसरी आयो ? यसबारे म पछि कुनै बेला चर्चा गरौँला । तर अहिले पीडाकै कुरा राख्छु ।
आजभोलि पनि मैले कुनै गर्भवती आइमाई बाटोमा हिँडिरहेकी, चौतारीमा सुस्ताइरहेकी, आँगनमा उभिइरहेकी, बसमा झुन्डिरहेकी वा कारमै गुड्दै गरेकी देखेँ भने पनि झट्ट सम्झिन्छु- दुई-तीन वर्ष उसको त्यसै खेर जाने भो या मजाले दुःखसित खेल्नुपर्ने भो भनेर । म भित्रभित्रै अमिलिन्छु ।गर्भवती आइमाई जति सम्पन्न भए पनि थुप्रै यस्ता कुरा हुन्छन् जुन कुरा उसले बाहेक अरूले गर्न प्रायः असम्भव हुन्छ । ठूलो भएपछि कसैले स्याहार सुसार गर्यो भने पनि आफ्नो सन्तानलाई हुर्काउनु भनेको आफूसमानको दुई जना व्यक्तिसित बिनाहातहतियार लड्नु-भिड्नुजस्तै कठिन कुरा हो’ मलाई लाग्छ ।अँ त, म आफ्नो परिवारिक पृष्ठभूमिको आँगनमा उभिएकी थिएँ क्यार । त्यसबेला हामी सम्पन्न पनि थिएनौँ । तर विपन्न भन्न पनि त्यति सुहाउँदैनथ्यो होला । सायद हमी निम्नमध्यवर्गभित्र पर्दथ्यौँ । गरिबी जन्मजात छालाजस्तै टाँसिएर त आउँदैनथ्यो । तर क्रमशः एक पछि अर्को सन्तान जन्मिदै जाँदा शरीरमा दाँत उमि्रएजस्तै, नङ-कपाल बढेजस्तै हाम्रा आवश्यकताहरू हलक्क बढ्दै जान्थे । गरिबी झन्-झन् झ्यागिँदै, मौलाउँदै माथि-माथि उक्लिरहेको हुन्थ्यो । हाम्रो परिवारको थाँक्रो भने गरिबीको यस हरियालीभित्र कतै लुकेको थियो ।
त्यस बेला आमासित सुत्नका लागि हामीबीच होडबाजी चल्थ्यो तर दूध खाइरहेको बच्चा छ भने पहिले त्यसले मौका पाउँथ्यो । यदि त्यो छैन भने सबैभन्दा पछिल्लोले मात्र आमासित सुत्ने सौभाग्य पाउँथ्यो । त्यसो त दुई-तीन जनाले एकैपटक आमाको दूध खान प्रयत्न नगर्ने पनि होइन । यस्तो किन हुन्थ्यो, त्यो अब यहाँ भनिरहनु नपर्ला ।म केही ठूली भइसकेकी थिएँ । त्यसबेला सायद तेह्र चौध वर्षकी थिए कि ! तर पनि आमासित सुत्ने तिर्सना भने मेटिएको थिएन । त्यसो त हामी आमासित सुत्न नपाए पनि बेलाबखत आमाको ओछ्यानमा केही समयका लागि पल्टिन्थ्यौँ, खेल्थ्यौं झगडा गथ्यौँ । हामी अलि ठूला केटाकेटीहरू हजुरआमासित माथिल्लो तलामा (त्यसबेला नयाँ घर बनिसकेको थियो) सुत्थ्यौँ । तर आमाको ओछ्यान भान्साकोठाको नजिकै भुइँतलामा थियो, जसले गर्दा हामीलाई त्यहाँ जान र सुत्न सजिलो र आरामदायी त छँदै थियो, त्यसबाहेक पनि आमाको ओछ्यानमा सुत्ने मोह त्यसै पनि थियो ।बर्सेनी छोराछोरी जन्माएर पनि होला, प्रायः गरी आमा ओछ्यान पर्नुहुन्थ्यो अथवा नपरे पनि बिरामीभन्दा कम देखिनुहुन्नथ्यो ।
कुनै एक साँझ
भान्साघरमा कल्याङमल्याङ सुनिथ्यो । केटाकेटीहरू मलाई यो पुगेन, त्यो पुगेन वा उसलाई किन बढी ? मलाई किन कम ? भनेर निहुँ खोज्दै, झगडा गर्दै थोरै खाँदै थिए, धेरै पोख्दै थिए । त्यस दिन कसो भएर हो मैले पहिले नै खाइसकेकी थिएँ । अनि मौका भेट्टाएँ भनेर झटपट आमाको ओछ्यानमा मुख छोपेर एक्लै आनन्दले गुटमुटिएँ । केहीबेरपछि कसैले बिस्तारै सिरक तान्यो ।
मैले सोचेँ कुनै भाइबहिनी आइपुगेछ र घुसि्रन कोसिस गरिरहेको छ । मैले उसलाई छिर्न नदिने हिसाबले झन् सिरक च्यापेँ । “कान्छी ! ए कान्छी ! किन यति छिट्टै सुतिस् ?” अप्रत्यासित बुबाको आवाजले म तर्सिएँ । उनी अझ कामुक स्वरमा भन्दै थिए, “खै ! मलाई पनि अलिकति ठाउँ दे ।”म आत्तिएँ । के गरौँ, कसो गरौँ भएर भित्रभित्रै छटपटिएँ, डराएँ । “खै यता आ ।” उनी झन्डै टाँस्सिन आइपुगे । मलाई एकातिर डर थियो, अर्कोतिर लाजले झन्झन् खुम्चिन थालेँ । अन्त्यमा उनले बलपूर्वक सिरक ताने । म विवश हेरिरहे, सहिरहेँ ।मलाई देखेपछि उनी तुरुन्तै त्यहाँबाट हिँडे । सायद उनी पनि आफैँदेखि लज्जित भए कि ! मलाई थाहा छैन । त्यस अँध्यारोमा मैले उनको अनुहार नियाल्न सकिनँ । न त मसित त्यो गर्ने साहस र आँट नै थियो । तर एउटा कुरा, त्यस दिनदेखि मैले आमाको ओछ्यानमा सुत्न छाडिदिएँ ।
(पाण्डेको सस्मरण संग्रह यौन र अनुभूतिबाट)
Post a Comment