0

कृष्णप्रसाद अधिकारीप्रति प्रचण्डको आक्रोश 

prachanda1     एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालीन मुद्दालाई उचालेर संविधानसभाको निर्वाचनको प्रक्रिया भाँड्न खोजिएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले द्वन्द्वपीडितको नाममा गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको घटनालाई नाटकीयरुपमा प्रचार गरिएको र समग्र शान्ति प्रक्रियाको जगलाई नै भत्काउन खोजिएको आरोप लगाए ।
जनयुद्धको समयमा २०६१ सालमा घटेको अधिकारीको घटनामा  स्थानीय चितवन पार्टीले त्यतिबेलै स्पष्ट पारिसकेको बताउँदै प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यक्षेत्रभित्र पर्ने सो घटनालाई अनुचितरुपमा उचालिएको बताए ।
सो घटनासँग कुनै पनि सरोकार नै नभएकी एमाओवादी सम्वद्ध नेवा राज्य समितिका सदस्य जानुका पौडेललगायतका नेता तथा कार्यकर्तालाई आरोपित गरिनु, उनीहरुलाई सार्वजनिकरुपमा गाली बेइज्जती गरिनु अपहरणको धम्की दिनुजस्ता प्रकरण अदृश्य गुरुयोजनाअन्तर्गत भइरहेको समेत उनको भनाई छ ।
‘सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेशविरुद्ध लागेका व्यक्ति र शक्तिहरु नै दोस्रो संविधानसभाको निर्वाचनको मुखमा अधिकारीको मुद्दा चर्काउन क्रियाशील देखिनुले सङ्क्रमणकालीन राजनीतिक अवस्था र शान्ति प्रक्रिया भाँड्ने गम्भीर षड्यन्त्र भइरहेको सबैले बुझ्नु जरुरी छ । उनले भनेका छन् ।
आफ्ना कान्छा छोरा कृष्णप्रसाद अधिकारीको हत्यारामाथि कारबाही गरिनुपर्ने माग गर्दै  विगत केही दिनदेखि आमा गङ्गामाया अधिकारी र बाबु कृष्णप्रसाद अधिकारी वीर अस्पतालको आकस्मिक कक्षमा अनसनमा बसिरहेका छन् ।

प्रेस–वक्तव्य

एकात्मक सामन्ती राजतन्त्रात्मक व्यवस्थाका विरुद्ध तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा संचालित दशवर्षे जनयुद्धको क्रममा दशौं हजारको ज्यान गएको र अन्य हजारौं वेपत्ता भएको तथ्य सर्वविदितै छ । तीमध्ये करिब ८० प्रतिशत घटनामा तत्कालीन राज्य पक्ष र वांकी करिव २० प्रतिशत घटनामा तत्कालीन विद्रोही पक्ष जिम्मेवार रहेको तथ्य पनि जगजाहेरै छ । २०६३ मंसीरमा सम्पन्न वृहद् शान्ति–सम्झौता र नेपालको संविधान, २०६३ वमोजिम सत्य–निरुपण तथा मेलमिलाप आयोग मार्फत् द्वन्दकालीन सवै घटनाहरुको छानवीन र व्यवस्थापन गर्नु पर्नेमा आयोगको गठन सम्वन्धी अध्यादेश हाल सर्वोच्च अदालतमा विचारधीन रहेकाले सो प्रक्रिया अवरुद्ध रहेको कुरा यहां स्मरणीय छ । यो स्थितिमा केही व्यक्ति र संघ–संस्थाहरुले समय समयमा द्वन्दकालीन केही घटनाहरुलाई आफुखुशी टिपेर प्रचारवाजी गर्ने गरेको र अहिले गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारीको घटनालाई नाटकीय ढंगले उचालेर समग्र शान्ति–प्रक्रियाको जगलाई नै भत्काउन खोजेको विषयप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
सर्वप्रथम, जनयुद्धको उत्कर्षकाल २०६१ सालमा घटेको र तत्कालीन हाम्रो पार्टीको चितवन जिल्ला कमिटीले त्यतिबेलै सप्रसंग स्पष्ट गरिसकेको सो घटना सत्य–निरुपण तथा मेलमिलाप आयोगको कार्यक्षेत्रभित्र पर्नेबारे कुनै शंका रहंदैन । सोही अनुरुप संविधानतः अधिकार प्राप्त निकाय महान्यायाधिवक्ता कार्यालयले २०६९ मा सो सम्वन्धी मुद्दा सामान्य प्रक्रिया अन्तर्गत चल्न नसक्ने निर्णय गरिसकेको व्यहोरा हामी स्मरण गराउन चाहन्छौं । दोस्रो कुरा, घटना घटेको तीन वर्ष पछि मात्रै रिसइवीवश सो घटनामा कुनै सरोकार र संलग्नता नरहेको हाम्रो पार्टीका नेवाः राज्य समिति सदस्य जानुका पौडेल लगायत जिम्मेवार नेता तथा कार्यकर्ता र सर्वसाधारण गाउंले किसानहरुलाई आरोपित गर्नु र अहिले वहांहरुलाई सार्वजनिक गालीवेइज्जति गर्नु, हत्यारा अपहरणको धम्की दिनु, फिरौती रकम माग्नु, प्रहरी तथा जिल्ला प्रशासन कार्यालयमा हुलदंगा गर्नु आदिबाट यो प्रकरण कसैको कुनै अदृश्य गुरुयोजना अन्तर्गत भैरहेको सहजै वुझ्नसकिन्छ । साथै सत्य–निरुपण तथा मेलमिलाप आयोग सम्वन्धी अध्यादेशको विरुद्धमा लागेका व्यक्ति र शक्तिहरु नै अहिले दोश्रो संविधानसभा निर्वाचनको मुखमा यो मुद्दा चर्काउनमा वढी क्रियाशील देखिएकाले यस्ता घटनाहरुलाई वहाना वनाएर देशको संक्रमणकालीन राजनीतिक र शान्ति प्रक्रियालाई भांड्ने गम्भीर षड्यन्त्र भैरहेको सवैले वुझ्न जरुरी छ ।
वास्तविकता यस्तो छ“दाछंदै हालै मानवअधिकार आयोगले द्वन्दकालीन केही अमुक मुद्दालाई अघि वढाउन सरकारलाई निर्देशन दिएको र अन्तरिम चुनावी सरकारले विषयको गम्भीरतालाई वोधै नगरी त्यही दिशामा उद्यत हुने प्रयत्न गरिरहेको घटनाप्रति हाम्रो पार्टी गम्भीर आपत्ति र विरोध जनाउंछ । यसरी नै वर्तमान राज्य पक्षले वृहद् शान्ति सम्झौता र अन्तरिम संविधानको उल्लंघन गर्दै जाने र वढी मर्कामा परेको तत्कालीन विद्रोही पक्षले पनि तत्कालीन राज्य पक्षबाट भएका हत्या र वेपत्ताको घटनामा एकएक गरी मुद्दामामिला वा अनसन, हड्ताल लगायत विरोध कार्यक्रम गर्दै जाने हो भने कसको स्थिति के रहला र देश कहां पुग्ला वेलैमा सोच्न हामी सम्वन्धित सवैलाई आग्रह गर्दछौं ।
यो स्थितिमा हाम्रो पार्टी द्वन्दकालीन सवै घटनाहरुलाई वृहद् शान्तिसम्झौता अनुरुप सत्य–निरुपण तथा मेलमिलाप आयोग मार्फत् हल गर्न यथाशिघ्र सो आयोगको गठन गर्ने दिशँमा पहल गर्न वर्तमान सरकारसंग गम्भीर आग्रह गर्दछ र कुनै अमूक घटनालाई अतिरञ्जित ढंगले उचालेर शान्ति प्रक्रिया र सहमति तथा समझदारीको वातावरण विथोल्ने गैर–जिम्मेवार प्रवृत्तिलाई निरुत्साहित गर्न सवै राजनैतिक दल, मानव अधिकारकर्मी, नागरिक समाज, संचारजगत र आम जनसमुदायमा जोडदार अपील गर्दछ । अन्यथा ऐतिहासिक जनयुद्धको नेतृत्वकर्ता र वृहद् शान्ति सम्झौताको पहलकर्ता तथा हस्ताक्षरकर्ताको नाताले हाम्रो पार्टी आवश्यक गम्भीर कदम चाल्न वाध्य हुने चेतावनी पनि सम्वन्धित सवैलाई दिन चाहन्छ ।
२०७० श्रावण २९
…………………
(प्रचण्ड)
अध्यक्ष
एकीकृत ने.क.पा.(माओवादी)

Post a Comment

 
Top