खादा ओढेर सम्मान लिने हो ? एन आर एनको बेइज्जत गर्नुस्
(चिन्नुभो हैन ? सबैभन्दा राम्रो गर्नेको घाँटीमा सबैभन्दा धेरै खादा । अझ नपुगेर देब्रेतिरबाटपनि खादा ओढाउन तम्तयार छन् अर्को एक जना । अनि यस्तो महान काम गरेबापत फोटो खिचेर अझै विश्वभरि फैलाउन क्यामरा तेसार्दै अर्का एक नेपाली)
तपाईलाई सम्मानित हुन रहर छ भने सजिलो छ । मञ्चमा माला लगाएर आदरणिय, उदाहरणिय बन्न मन छ भनेपनि मुश्किल छैन । एन आर एनको महत्वपूर्ण पद लिनुस् । नजितुन्जेल यसो गर्छु र उसो गर्छु भनेर खुब योजना सुनाउनुस् । जितेपछि गुण्डा पाल्नुस् । ट्याक्स स्याक्स छलेको, आफैंले जोडजाम गरेको पैसो खर्च गर्नुस् अलि अलि । अनि पाल्नुस् केहि मान्छे । थाल्नुस् डाङडुङ गर्न । एन आर एनको सक्दो बेईज्जत गर्नुस् । हरेक कार्यक्रम , तर गालि गरेको, डाङडुङ गरेको, मान्छे शुन्य उपस्थिति, सदस्य घटेको यस्तै यस्तै हा हु हुने खालको । चर्चित होस् । अनि मरेका मान्छेका नाममा बन्ने स्मारकमापनि भाग चाहिन्छ भन्दै उफ्रिनुस्, बखेडा झिक्नुस् । कोटिहोममा कम्मर मर्काई मर्काई नाच्नुस् । बेद, पुराण, चण्डीसण्डी समातेर पुरेतकै अगाडि कसम खानुस् यति र उति दिन्छु भनेर । छमछमी नाच्नुस् भजनको तालमा । तर पछि दिने बेला नारि निमोठ्नुस् ।
एनआरएनका सदस्यहरुलाई आफुसित कुरो नमिले चिठि काट्नुस्, समितिबाट निकाल्ने धाकधम्कि दिनुस् । विश्वभरि बदनाम र असफल पार्नुस् एन आर एनलाई । राजदूतको चाकरि धस्काउनुस् । वरिपरि हिँड्नुस् । कार्यक्रममा कहिल्यै नछुटाउनुस् । अनि कांग्रेसको शुसिल कोइराला खेमा र शेरबहादुर देउवा खेमा फेरेको फेर्यै गर्नुस् । यो महिना कोइराला खेमामा । अर्को महिना फेरि यस्सो के र कुन पद दाउ पर्छ वा के मिल्दैन अनि देउवा खेमातिर बदल्नुस् । त्यति गर्नु भो भने तपाई अब्बल दर्जाको नेता, ठूलो समाजसेवी । तपाईलाई खादा ओढाउँछन् । आदर्णिय ब्यक्तित्व भनेर सम्मान गर्ने छन् । पत्याउनु भएन ? एन आर एन बेल्जियमलाई हेर्नुस् त ।
एन आर एन बेल्जियम विश्वमा सबैभन्दा बढि बेइज्जति कमाएको नेपाली संस्था हो भन्नेमा त द्विबिधा छैन होला नी । अनि त्यस्तै बेइज्जति कमाएकै संस्थाकि अध्यक्ष जानकी गुरुङले टाउको यस्सो निहुरि पार्दै खादा ओढिन । खुब सफल कार्यकाल भन्दै उनलाई खादा ओढाइयो । खादापनि एउटा हो र ? थुप्रै । धेरै राम्रो काम गरेकाले, एन आर एनलाई विश्वमै बेइज्जतै गराउन सकेकाले धेरैले मन पराएर होला । खादापनि धेरैलेनै ओढाए । गला त टम्म भरिएको खादै खादाले ।
बदनाम गराउने त समितिका सबैनै हुन् । तर त्यसको मुख्य नेत्रित्वकर्ता अध्यक्ष जानकीनै थिईन् । र कतिपय निर्णय त मनपरि गरेको भन्दै बैठक र बाहिर उनको बिरोधनै गरेका थिए, समितिकै अन्य सदस्यले । त्यसैले एन आर एनलाई विश्वमै चिनाउने मुख्य नेत्रित्वकर्ताका हिसाबले उनले धेरै खादा ओढेकि होलिन् । त्यसैले अरुका घाँटीमा कम देखिन्छन् ।
तर ओढाउनेले त ओढाए । देख्नेले के भने नि पछाडि बाट ? ‘ए ए यस्तो पो काम गर्नुपरेन् रैछ सम्मानित हुन । बदनाम हुनुपर्ने काम गर्नुपर्दो रैछ । बेल्जियममा नयाँ तरिका देख्न पाइयो । यस्तो राम्रो कामको त अब बेल्जियममा सबैले सिको गर्नुपर्छ ।’ कोहि चाहिँ ‘हैन के देख्नु पर्या हो यस्तो ? लाजपनि नहुने गाँठे खादा ओढ्न, अबिर घस्न । नाकनै थुन्न मन लाग्यो गन्हाएर ।’
नयाँ समितिले त ओढाउनेनै भयो । किनभने आफ्नो कार्यकाल सक्किँदापनि त्यसैगरि नयाँ आउनेले आफुलाईपनि ओढाउला भन्ने आशा हुँदो हो । तर संसारभरि गन्हाएर, कुनै कामपनि सफल गर्न नसकेर, संस्थालाईनै बदनाम गराएर, नेपालीले आँटेका काममा भाँजो मात्रै हालेर पद त्याग गर्दापनि कसरि खादा ओढ्न सकेको ? यसैलाई भन्छन् होला सायद ‘आची गर्नेलाई भन्दा देख्नेलाई लाज ।’
Post a Comment