जेलबाट छुटेपछि खुमबहादुरको यस्तो अपिल
– भ्रष्टाचारको आरोपमा जेल जीवन बिताएर छुट्दा कांग्रेस नेता खुमबहादुर खड्काले तामझाम र तडकभडक मात्र देखाएनन्, उनले यो जेललाई समेत राजनीतिक कारावासको रुपमा जोडेका छन् ।
जेलबाट छुटेपछि उनले निकालेको अपील यस्तो छ :
एउटा नियोजित र दुखद चरणपछि म फेरि तपाईं नेपाली दिदिबहिनी दाजुभाइ माझ उपस्थित भएको छु । कारागारबासको लगभग १४ महिनाको समयमा मलाई कहिल्यैपनि आफूमाथि न्यायपालिकाबाट भएको अन्यायले सताएन, वास्तवमा मैले त्यसबारे सोच्दै सचिन ।
म सधैं मुलुकको अवस्था, खतरामा परेको राष्ट्रियता र प्रजातन्त्र तथा अराजकतातर्फ उन्मुख मुलुक अनि नेपालीका रुपमा तपाईं हाम्रो सामुहिक पहिचाको भविष्यलाई कसरी सुनिश्चित गर्नेमा मात्र डुबी रहें । यिनै विषयमा आफ्ना चिन्ता व्यक्त गर्न काराकारवासमा सयौंको संख्यामा दैनिक भेटघाट गर्न आउनुहुने सबैमा यसै अपीलबाट म हार्दिक आभार समेत व्यक्त गर्दछु ।
म नेपालको राष्ट्रियता र प्रजातन्त्रबीच सुदृढ सम्बन्ध स्थापना गर्ने लक्ष्य सहित श्रद्धेय नेता बी.पी. कोइरालाको राष्ट्रिय एकता र मेलमिलाप नीनिको अनुयायीका रुपमा भारतमा विताइरहेको लामो निर्वासन समाप्त गरि वहाँसगै २०३३ पौष १६ गते पटनाबाट स्वदेश फर्केको थिएं ।
२६ वर्षको त्यसबखतको मेरो जीवन जति राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रप्रति समर्पित थियो आज पर्यन्त त्यसमा कुनै कमि आएको छैन । त्यसपछि सोहि आदर्शका खातिर निरंकुश पञ्चायती व्यवस्थाको काल कोठरीमा मैले आठ वर्ष विताएको थिएँ । बी.पी. को नेपाल पुनर्आगमनपछिको नेपालको राजनीतिक उतारचढाव तथा नेपाली कांग्रेसको मूल्यको स्वीकार्यताले नै २०४६ सालको जनआन्दोलनलाई निर्णायक बनाएको तथ्य हामी सबैका सामु छर्लङ्ग नै छ ।
बी.पी. कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीति श्रद्धेय गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईद्वारा अनुमोदित मात्र थिएन, सिद्धान्त र व्यवहारमा नेपाली कांग्रेसको मार्गदर्शक नीति समेत बनेको थियो । आज नेपाली कांग्रेसले आफ्ना आदर्श नेताहरुको त्यो विरासतलाई त्यागेकोले नै अहिले मुलुकमा यो अन्यौलको स्थिति उत्पन्न भएको छ ।
यो परिस्थितिबाट मुलुकलाई सुनिश्चितता, स्थायित्व र गौरवको मार्गमा लान राष्ट्रियता र प्रजातन्त्रको चौघेरोमा सम्पूर्ण नेपालीलाई ल्याउनु नै सबैभन्दा सम्मानपूर्ण मार्ग हुनेछ, यद्यपी त्यसमा प्रतिबद्धता, समर्पण र त्यागको आवश्यकता पर्छ । किनकी बिपीको मेलमिलापको नीतिका यी प्राण तत्वहरु हुन् ।
म मा तिक्तता छैन । म दोषभावबाट रहित छु । मेरो विवेक र अन्रात्माको नियम र मान्यता मेरा लागि सधैं निर्णायक आदेश रहेका छन् । एउटा राष्ट्रवादी र प्रजातन्त्रवादी नागरिक अनि बी.पी. कोइरालाको अनुयायीका रुपमा मैले अदालती आवरणमा आएको पूर्वाग्रही र अन्यायरुपी विष पिएँ ।
मेरो विरुद्धमा कुनै व्यक्ति वा सँस्थासँग घुस लिए खाएको वा राज्यको स्रोत साधन वा सम्पत्ति हिनामिना गरेको एउटा पनि आरोप प्रमाणित भएको छैन । कुनै कसुर नभेटिएपछि जबरजस्ती अनुमानको भरमा अनुमानित कसुर नाम दिएर मलाई अपमानित गरि नेपाली जनता र राजनीतिबाट टाढा राख्ने दुष्प्रयास गरिएको हो ।
तर यो अन्यायबाट म रत्तिभर विचलित भएको छैन । तपाईं यो देशका सार्वभौम दिदीबहिनी दाजुभाइहरु मेरा अन्तिम निर्णयकर्ता हुनुहुन्छ । त्यसैले म पुनः तपाईंहरुको घरआँगनमा फर्किएको छु ।
अन्तमा बीपी तथा वहाँजस्ता नेताहरुले देखेको नेपाल बचाउन र प्रजातान्त्रिक र संवृद्ध राष्ट्र बनाउन लाखौं नेपालीको ठूलो त्याग र बलिदानबाट स्थापित नेपालीको धरोहर नेपाली कांग्रेस आज विचलनका कारण कमजोर अवस्थाबाट गुज्रिरहेको छ ।
आज रिहाईपछि देशव्यापी भ्रमण गर्दै पार्टीका साथीहरु तथा बुद्धिजीवीहरुसँगको व्यापक छलफलसँगै नेपाली कांग्रेसलाई सशक्त शक्तिका रुपमा खडा गर्ने अभियानमा मैले आफूलाई समर्पित गर्नेछु ।
नेपालको राष्ट्रियता, प्रजातन्त्र, जातीय सद्भाव र एकतामाथि आईपरेको संकट निवारणका लागि सचेत रहन म नेपाली कांग्रेसका नेता, कार्यकर्तासँगै सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाइहरुमा हार्दिक अपिल गर्दछु ।
नेपालको स्वर्णिम भविष्य अर्थात सफल राष्ट्रियता र प्रजातन्त्र, सामाजिक न्याय र आर्थिकरुपमा समृद्ध नेपाल बाहेक मेरो अन्य चाहना नभएको व्यहोरा पुनः म सबैसामु राख्न चाहन्छु ।
Post a Comment