0

होची महिलाले बच्चा पाइन्

 यसपाला उनीहरुका लागि दशैंले बढी नै खुसी ल्याइदिएको छ । घरमा एउटा नयाँ पाहुना पनि थपिएको छ जो अब सँधैका लागि छोरो भएर बस्नेछ ।
बिहावारी गरेपछि छोराछोरी हुनु कुनै ठूलो कुरा होइन । तर लक्ष्मी ढुंगाना र पदम विष्टका लागि यो एक ठूलै कुरा थियो ।
चलचित्र र टेलिभिजनका पर्दाहरुमा सबभन्दा पुड्कीको भूमिकामा देखिने लक्ष्मी भर्खरै आमा भएकी छिन् जसको खुसी उनी शब्दमा भन्न सक्दिनन् ।
मात्र तीन फुट दश इन्छ अग्ली लक्ष्मी र उनको दोब्बर उचाइका श्रीमान पदमबाट शिशु जन्मनु खुसीको कुरा त हुँदै हो । बच्चो स्वस्थ, सामान्य र सुन्दर हुनु झनै खुसीको कुरा हो । बच्चो २ किलो सात सय ग्रामको छ । यो सामान्य हो । 'आमा बन्न पाउनु मेरो लागि संसारकै सबैभन्दा ठूलो खुसी हो,' अस्पतालको बेडमा सुतिरहेकी उनले भनिन्, 'आफुलाई संधै केटाकेटी नै ठान्ने म पनि अब कसैकी आमा भएँ ।'
चिकित्सकका अनुसार शारीरिक रुपमा छोटो कद भएका महिलाले बच्चा जन्माउनु जटिल काम हो । गर्भवती हुनु अघिदेखि ढुङ्गानाको अवस्था नियमित जाचँ गरेकी अल्का अस्पतालकी स्त्री रोग विशेषज्ञ नुतन शर्माले भनिन्, 'उहाँलाई दश महिनासम्म 'स्पेसल केयर' मा राखेर उपचार गरेकी हुँ ।'
'होचो मान्छेले सामान्य किसिमले बच्चा जन्माउनै सक्दैन, शल्यक्रिया गरेर मात्रै बच्चा झिक्न सकिन्छ,' उनले भनिन्, 'सानो शरीर भएका महिलाको 'पेल्भिक आउटलेट' (बच्चा निस्कने बाटो) सानो हुने भएकाले बच्चाको टाउको निस्कनै सक्दैन । त्यसैले शल्यक्रिया अनिवार्य हो ।'
उनका अनुसार यस्ता महिलाको गर्भ रहेपनि बच्चाको विकास राम्रो नहुने, गर्भपतन हुने वा चाँडै शिशु जन्मने जस्ता समस्या देखा पर्छन् । दश महिनासम्म गर्भलाई जोगाएर राख्नै चुनौतीपूर्ण हुन्छ ।
शल्यक्रिया गर्ने समयमा महिलाको ढाडबाट 'एनेस्थोसिया' (बेहोस बनाउने सुई) लगाएर आधा बेहोस बनाउने गरिन्छ । होचो महिलाको ढाडमा सुइ लगाउने ठाउँ भेट्न गाह्रो पर्ने उनी बताउँछिन् । 'लक्ष्मीको पनि धेरै प्रयास गर्दा एनेस्थेसिया लगाउन सकिएन त्यसपछि उनलाई पुरै बेहोस बनाएर शल्यक्रिया गरेका हौं ।' आफुले विशेष हेरचार गरेकाले बच्चा र आमा दुबैको स्वास्थ्य राम्रो भएको उनी सुनाउँछिन् ।
३ फुट १० इन्च अग्ली लक्ष्मी ढुंगाना र पति विष्ट नवजात शिशुको साथ अस्पातलमा ।

विवाह होला कि नहोला, बच्चा होला कि नहोला भन्दा भन्दै सुनसरी इटहरीका बिष्ट घरैमा माग्न आएपछि उनी दङ्ग परिन् । दाजु भाउजुले पनि हर्षले विवाह गरिदिएको लक्ष्मीले सुनाइन् । ०६९ असार १५ मा विवाह गरेपछि बच्चाका लागि बारम्बार चिकित्सकको सल्लाहा लिएको श्रीमान विष्ट बताउँछन् ।
'उनीजस्तै सानो शरीर भएकाले बच्चा जन्माएको थाहा थियो,' बच्चाको बाबु हुन पाएकोमा अत्यन्तै खुसी भएको सुनाउँदै उनले भने, 'मैले बच्चा हुन्छ भन्ने विश्वास गरेको थिएँ, त्यै भयो ।'
टेलिभिजनमा लक्ष्मीको भुमिका देखेपछि उनीप्रति आकषिर्त भएको विष्ट बताउँंछन् । 'जैसीदेवलमा म बसैकै कोठाको छेउको बाटोबाट उनी आउजाउ गरेको देखेपछि साथीहरुसंग कुरा गरेर घरैमा माग्न गएको हुँ,' उनले भने, 'उनका परिवारले पनि एकै बचनमा दिइहाले ।' आफुभन्दा लगभग आधा नै सानी श्रीमती विवाह गरेपछि परिवारका सदस्यले आपत्ति जनाएनन् भन्ने प्रश्नमा उनी भन्छन्, 'टेलिभिजनका पर्दामा देखिरहेकाले होला मेरो परिवार र आफन्तले उनलाई झनै प्यारो गर्नुभयो ।'
लक्ष्मी होचा पुड्का उत्थान समाजकी अध्यक्ष पनि हुन् । उनका अनुसार हालसम्म उनले नेतृत्व गरेकी समाजका ५ जना होचा महिलाले बच्चा पाइसकेका छन् । 'तर ती साथी चार फुट अग्ला थिए' उनले भनिन्, 'सबैभन्दा सानो शरीर भएको अहिलेसम्मको म नै हो ।' उनी २०५१ सालबाट चलचित्र पेशामा लागेकी हुन् ।

Post a Comment

 
Top