0

तेह्रथुम सदरमुकाम म्याङ्लुङमा आगलागी

  • ८ घर जलेर खरानी

 आश्विन २७ - 
तेह्रथुम सदरमुकाम म्याङ्लुङमा शनिबार राति आगलागी हुँदा ८ वटा घर जलेर ध्वस्त भएका छन् । 
बजारको मुख्य चोकबाट सुरु भएको आगलागीमा परी चिरञ्जीविमान श्रेष्ठका ५, जय प्रसाद ढकालको १ र रघुनाथ श्रेष्ठको १ घर पुर्णरुपमा जलेका छन् । आगो नियन्त्रण गर्ने क्रममासँगै जोडिएको नगेन्द्र तिम्सिनाको एउटा घर पूर्ण रुपमा भत्काइएको छ । 
स्थानीय छितिज राईको फेन्सी पसलबाट आगो सुरु भएको हो । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । आगलागीमा ११ वटा पसल जलेका छन् । राती १२ : ३० बजे सुरु भएको आगो अहिले विहान ४ : ३० बजे नियन्त्रणमा आएको छ । 
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, बजारवासी लगायतको संयुक्त प्रयासमा चार घण्टापछि आगो नियन्त्रणमा आएको प्रहरी नायव उपरीक्षक उमाशंकर पञ्जीयारले बताए । आगो निभाउने क्रममा १० जना वढी सुरक्षाकर्मी घाइते भएका छन् । 
रातको समय भएको र सम्पूर्ण शक्ति आगो निभाउन खटिएकाले के कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 
०५९ साल मंसिर २२ गते भएको आगलागीमा यहाँका सवै घर पुनर्निर्माण भएका हुन् । सो आगलागीमा भर्खरै पुनर्निमाण सम्पन्न भएका ८ वटै घर जलेका छन् ।

Post a Comment

 
Top