असोज २६
– दशैं मान्नको लागि झण्डै १५ लाख मानिस बाहिरिएपछि काठमाडौं सुनसानजस्तै हुनुपर्ने हो ।
तर भिड घटेपनि सडकबजारमा चहलपहल चाहिँ देख्न पाइन्छ । पहिलेजस्तो ठेलम्ठेल र घुईंचो चाहिँ छैन । मान्छेको भीड नभएपछि सबैभन्दा बढी आनन्द चाहिँ चिडियाखानाका जनावरलाई भएको छ ।
जनावर स्वभाविक रुपमा शान्त वातावरण मन पराउँछन् । मान्छेको घुईंचो र खैलाबैला उनीहरुलाई त्यति मन पर्दैन । तर चिडियाखानामा राखिएका जनावरले सधैंजसो मान्छेबाट झण्झट खेप्नुपर्छ । जनावर हेर्नकै लागि दिनमा ३/४ हजार मान्छे चिडियाखाना पुग्ने गर्छन् ।
त्यहाँ पुग्ने धेरैले जनावरलाई जिस्क्याउँछन्, तर्साउँछन् । अझ भनौं, दुःख दिन्छन् । तर धेरै मान्छे दशैं मान्न घरतिर लागेपछि चिडियाखानाका जनावरलाई पनि दशैं आएजस्तो भएको छ ।
‘स्वभाविक रुपमा उनीहरुलाई पहिलेजस्तो मान्छेको खैलाबैला सुन्नु पर्दैन, यसबाट पक्कै पनि केही आनन्द पुगेको हुनुपर्छ’ चिडियाखानाका प्राविधिक भेट अधिकृत राधाकृष्ण घर्तीले भन्नुभयो । तर सधैं देखिरहने मान्छे नदेख्दा जनावर नियास्रिएको पनि हुन सक्ने उहाँले अनुमान गर्नुभयो ।
मान्छे धेरै नआएपछि जनावरले नियास्रो मानेको भन्दा पनि रमाएको चाहिँ बढी देख्न पाइयो । शुक्रबार चिडियाखानामा मान्छे निकै कम थिए । झण्डै १५ सयको हाराहारीमा मात्र मान्छे पुगे । मान्छे धेरै नदेखेपछि भित्र खोरमा रहेका जनावर बारसम्म आएर उफ्रँदैथिए । बाघ, गैंडा, चितुवा, भालुदेखि चराचुरुंगी पनि मजाले रमाएर बसेको देखियो ।
घरपालुवा खसीबोका, हाँसकुखुरा, सुँगुरबुँगुर, राँगाभैंसीलाई दशैं दशा भएपनि चिडियाखानाका जनावरलाई भने मजाले दशैं आएको छ
Post a Comment