0

चुनावका लागि सेना परिचालन आइतवारदेखि

ec
संविधानसभा निर्वाचनका लागि एक महिनामात्रै बांकी रहेका बेला निर्वाचन आयोगले प्राविधिक तयारीहरुलाई तीव्रता दिएको छ।
संविधानसभा निर्वाचन हुन ठीक एक महिना बांकी रहेका बेला चुनावी सुरक्षाका निम्ति औपचारिक रुपमा आज आइतबारदेखि सेना परिचालन हुंदैछ।
देशका ७५ वटै जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा झण्डै ६२ हजार सैनिक खटिने नेपाली सेनाले जनाएको छ।
त्यस क्रममा अन्य सुरक्षा निकायसँग समन्वय हुने भए पनि परिचालन भने आफ्नै आन्तरिक नेतृत्व अर्थात चेन अफ कमाण्डमा हुने नेपाली सेनाको भनाइ छ।

कारबाही

"केही घटना भइहालेमा पहिले त प्रहरीले नियन्त्रण गर्छ। त्यसपछि सशस्त्रले गर्छ। अनि त्यसपछि पनि भएन भने नेपाली सेना जाने हो। "
जगदीशचन्द्र पोखरेल, प्रवक्ता, नेपाली सेना
आजदेखि २४० वटै निर्वाचन क्षेत्रमा फ्लयाग् मार्च तथा गस्ती गर्ने नेपाली सेनाले जनाएको छ।
एउटा क्षेत्रमा कम्तीमा एक प्लाटुन अर्थात ४० जना सैनिक परिचालन गरिने योजना भएपनि सुरक्षा संवेदनशीलताका आधारमा उक्त संख्या बढ्न सक्ने बताइएको छ।
एकीकृत सुरक्षा योजना अनुसार मतदानस्थलमा नेपाल प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी रहनेछन् भने त्यसपछिको घेरामा सेना रहनेछ।
सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले भने, "केही घटना भइहालेमा पहिले त प्रहरीले नियन्त्रण गर्छ। त्यसपछि सशस्त्रले गर्छ। अनि त्यसपछि पनि भएन भने नेपाली सेना जाने हो।"

चेन अफ कमाण्ड

निर्वाचनका क्रममा ती सबै सुरक्षा निकाय तथा प्रशासनसंग समन्वय गरेपनि परिचालन हुंदा आफ्नै चेन अफ कमाण्डमा रहने सेनाले उल्लेख गरेको छ।
सैनिक प्रवक्ता पोख्रेल भने,"तीन वटै सुरक्षा निकाय र राष्ट्रिय अनुसन्धान विभागसँग समेत सूचनाहरु आदान प्रदान गर्छौं। सुरक्षा समितिले महत्वपूर्ण भूमिका निभाउंछ तर नेपाली सेना आफ्नै चेन अफ कमाण्डमा रहन्छ।"
चुनावी प्रयोजनका लागि सेनाको परिचालनलाई लिएर यसअघि मतहरु विभाजित भएका थिए।
खासगरी चुनाव बहिस्कार गर्ने पक्षले त्यसको विरोध गरेको थियो।
कतिपय भने त्यस्तो पक्षलाई मनोवैज्ञानिक रुपमै कमजोर बनाउन र चुनावी सुरक्षा सदृढ बनाउन सेना परिचालन उपयुक्त भएको ठान्छन्।

Post a Comment

 
Top