0

कसले कब्जा गर्ला 'कम्युनिस्ट किल्ला’ ? 


 दुई युद्धमा पराजित गरेको रिसमा पृथ्वीनारायण शाहले काठमाडौं विजयपछि कीर्तिपुरमाथि दमन भएको ठान्छन्, स्थानीय । यसैले कीर्तिपुर संस्थापनविरोधीको रूपमा चिनिन्छ ।
'शाहवंशीय शासनमा कीर्तिपुरवासीले आफूमाथि थिचोमिचो भएको ठानेकाले तिनमा विद्रोही भावना पैदा भयो,' स्थानीय बुद्धिजीवी (त्रिभुवन विश्वविद्यालय, शिक्षा विभाग प्रमुख) शिवचरण महर्जनले भने, 'परिवर्तनको एजेन्डा कम्युनिस्टमा देखेकाले त्यतै आकषिर्त भए ।' राणाकालमा पनि कीर्तिपुरवासीमाथि अन्याय भएको मानिन्छ । महर्जनका अनुसार त्रिभुवन विश्वविद्यालय निर्माणमा जग्गा अधिग्रहण भएपछि कीर्तिपुरवासी सत्तासँग थप आक्रोशित भए । कुल ६ हजार ५ सय रोपनी जग्गा अधिकरण हुँदा जग्गाधनीले निकै कम मुआब्जा पाएको उनले बताए । उनका अनुसार अधिकांश कीर्तिपुरवासीको जग्गा अधिग्रहणमा परेको थियो । मुआब्जा ३ सय ५० रुपैयाँदेखि ५ सय रुपैयाँ प्रतिरोपनीको दरले पाएका थिए ।
कम्युनिस्ट किल्ला भएकाले २०४८ सालमा एमालेका तत्कालीनका महासचिव मदन भण्डारी उठेका थिए कीर्तिपुरसहितको यो क्षेत्रमा । २०६४ सालमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल यहाँ आकषिर्त भए । परिवर्तनको पक्षमा उभिने गरेको कीर्तिपुरसहितको काठमाडौं १० मा साढे ५ वर्षअघि माओवादी अध्यक्ष दाहाल १० हजारभन्दा बढी मतको अन्तरले विजयी भएका थिए । तर यसपालि यहाँ एमाओवादी, कांग्रेस र एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा रहेको मानिएको छ ।
'यसपालि सहरदेखि गाउँसम्म तीनै पार्टी बराबरीको अवस्थामा रहेको देखिन्छ,' कीर्तिपुरका व्यवसायी इन्द्रमान महर्जनले भने, 'अघिजस्तो यसैले जित्छ भन्ने अवस्था छैन ।' ठूला नेतालाई जिताए पनि मुलुकले संविधान पाउन नसकेको र विकास निर्माणमा अपेक्षित प्रगति हुन नसकेको गुनासो छ । यसबाहेक क्षेत्रबाहिरका ठूला नेताले जित्दा जनताले प्रत्यक्ष सम्पर्क गर्न नपाउने गुनासो पनि छ ।   
एमाले उम्मेदवार सुरेन्द्र मानन्धरले ६ देखि १० हजार मतको फरकमा आफूले जित्ने दाबी गरे । 'पहिलो त संविधान बनाउन असफल भए,' उनले दाहाललाई लक्षित गर्दै भने, 'जितेपछि क्षेत्रमा फर्केर गएनन् ।' काठमाडौ १० मा कीर्तिपुर नगरपालिकाका साथै १२ वटा गाविस पर्छन् । ६५ हजार मतदाता रहेको क्षेत्रमा ५५ प्रतिशत नेवार र बाँकी अन्य जातका मतदाता छन् । चुनावी मैदानमा ३९ उम्मेदवार छन् ।
'नयाँ नेपाल भन्ने नाराले जनतामा आस जगाएको थियो, हारे भने फेरि जंगल जालान् भन्ने त्रास पनि थियो,' कांग्रेस उम्मेदवार राजेन्द्र केसीले यसअघि दाहालले फराकिलो अन्तरले जित्नुको कारण खोतले, 'यसपालि आस र त्रास छैन ।' अरूलाई पटक-पटक, हामीलाई एक पटक भनेर जनतामा गएका माओवादीलाई एक पटक हेरिसकेकाले पनि दाहालको हार निश्चित भएको उनले दाबी गरे ।
क्षेत्र नम्बर १० मा सक्रिय वाईसीएल उपत्यका इञ्चार्ज रामप्रसाद सापकोटाले पहिलेभन्दा बढी मतान्तरले आफ्ना अध्यक्ष दाहालले जित्ने दाबी गरे । 'जनजाति बाहुल्य क्षेत्र हो,' उनले तर्क गरे, 'पहिचानसहितको संघीयताको नारा एमाओवादीले मात्र अघि सरेकाले जित्नेमा शंका छैन ।' यसअघि २३ हजार भोट पाएका दाहालले यसपालि ३५ हजार भोट ल्याउने उनको दाबी छ ।  
क्षेत्र नम्बर १० का एक तिहाइभन्दा बढी मत (२७ हजार) कीर्तिपुरमा छ । नगर क्षेत्रमा ११ हजारजति मत नेवार समुदायको भए पनि नगर क्षेत्रमै पनि त्रिपक्षीय प्रतिस्पर्धा छ । शीर्ष नेता उठेकाले एमाओवादी धेरै कमजोर भइसकेको छैन । दाहाल उपस्थित र्‍यालीमा ठूलै भीड जुट्ने गरेको छ । कांग्रेस, एमालेका उम्मेदवार नगरपालिकाभित्रैका भएकाले स्थानीय हुनुको फाइदा लिने प्रयासमा छन् । मानन्धर कीर्तिपुर बजारकै हुन् भने केसी नजिकै चोभारका ।
'गैरनेवार भए पनि स्थानीय र नेवारी भाषा, संस्कृतिमा घुलमिल भएकाले कांग्रेसलाई आउने भोटमा जात बाधक नहुने इन्द्रमानले बताए । 'हामीजस्तै नेवारी बोल्छन्,' उनले भने, 'जात्राहरूमा हामीसँगै हुन्छन् ।'
वाईसीएल इञ्चार्ज सापकोटाले विकास निर्माणमा आफ्ना अध्यक्षसँग मतदाताले गुनासो गर्ने ठाउँ नरहेको बताए । 'जनतासँग प्रत्यक्ष सम्पर्क नभएको चाहिँ हो,' उनले थपे, 'तर हामीले किन भएन भन्ने कुरामा मतदातालाई कन्भिन्स गरेका छौं ।' झिनामसिना विकास निर्माणका काम भए पनि प्रतिबद्धताअनुरूप ठूलो परियोजना ल्याउन नसकेको गुनासो रहेको शिवचरणले बताए । तैपनि त्रिभुवन विश्वविद्यालयको जग्गामा शिक्षण अस्पताल बनाउन दाहालले पहल गरेको उनले बताए ।
कीर्तिपुर क्षेत्रमा स्थानीय स्वतन्त्र वामपन्थी समूहको आह्वान पनि निणर्ायक हुने गर्छ । विगतमा उक्त समूहको आह्वानमा कीर्तिपुरको मत 'स्विङ' भएको थियो । २०४८ सालमा मदन भण्डारी र २०६४ को निर्वाचनमा दाहालको पक्षमा समूहको आह्वानमा कीर्तिपुरको मत एकलौटी गएको थियो । २०५६ सालमा एमाले विभाजनका साथै जनमोर्चाका लीलामणि पोखरेल उम्मेदवार हुँदा समूह निष्क्रिय भएको थियो । उक्त चुनावमा कांग्रेसका तीर्थराम डंगोलले लालकिल्ला तोडेका थिए ।
'यसपालि स्वतन्त्र वामपन्थी समूह अहिलेसम्म सक्रिय भएको छैन,' महर्जनले भने, 'अन्तिम समयतिर मात्र कसलाई हाल्ने भन्ने निर्णय गर्न सक्छ ।' संविधान बनाउने कुरा भएकाले बुद्धिजीवी समूहको झुकाव एमाओवादी अध्यक्ष दाहालतर्फ सोझिन सक्ने उनले बताए । एकल पहिचानको एजेन्डा अरू ठूला दलसँग नभएको, नेपाः पार्टी र संघीय समाजवादी प्रभावशाली नभएकाले पनि कीर्तिपुरले गुनासो भए पनि दाहाललाई जिताउन सक्ने उनको जिकिर छ ।
अन्यत्र बहिष्कार सफल बनाउन सक्रिय नेकपा-माओवादी दाहाललाई झापड हानेर चर्चामा आएका पदम कुँवरको घरदैलोमा लागेको छ । कुँवरलाई सघाउन माओवादीको केन्द्रीय सचिवालय नै लागेको छ । 'हामी २ हजारजति भोट जसलाई चाह्यो त्यसलाई पार्न सक्ने अवस्थामा छौं,'  माओवादीका एक केन्द्रीय नेताले भने, 'प्रचण्डलाई जसले जित्न सक्छ, त्यही उम्मेदवारलाई भोट दिन सक्छौं ।

Post a Comment

 
Top