0

बालबालिका प्रयोग रोक्न अनुगमन

संविधानसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी प्रचार गर्न बागलुङमा बालबालिकाको प्रगोग हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै एक समिति गठन गरिएको छ ।
बालबालिकाको प्रयोगलाई निरुत्साहन गर्दै स्वच्छ निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने उद्देश्यले उक्त समिति गठन गरिएको हो । केन्द्रीय बालकल्याण समितिको निर्देशनअनुसार जिल्ला बालकल्याण समितिका सदस्य काजी रोशनको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ । समितिका सदस्यमा बालअधिकार अधिकृत, जिल्लाका बालबालिका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था, मानवअधिकारवादी संस्था छन् ।
उक्त समितिले हरेक दिन पर्चा, पम्प्लेट टाँस्ने, प्रचारका लागि माइक, झन्डा समाउने तथा झडपका घटनामा ढुङ्गामुढा गर्न लगाउने काम भएको पाइएमा दैनिक केन्द्रीय बालकल्याण समितिमा जानकारी गराउने अधिकार दिएको बालअधिकार अधिकृत पार्वती सापकोटाले बताए ।
त्यसरी उजुरी गएमा केन्द्रीय बालकल्याण समितिले सरकार र सम्बन्धित दलको ध्यानाकर्षण गराउने र तत्काल त्यस्ता गतिविधि रोक्न पहल गर्ने बताइएको छ ।

Post a Comment

 
Top