असन्तुष्टि बढे
पुस १५ -
एमालेको समानुपातिक सभासद छनोटमा केही व्यक्ति र भूगोलको प्रतिनिधित्वलाई लिएर असन्तुष्टि बढेको छ । असन्तुष्टहरूले सूची सच्याउन नसक्ने भए मन्त्रिपरिषद्बाट मनोनीत हुने २६ जनाको कोटामा पार्न पार्टीभित्र दबाब दिन थालेका छन् । ल्याउनैपर्ने र छुटेकाहरूलाई २६ जनाभित्रबाट पनि प्रवेश गराउन सकिने भएकाले त्यसको पहल गर्न शीर्ष नेताहरूको ध्यानाकर्षण गरेका छन् ।
दुई दर्जनभन्दा बढी जिल्ला समानुपातिकतर्फ प्रतिनिधित्वविहीन भएका छन् । प्रत्यक्षमा राम्रो मत ल्याएर जिताउने जिल्लाहरूबाट पनि नपरेपछि त्यहाँका नेता र पार्टी कमिटी बढी आक्रोशित छन् । विरोध गर्नेमा केन्द्रीयदेखि तल्लो तहसम्मका नेता र कमिटीहरू छन् ।
केन्द्रीय सदस्य तथा अछाम-१ बाट नवनिर्वाचित सभासद भीम रावल र अछाम-२ का सभासद भरत साउदले आइतबार विज्ञप्ति जारी गरी पार्टी निर्णयको विरोध गरेका छन् । अछामको पार्टी कार्यालय तालाबन्दी भएको छ । जिल्लाका दुई क्षेत्रबाट राम्रो मत ल्याएर पार्टी विजयी भए पनि समानुपातिकमा बेवास्ता गरिएको उनीहरूको भनाइ छ । 'अछामबाट एक महिला र एक दलित उम्मेदवार रहेकामा कसैलाई पनि मनोनयन नगरिएकामा हामी गम्भीर आपत्ति प्रकट गर्दछौं,' विज्ञप्तिमा छ, 'एमालेका कार्यकर्ता र मतदाताहरूको अभिमतको अपमान हुने गरी भएको स्थायी कमिटीको निर्णयको हामी कडा विरोध गर्दछौं ।'
'यो मात्र होइन अन्य स्थानमा पनि समस्या देखिएको छ, केन्द्रीय कमिटीको मापदण्डभन्दा फरक ढंगले निर्णय गरेकाले यस्तो भएको हो, यसलाई स्थायी कमिटीले गल्ती महसुस गर्दै सच्याउनुपर्छ,' केन्द्रीय सदस्य रावलले कान्तिपुरसँग भने, 'पार्टीले पाउने विभिन्न अवसरहरूमा प्रतिनिधित्व नभएका क्षेत्र र भूगोललाई प्राथमिकता दिनुपर्छ ।' सोलुखुम्बुमा सबै पदाधिकारीले राजीनामाको घोषणा गरेका छन् ।
एमालेको बन्दसूचीमा ३ सय ३३ को नाम थियो । पार्टीले प्राप्त गर्यो ८४ सिट । ३ सय ३३ बाट ८४ जना छनोट गर्ने काम सहज थिएन । प्रक्रियालाई सहज बनाउन केन्द्रीय समितिले अवसर नपाएकालाई प्राथमिकता दिने, नातागोता, श्रीमान्/श्रीमती नपार्ने, केन्द्र र तल्लो निकायको सन्तुलन मिलाउने, पार्टीले प्राप्त गरेको मतलाई ख्याल गर्नेलगायत विषयमा छलफल गरेको थियो ।
सूचीमा ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, सुनसरी, सोलु, खोटाङ, उदयपुर, महोत्तरी, नुवाकोट, मकवानपुर, गोरखा, मनाङ, पाल्पा, अर्घाखाँची, सल्यान, रुकुम, सुर्खेत, मुगु, हुम्ला, अछाम, बैतडी, दार्चुलालगायत जिल्लाबाट कोही परेनन् । तर केही जिल्लाबाट भने धेरै जना छानिएका छन् । नेता केपी ओलीको जिल्ला झापाबाट ५ जना छन् । अध्यक्ष झलनाथ खनाल, पूर्वसभामुख सुवास नेम्बाङकै जिल्ला इलामबाट भने समानुपातिकमा कोही परेका छैनन् । मोरङबाट पनि ५ जना छन् । दाङबाट तीन जना छन् ।
छनोटमा जिल्लाको प्रतिनिधित्वलाई मात्र आधार नबनाएकाले ती क्षेत्रमा बढी देखिएको नेताहरूले बताए । पार्टीमा गरेको योगदान र समावेशिताका कारण कुनै जिल्लाबाट बढी छानिएको उनीहरूको दाबी छ ।
पार्टीमा भर्खर प्रवेश गरेर सभासद बनेका तर योगदान भएकाहरू छुटेका विषयलाई लिएर विवाद देखिएको हो । यही सूचीभित्र अवसर नपाएका तर महत्त्वपूर्ण योगदान भएकाहरूको ठूलो पंक्ति पनि अटाएको छ । झापा आन्दोलन लागेर १४ वर्ष जेल बसेका मनकुमार गौतमले पहिलो पटक अवसर पाएका छन् । पञ्चायत कालमा मारिएका नेत्र घिमिरेकी पत्नी जीवनकुमारी घिमिरे पनि सूचीमा परेकी छन् । ओखलढुंगामा एमाओवादीबाट हत्या गरिएका छवि कार्कीकी पत्नी सकुन्तला राजभण्डारीलाई पनि एमालेले सभासद बनाएको छ । मुक्त कमैयाबाट रवनी चौधरी परेकी छन् । भूमिगत कालदेखि पार्टीका संगठनमा काम गरेका राम अवतार पासवानदेखि तराईमा पिछडिएको जातिबाट दुलारी देवीसम्म अटाएका छन् । विज्ञताका दृष्टिले प्राध्यापक गणेशमान गुरुङ परेका छन् ।
Post a Comment