0
आमा समूहद्वारा जुवातास खेल्न प्रतिबन्ध
१२ पुस ।
 
लमजुङको करापु गाउँ विकास समिति–५ लामागाउँका आमा समूहले गाउँमा जुवातास खेल्न खेलाउन प्रतिबन्ध लगाएको छ । 
 
युवालाई कुलतबाट जोगाई सिर्जनशील काममा लाग्न प्रेरणा जगाउने उद्देश्यले स्थानीय जन विकास आमा समूहले यस्तो प्रतिबन्ध लगाएको हो । गाउँघरका युवा काम छोडेर जुवातास, क्यारमबोर्ड, लँुडोलगायतका खेलमा व्यस्त हुन थालेपछि स्थानीय आमा समूहले अभियानकै रुपमा यस्तो प्रतिबन्ध लगाएको स्थानीय समाजसेवी आशा गुरुङले बताउनुभयो ।
 
आमा समूहले बैठकै बसेर जुवातास, लुँडो तथा क्यारमबोर्ड खेल्न प्रतिबन्ध लगाएको हो । सिर्जनशील काममा लाग्नुपर्ने बेलामा यस्तो कुलतमा फसेपछि गाउँघरमा विकृति छाएको महसुस गरी यस्तो निर्णय गरिएको गुरुङले बताउनुभयो । यस निर्णयलाई कडाइका साथ लागू गराउन आमा समूहले विभिन्न नियम पनि बनाएको छ ।
 
आमा समूहको निर्णयविपरीत जुवातास, क्यारमबोर्ड तथा लुँडो खेलेर समय बर्बाद गर्नेहरुलाई जरिवानाको व्यवस्था पनि गरिएको आमा समूहको पूर्वसचिवसमेत रहनुभएकी गुरुङले बताउनुभयो । उहाँका अनुसार निर्णय अटेर गरी जुवातास खेल्ने प्रत्येकलाई ५०० रुपैयाँ जरिवाना तोकिएको छ । 
 
उमेर पुगेका युवाका साथै विद्यालयमा पढ्दै गरेका बालबालिकासमेत यो कुलतमा फस्न लागेपछि आमा समूहले यस्तो निर्णय गरेको हो । गुरुङले भन्नुभयो– “फुर्सदको समयमा क्यारमबोर्ड खेल्नु त ठीकै हो तर विद्यालय जानै छोडेर विद्यार्थीहरु खेल्न थालेपछि क्यारमबोर्ड खेल्न पनि रोक लगाउनु परेको हो ।”
 
यसका लागि गाउँमा आमा समूहले सार्वजनिक सूचना नै जारी गरेको छ । गाउँका विभिन्न टोलटोलमा यससम्बन्धी सूचना लेखेर टाँसिएको छ । समूहले बैठक बसी यस्ता क्रियाकलाप गर्नेलाई कारबाहीस्वरुप जरिवाना तोकेको छ । आमा समूहले आफ्नो निर्णयबारे गाउँका सम्बन्धित सबै पक्षलाई जानकारी गराउँदै निर्णय कार्यान्वयनमा सघाउन अनुरोध पनि गरेको छ ।
 
लमजुङका विभिन्न स्थानमा महिलाले विभिन्न विकृति तथा विसङ्गतिविरुद्ध अभियान सञ्चालन गर्दै आएका छन् । पछिल्लो समयमा पूर्वी लमजुङको चक्रतीर्थका महिलाहरुले जुवातास र मादक पदार्थकाविरुद्ध यस्तै अभियान सञ्चालन गरेका थिए । आमा समूहको यो अभियानले आंशिक सफलता पाए पनि पूरै सफलता प्राप्त हुन सकेको छैन । 

Post a Comment

 
Top