गुटगत समस्या मधेसी दलमा पनि
पुस १५ -
समानुपातिक सभासद् छान्ने क्रममा ठूला दलमा देखिएको परिवारवाद, पैसावाल (व्यापारी) लाई जसरी पनि समेट्ने र गुटगत समस्या मधेसी दलमा पनि दोहोरिएको छ ।
समानुपातिकमा १० सीट पाएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले अध्यक्ष विजयकुमार गच्छदारलाई छान्ने जिम्मा दिएको थियो । पार्टीलाई सशक्त बनाउन लागिपर्ने, मधेस आन्दोलनका मुद्दालाई संविधानसभामा सशक्त ढंगले उठाउन सक्ने र पार्टीभित्र इतिहास बोकेकालाई छान्न मंसीर २२ देखि २४ गतेसम्म बसेको केन्दि्रय समितिको वैठकले अध्यक्षलाई अधिकार दिएको थियो ।
तर, अध्यक्ष गच्छदारले पार्टीले दिएको म्यान्डेडभन्दा बाहिर गएर पदाधिकारी बाहिर रहेका, व्यापारिक पृष्ठभूमीका पैसावाललाई सभासद् सिफारिस गर्न लागेको भन्दै पार्टीमा असन्तोष जाहेर गर्नेहरु धेरै छन् । गच्छदारले भिएस निकेतनका संस्थापक पि्रन्सिपल बाबुराम पोखरेल र ग्यालेक्सी पब्लिक स्कुलकी प्रिसिपल गिता राणा र डा.सुवोधकुमार पोखरेललगायतलाई प्राथमिकता राखेको भन्दै पदाधिकारीले असन्तुष्टि जनाईरहेका छन् ।
उपाध्यक्ष मोहम्मद नसिर सिद्दीकी, महासचिव जितेन्द्रनारायण देव, सचिव चन्द्रेश्वर शर्मा खत्बे, कोषाध्यक्ष आशा चतुर्वेदीलाई पन्छाएर व्यापारिक पृष्ठभूमीका (पैसावाल) लाई चयन गर्न खोजेको स्रोतको दाबी छ । सूची बुझाउने अघिल्लो दिन आइतबार बेलुकीसम्म पनि अध्यक्ष गच्छदारले आफूले चयन गरेका व्यक्तिबारे पदाधिकारी र पार्टीपक्तिलाई सुईँको नदिएको उपाध्यक्ष सिद्दीकीले बताए । 'अध्यक्षज्यूसँग अरु विषयमा छलफल भएपनि समानुपातिक सूचीबारे कुनै बहस हुँदैन' उपाध्यक्ष सिद्दिकीले आइतबार कान्तिपुरसित भने । अर्का उपाध्यक्ष रामेश्वरराय यादबले चाँही अध्यक्षलाई नै जिम्मा दिएकाले पार्टीले दिएको 'क्राईटेरिया' अनुसार अध्यक्षले सूची तयार गर्नेमा आफू विश्वस्त रहेको बताए ।
आठ सीट पाएको मधेसी जनअधिकार फोरम नेपालले पनि आइतबारसम्म समानुपातिक सभासदो नाम बाहिर ल्याएको छैन । अध्यक्ष उपेन्द्र यादब संयोजक रहेको संसदीय समितिले नाम टुंगो लगाईसकेको स्रोतले बतायो । वरिष्ठ नेता भरतविमल यादब, उपाध्यक्ष मोहम्मद लालबाबु, महासचिव रामसहाय यादब, रेखा यादब र सहनाज रहमानलगायतलाई चयन गरेको छ । उसले प्रत्यक्षमा दुई सीट मात्रै जितेको थियो ।
उसले अनुशासित, प्रतिवद्ध, चरित्रवान, बढी मत पाएको जिल्ला, पार्टीलाई विशेष सहयोग गरेको र संविधानका ज्ञातालाई आधार मानेर नाम छानेको छ ।
यस्तै, सात सीट पाएको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) को कार्यसम्पादन समिति वैठकले नाम छान्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । 'अध्यक्षज्यूलाई एक्लाएक्लै र सामुहिक रुपमा सुझाव दिएका छौं' उपाध्यक्ष वृषेशचन्द्र लालले भने, 'त्यसै अनुसार नाम छान्नु हुन्छ होला ।'
समानुपातिकबाट पाँच सीट पाएको सद्भावना पार्टीले सभासद् छान्ने जिम्मा अध्यक्ष राजेन्द्र महतोलाई दिएको थियो । पार्टीको केन्द्रीय समितिबाटै जिम्मा पाएपछि अध्यक्ष महतोले श्रीमती शैलदेवी महतो र भतिजा उपेन्द्र महतोमध्ये एक, व्यापारी विमल केडियालाई जसरी पनि समेट्न खोजेको पार्टीस्रोतले बताएको छ । 'उहाँ (महतो) मा पनि परिवारवाद हाबी भएको देखिन्छ' पार्टीस्रोतले भन्यो, 'त्यस्तो भयो भने पार्टीमा खैलाबैला मच्चिन्छ ।'
महतोले अघिल्लो पटक पनि समानुपातिक सभासद बनिसकेका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, महासचिव मनिषकुमार सुमन र सहमहासचिव राजकुमार गुप्तालाई पनि समेट्न खोजेका छन् । उनको पार्टीमा रहेका मुसलमान पदाधिकारीले जसरी पनि मुसलमानलाई समेट्न दबाब दिएका छन् । तीन सीट पाएको शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) ले नाम चयन गरिसकेको छ । नाम छान्दा उसले पार्टीमा योगदान पुर्याएका राजनीतिक व्यक्तिलाई भन्दा पनि निकट रहेको, आफूले भनेको मान्ने र आर्थिक सहयोग गर्नेलाई बढी ध्यान दिएको देखिन्छ ।
दुई सीट पाएको तराई मेधस सद्भावना पार्टी (तमसपा) मा पनि पैसावाल (व्यापारी) लाई दिने की पार्टी भित्रकालाई दिने भन्नेमा पदाधिकारीबीच धेरै दिन बहस भयो । अध्यक्ष महेन्द्र यादब र उपाध्यक्ष खोभारी रायले आफूलाई सहयोग गर्ने व्यापारीलाई सभासद् बनाउन निकै नै जोडबल गरिरहेको स्रोतले बतायो ।
एक सीट पाएको अनिल झा नेतृत्वको संघीय सद्भावनामा पनि परिवारबाद हाबी भएको छ । अध्यक्ष झाले श्रीमती डिम्पल झालाई पठाउन खोजेको भन्दै विरोध भएको छ । झाले भने एक सीट पाएकाले नाम छान्न पार्टीमा कुनै समस्या नभएको बताए । 'एक जना नाम पठाउने हो, सोमवार पठाईहाल्छौं' झाले भने । यस्तै, एक सीट पाएको राजकिशोर यादब नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिकले पनि व्यापारी (पैसावाल) लाई सभासद् बनाउन लागेको छ । अध्यक्ष यादबले श्रीमती सरिताको नाम पनि समानुपातिक सूचीमा राखेका थिए ।
Post a Comment