0

पर्साका १७ उम्मेदवारको चुनावी खर्च कति–कति ?

nepali-rupees पुस ९–
पर्सा जिल्लाबाट संविधानसभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारमध्ये हालसम्म यहाँ १७ जनाले मात्र निर्वाचनमा गरेको खर्चको विवरण पेस गरेका छन् ।
मतगणना सम्पन्न भएको ३५ दिनभित्र उम्मेदवारले निर्वाचनमा भए गरेका खर्चको विवरण पेस गर्नुपर्ने व्यवस्थाअनुरूप उनीहरुले जिल्ला निर्वाचन कार्यालय पर्सामा खर्च विवरण पेस गरेका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार, पर्साकाट निर्वाचित पाँच जना संविधानसभा सदस्यमध्ये अहिलेसम्म दुई जनाले मात्र खर्च विवरण पेस गरेका छन् । खर्च विवरण पेस गर्नेहरुमा नेकपा (एमाले)का तर्फबाट पर्सा क्षेत्र नं ३ र ५ बाट निर्वाचित संविधानसभा सदस्यद्वय क्रमशः राजकुमार गुप्ता र जयप्रकाश थारु हुनुहुन्छ । गुप्ताले रु आठ लाख ५३ हजार तथा थारुले रु ६ लाख ७५ हजार खर्चको विवरण पेस गर्नुभएको छ ।
सबैभन्दा बढी खर्च विवरण पेस गर्नेमा एनेकपा (माओवादी)का तर्फबाट पर्सा क्षेत्र नं १ का उम्मेदवार मो बसरुद्दिन अन्सारी र सबैभन्दा कम पेस गर्नेमा नेकपा (माले)का तर्फबाट क्षेत्र नं १ का उम्मेदवार लक्ष्मीराज न्यौपाने रहनुभएको छ । अन्सारीले रु नौ लाख ५५ हजार तथा न्यौपानेले रु ३३ हजार ५५० खर्च विवरण पेस गर्नुभएको । उहाँहरु दुवैजना पराजित उम्मेदवार हुनुहुन्छ ।
यसैगरी खर्च विवरण पेस गर्ने पराजित उम्मेदवारमध्ये क्षेत्र नं १ बाट जन प्रजातान्त्रिक पार्टीका किरणवाला वर्मा र दलित जनजाति पार्टीका सञ्जयकुमार अग्रवाल हुनुहुन्छ । वर्माले रु एक लाख २३ हजार ७०० र अग्रवालले रु एक लाख ८२ हजार खर्च विवरण पेस गर्नुभएको छ ।
त्यस्तै क्षेत्र नं २ बाट मातृभूमि नेपालका दीपलाल महतोले रु ६ लाख ७८ हजार ५०० र जनप्रजातान्त्रिक पार्टीका प्रमोदप्रसाद दहैत थारुले रु एक लाख ७६ हजार २०० तथा क्षेत्र नं ३ बाट जनप्रजातान्त्रिक पार्टीका फरिन्द्र चौहानले रु दुई लाख आठ हजार ३००, नेपाली जनता दलका मनोजकुमार रौनियारले रु दुई लाख ८१ हजार १११ र एनेकपा माओवादीका जीतेन्द्र यादवले रु आठ लाख ८३ हजार खर्च विवरण पेस गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सो कार्यालयका अनुसार क्षेत्र नं ४ बाट एमाओवादीका प्रह्लाद गिरीले रु आठ लाख आठ हजार, दलित जनजातिका नुर आलम अन्सारीले रु तीन लाख ४४ हजार ७०० र सद्भावना पार्टीका मोहनलाल चौधरी थारुले रु सात लाख ९७ हजार तथा क्षेत्र नं ५ बाट जनप्रजातान्त्रिक पार्टीका दीनानाथ महतोले रु एक लाख १८ हजार ९०० र सङ्घीय समाजवादी पार्टीका विप्लव पटेलले रु नौ लाख ४८ हजार खर्च विवरण पेस गर्नुभएको छ ।
संविधानसभा सदस्य निर्वाचनका लागि प्रत्येक उम्मेदवारलाई अधिकतम् रु १० लाख खर्च गर्न पाउने सीमा निर्वाचन आयोगले तोकेको थियो ।
“बा“की उम्मेदवारले पनि तोकिएको समयभित्रै आआफ्नो निर्वाचन खर्च विवरण पेस गर्नेमा आफू विश्वस्त रहेको प्रमुख निर्वाचन अधिकारी पोखरेलले बताउनुभयो ।
कुल दुई लाख ५१ हजार ८४६ मतदाता रहेको पर्साको पाँच वटै क्षेत्रमा प्रत्यक्ष निर्वाचनतर्फ विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २१० जना उम्मेदवार रहेका थिए । तीमध्ये १९३ जनाको जमानत जफत भएको थियो ।
अघिल्लो संविधानसभा निर्वाचनमा पर्सामा सहभागी ९९ जना उम्मेदवारमध्ये २१ जनाले मात्र निर्वाचन खर्च विवरण पेस गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Post a Comment

 
Top