माओवादी नेताबाटै मुम्वइमा वेचिएकी माओवादी नेतृको कहानी
चितवन जिल्ला मटियानी गाविसमा रहँदै आउनुभएकी एक ५० बर्षिया महिला कुमारी राई (नाम परिवर्तन)लाई भारतको मुम्वईमा लगेर वेच्ने नेकपा माओवादीका जिल्ला कमिटी सदस्य (डीसिएम) हस्त बहादुर सेन्चुरी यतिखेर कानुनी कठघरामा छन्। सुकुम्वासीको प्रतिनिधित्व गर्दै पार्टीको जिल्ला तहमा पुगेका ५२ बर्षिय सेन्चुरीले सो पार्टीकै उनकै हैसियतमा जिल्ला तहमा क्रियाशिल महिला सहकर्मीलाई भारतको मुम्वईमा लगेर वेचेको अभियोगमा कानुनी कार्वाहीको प्रक्रियामा छन्। २०५२ सालदेखि २०६२-६३को आन्दोलनसम्म पार्टीका विभिन्न मोर्चामा सँगै क्रियाशिल रहेकी आफूलाई विभिन्न बहानामा मुम्वइको कोठीसम्म सेन्चुरीले कसरी पुर्याएर बेचेर फर्किए। उनले त्यहाँ कसरी सात महिना नारकीय जीवन विताउनुपर्यो तथा उनी त्यहाबाट कसरी भागेर आउन सफल भएन भन्ने बारेमा राईले हाम्राकुरा डटकमका अजयबाबु शिवाकोटीसँग संक्षिप्त कुरा गर्नुभएको छ। प्रस्तुत छ सोहि कुराकानीको महत्वपूर्ण अंशहरुः
मेरो नाम कुमारी राई (नाम परिवर्तन) हो। म विवाहित हुँ। श्रीमानको स्वास्थ्य अवस्था कमजोर भएका कारण परिवारको आर्थिक भार मेरो काँधमा आएको थियो। श्रीमानको उपचारको खर्च जुटाउनेदेखि ५ छोराछोरीको लानपालन पनि मेरो जिम्मामा थियो। एक्लै परिवार धान्न कति गाह्रो हुन्छ तपाइ अनुमान मात्र गर्न सक्नुहुन्छ। म त्यो अवस्थाबाट गुज्रदै गर्दा पनि पार्टी काममा लागेकै थिए। सोहि क्रममा एकजना अर्का माओवादीका स्थानिय कार्यकर्ता हस्त बहादुर सेन्चुरी पौडेलसँग चिनजान भयो। सहयोगी व्यवहार देखाउने उसले कतिपय समयमा सहयोगी व्यवहार देखाउँथ्यो। आफ्नो हैसियत अनुसार पार्टीलाई सहयोग पुर्याउन सक्दो लागेको थिए। उसले पनि पार्टीलाई कसरी सहयोग गर्ने भन्नेमा सुझाव दिन्थ्यो।
२०६२-६३को आन्दोलनपछि पार्टी खुल्ला रुपमा काम गर्न थाल्यो। म पनि सुकुम्वासीको मोर्चाबाट पार्टीलाई सहयोग गर्नेगरि त्यहाँ क्रियाशिल भएको थिए। काम इटाँ भट्टामा थियो मोर्चा चाँहि सुकुम्वासीको थियो। यसै क्रममा म जिल्ला कमिटी सदस्य (डीसिएम)को हैसियतमा वढुवा भएको थिए भने हस्त बहादुर सेन्चुरी पनि सोहि तहमै थियो। तहमा वढुवा भएपनि हाम्रो स्तर भने जहिको तहि थियो। जीवनस्तरमा केहि परिवर्तन हुन सकेको थिएन। आफ्नो दुख आफैसँग थियो। पार्टीमा हिजो आफूहरुसँगै काम गरेकाहरुको जीवनमा अचम्मकै परिवर्तन आएको थियो। आफ्नो भने श्रीमानलाई उपचार गर्ने र छोराछोरीको जीवन निर्वाहको लागि पनि रातोदिन घोटिनु बाहेकको विकल्प थिएन। तैपनि दैनिक हातमुख जोर्ने समस्या।
मेरो दुखलाई नजिकबाट नियालिरहेको सेन्चुरीले मलाई सधै यस्तो दुख कतिन्जेल गर्नुहुन्छ भन्दै सुनाउँथ्यो। तर मसँग केहि विकल्प नै थिएन। सोहि काम नगरौ त भरे बेलुका मुखमा माड लाग्दैन थियो। म वाध्य थिए दुख वेसाउन। यसै बर्षको शुरुवात तिर उसले मलाई तपाइले अब धेरै दुख गर्नुपर्दैन यतिकै दुख गरेर राम्रो कमाइ गर्नसक्नुहुन्छ डाक्टरको घरमा गएर काम गर्दा कमाइ पनि बढी हुन्छ भन्दै उकास्यो। मलाई पनि इट्टा भट्टाको धुलो धुवा र दुखी कामको विकल्प खोजरहेको थिए। उसले विरगञ्जमा एकजना राम्रो डाक्टरकहाँ काम लगाइदिने भन्दै मलाई भनेको थियो। म पनि एकजना सहकर्मी कमरेडले मेरो दुख बुझेर काम खोज्दिएछन भनेर खुसी भए। म काममा जान तयार भए। घरको समस्या टार्न पनि काममा जानुको विकल्प थिएन। परिवारलाई सुनाएपछि उनीहरु पनि गह्रौ मन पारेर भएपनि मलाई काममा पठाउन तयार भए। तर त्यो सहकर्मीको आवरणमा मलाई कमाइ हुने काममा लगाइदिन्छु भनेर मेरो दुख टार्न खोजेको नाटक गर्ने सेन्चुरीको दिमागमा त अर्कै कुरा रहेछ।
मलाई काममा लग्दिने भन्दै उसले २०७० वैशाख ४ गते नारायणघाट वोलायो। त्यहाँबाट विरगञ्ज जाने बस नआएसम्म केहि खानेकुरा खाऔं भन्दै लड्डु र केहि जेरी लिएर आयो। मैले जेरी खाइन लड्डु मात्र खाएको थिए। तर त्यसको केहि समयपछि के भयो मलाई थाहा भएन। भैरहवा भैरहवा भनेको कताकता कानमा परेको छ तर केहि होस छैन म भारतको सीमा भित्र पुगिसकेको रहेछु। जव मेरो होस खुल्यो मलाई काममा लग्दिने भनेको विरगञ्जमा थिइन।
मैले आफू कहाँ छु भनेर सोधे पछि उसले आफूहरु भारतमा रहेको बतायो। नेपालमा हुँदा पार्टीको काममा लाग्दा अरुले राम्रो कमाइ गरे आफूहरुले केहि गर्न नसकेको भन्दै अब नेपाल नफर्कने भन्दै यतै घरजम गरेर बसौ भन्दै मनाउन पो थाल्यो। मैले घरपरिवारलाई छोडेर कमाइ गर्ने आशमा आएको थिए। तर यहाँ उसले विस्तारै परिवन्दमा पारिसकेको रहेछ। शुरुमा मनाउन खोज्यो पछि धम्क्यायो। मलाई मान्न वाध्य पारेपछि मुम्वई गएर दुवैजना मिलेर काम गरेर वाँकी जीवन राम्रोसँग विताउँ भन्दै मुम्वइतिर लिएर गयो। म पनि कुनै मौकाको प्रतिक्षामा थिए। उम्कन तर उसले मलाई अझ परिवन्दमा कस्दै गइसकेको रहेछ। मुम्वइमा पुगेपछि एउटा सामान्य होटलमा खाजा खान भनेर छिर्यौ। खाजा खाने बेलामा बसैले सोध्यो भने आफूलाई श्रीमान भन्नु है भनेर सम्झायो। मैले टाउको हल्लाए। खाजा खाएपछि पान खान भनेर गएको मान्छे आउँदै आएन। पान खान भनेर गएको उसले मलाई बेचेर हिडिसकेछ।
एकछिन सम्म तथाकथित श्रीमान आएन। बरु अरु केहि आइमाइसँगै होटल साहुनीको आवरणमा कोठी सञ्चालिका आइ। मलाई भित्र जान कर गरे। मैले मेरो ढाँटेकै सहि श्रीमानलाई कुरेर बसेको बताउँदा उनीहरुले तलाई उसले पाँच लाखमा बेचेर गइसकेको बताए। मैले कसरी पत्याउनु हैन भन्दै कराए। वाँझे। तर उनीहरु कसैले पनि सुनेन। मैले कसरी पत्याउनु सँगै एउटै पार्टीमा काम गरेको कमरेडले मलाई लगेर मुम्वइको कोठीमा वेच्न सक्छ भनेर। त्यसमाथि मेरो उमेर पचासमा चल्दै थियो। एकरत्ति पनि मलाई मुम्वइमा लगेर वेच्ला भन्ने थिएन। म वेहोस भएर भारत पुग्दा समेत मेरो उमेरकै कारण पनि मलाई सीमामा प्रहरी देखि महिला ओसारपसारमा क्रियाशिल संस्थाहरुले वेच्न लगेको होला भनेर सुँइको पाएनछन्। तर म भारतमा लगेर वेचि सकिएछु। हामी चार दिनपछि त्यहाँ पुगेको हिसावले वैशाख ८ गते उसले मलाई बेचेको रहेछ।
बेचिएका चेलीहरुको जे हालत हुन्छ उनीहरुले जुन नारकीय जीवन र यातना भोग्नुपर्छ मैले पनि भोग्न वाध्य भए। करिव सात महिनासम्मको त्यो वर्वर यातनापछि मैले भाग्ने हिम्मत जुटाए। क्रिसमसको वेलामा होटलमै आएका ग्रहकको सहयोगमा उनीहरुकै लुगा लगाएर मैले त्यहाँबाट २०७० पुस १० गते भाग्ने हिम्मत जुटाए। तर भाषाको समस्याको कारण कहाँ जाने भन्ने कुरा मैले त्यहाँको स्थानियलाई बुझाउन सकिन। तीनदिन भोकभोकै मुम्वइको सडक तथा गल्लीमा भौतारिए। मसँग एक पैसा पनि थिएन। एकजना सहृदयी मान्छे भेट्टाए। जस्ले म नेपाल फर्कन चाहेको कुरा बुझेपछि उसले नेपालकव जनकपुरको वारेमा जान्दो रहेछ। उसले मलाई जनकपुर पुर्याउने प्रवन्ध मिलाइदियो। म एकदम कमजोर विरामी थिए। जनकपुरमा आएपछि चितवन आउने बसमा अनुरोध गरेपछि उसले मेरो हालत देखेर चितवनमा ल्याएर छोडिदियो। कमाइका लागि गएको श्रीमती तथा ५ छोराछोरीको आमा अब कसी घरमा जाने चिन्ता र मानसिक तनावमा घर फर्कन सकिन। मेरो ध्याउन्न कतै आश्रय लिएर मलाई बेच्ने अपराधीलाई कार्वाही गराउनु मात्र थियो।
मैले यहाँ आएपछि चितवनमा म जस्तै महिला तथा वालवालिकालाई आश्रय दिने आद्श गृहको बारेमा स्थानियबाट जानकारी पाएपछि अहिले यहाँका सञ्चालकहरुको सहयोगमा यहाँ बसेको मात्र छैन कानुनी लडाइ पनि शुरु भएको छ।
चितवन फर्केपछि चाहा भयो त्यो फटाहा त पार्टीमा अझ फूर्ती लगाउने भएछ। गाडी चढेर हिड्न थालेछ। माओवादीका नेताहरु पनि उसको पैसामा रमाउन थालेछन। बफ्नै सहकर्मी कमरेडलाई वेचेर ल्याएको पैसाले पार्टीलाई प्रभावमा पारेर हैसियत बढाउन थालेछ। मैले त्यसपछि मैले आश्रय पाएको गृहको सञ्चालकहरुसँग परामर्श गरे। उहाँहरुले मेरो लागि कानुनी लडाइ शुरु गर्ने भन्नुभयो। कानुनी प्रक्रिया शुरु भएलगत्तै उ मानववेचविखनको अवराधमा पक्राउ परेको छ। तर उसलाई छुटाउन माओवादी लागेको छ। मुद्धा कमजोर बनाउन सरकारी वकिलहरुलाई प्रभावित पार्न माओवादीहरु लागेका छन्। मलाई धम्की दिन खोज्दैछन। हेरौ न्याय कहिले पाइन्छ। म जस्तो पचास उमेरको महिलालाई त बेच्न पछि नपर्ने यस्ता तथाकथित माओवादी नेताले कति सोझासाझा चेलीहरुलाई बेचेको होला । अनि तीनै चेली बेचेको पैसाले नेपालमा मोज गरेका होलान। त्यस्ता ढोगी र पाखण्डी दलालहरुलाई कार्वाही नगरेसम्म म जस्ता अझै कति महिला बेचिरहनुपर्छ। यस्तालाई समेत बचाउन लाग्ने त्यो माओवादी भनाउँदाहरु चाहि कस्ता हुन मैले बुझ्न सकिन। एउटै हैसियतको कार्यकर्तालाई अर्को कार्यकर्ताले बेचेको छ अनि उसलाई कार्वाही गर्नुपर्छ भन्दा बचाउन आउने ति माओवादी चाहि कस्ता हुन। कहिले सम्झेर आउँदा यो माओवादी पार्टीको नाममा रगत वगाउने सबैको रगत त्यतिकै खेर गए जस्तो लाग्छ। धिक्कार छ त्यो माओवादी जस्ले चेलीवेटी र महिला वेविखन गर्ने अपराधीलाई बचाउन लागिपर्छ।
Post a Comment