राजा चढ्ने हात्तीमा पर्यटक सरर
यादब आचार्य।
नेपालमा दुई सय चालिस वर्ष शासन गरेको राजसंस्था समाप्त भैसकेपछि पूर्वराजा हरुको भ्रमणका लागि पालिएका हात्तीहरुले पर्यटक बोक्न थालेका छन्। हात्तीहरु पर्यटकलाई भ्रमण मात्र होईन जिल्लाकै पर्यापर्यटनको अध्यन, अनुसन्धान र निकुञ्जको गस्तीमा समेत प्रयोग हुन थालेका छन्।
नेपालमा राजसंस्था रहँदा प्रत्येक ५ वर्षमा देशका विभिन्न भागमा राजाहरुको भ्रमण हुने गथ्र्यो। सो समयमा अहिलेको जस्तो यातायात तथा वाटो घाटोको राम्रो सुविधा नहुँदा पनि राजाहरुको प्रयोगका लागि ठाउँ ठाउँमा हात्तीसारहरुको स्थापना गरिएको पाईन्छ। बर्दियाको पर्यटकिय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जले पनि सोही प्रयोजनका लागि २०३६ साल तिर ठाकुरद्वाराको शिवपुरमा हात्तीसारको स्थापना गरी हात्ती पालन कार्य शुरु गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश थापाले वताए । चितवन राष्ट्रिय निकुञ्ज तथा हात्तीसार, कपिलवस्तु र सर्लाहीबाट खरीद गरी बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा ल्याईएका ती हात्तीहरु पूर्व राजाहरुका सवारीमा प्रयोग हुने गरेको उनले प्रष्ट्याए।
नेपालमा राजसंस्थाको अस्त र गणतन्त्रको उदय भैसकेपछि हात्तीले गर्ने कार्यमा पनि परिवर्तन आएको छ। आजकाल भीमकाय ती स्थल प्राणी हात्तीहरुले निकुञ्ज अवलोकनका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई जंगल भ्रमण तथा अवलोकन गराउने कार्यमा व्यस्त रहन थालेका छन्। त्यती मात्रै होईन जिल्लाकै जैविक विविधता संरक्षण तथा पर्यापर्यटनका लागि अध्यन र अनुसन्धान गर्ने काममा समेत खटिने उनले वताए।
बर्दिया निकुञ्जमा रहेको हात्तीसार हात्ती प्रजनन् केन्द्रको रुपमा स्थापना नगरिएको भएतापनि हात्तीसारमा १० ओटा हात्तीको दरवन्दी रहेको अधिकृत थापाले जानकारी दिए।हात्तीले वर्षेनी छावाको जन्म दिन थालेपछि अहिले बर्दिया हात्तीसारमा घरपालुवा हात्तीको संख्यामा बृद्धि भएको पाईन्छ।हात्तीले वच्चा जन्माउने क्रम वढेपछि हाल बर्दिया हात्तीसारमा १७ वटा हात्ती रहेको छ।पछिल्लो समयमा भाले हात्ती जन्मन थालेपछि व्यवस्थापनको दृष्टिकोणले बर्दिया राष्ट्रिय निकुञ्जलाई समस्या परेको उनले थपे।हात्तीसारमा हात्तीको दरवन्दी अनुसार नै कर्मचारीको दरवन्दी रहेको र हात्तीको संख्या वढ्ने दरवन्दी पूरानै कायम हुनुले पनि निकुञ्जलाई कठिनाई परेको उनको भनाई छ।पोथी हात्ती भन्दा भाले हात्ती स्वभावैले आक्रामक हुने भएकाले नयाँ जन्मने छावाहरुको पालन पोषण र स्याहार सुसार गर्न निकुञ्जलाई हम्मे हम्मे परेको उनी वताउँछन्।
संरक्षणका हिसावले तराईकै ठुलो बर्दिया राष्ट्रिय निकुञ्ज जैविक विविधताले भरिपूर्ण मानिन्छ। यहाँको पर्यापर्यटन प्रर्वद्धन र जैविक विविधता संरक्षणका लागि खटाइने एकमात्र संरक्षकको रुपमा रहेको जनावर हात्तीकै पालन पोषणका लागि सरकारले आवस्यक कर्मचारीको व्यवस्था गर्न नसक्नु दुःखद कुरा हो। यसका लागि सरकारले समयमै कर्मचारीको व्यवस्था गर्नु जरुरी छ।
Post a Comment