सामुदायिक र राष्ट्रिय वनमा चोरी-सिकारी बढ्दै
८ फागुन,
सरकारले राष्ट्रिय वनको संरक्षण गर्न सामुदायिक वनको अवधारणा ल्ाागू गरी समुदायलाई वन हस्तान्तरण गरेपनि सामुदायिक वन संरक्षण हुनुको साटो यहाँ सामुदायिक तथा राष्ट्रिय वनमा दिनानुदिन चोरी-सिकारी बढ्दै गएको छ ।
अहिले दार्चुलामा जिल्ला वन कार्यालयअन्तर्गत १ सय ६३ र अपिनाम्पा संरक्षण क्षेत्रअन्तर्गत १ सय १२ गरी २ सय ७५ सामुदायिक वन रहेका छन् । जिल्लामा रहेका राष्ट्रिय वन दिनानुदिन मासिँदै गएका छन् भने यहाँका वन जङ्गलमा अवैधरूपमा चोरी-सिकारी पनि बढ्दै गएको स्थानीय बासिन्दा बताउँछन् ।
जिल्लाको लेकम क्षेत्रमा पर्ने धाप, भगवती, ग्वानी, मालिकार्जुन र रानीशिखर गाविसमा रहेका सामुदायिक र राष्ट्रिय वनमा अनुमतिप्राप्त हतियार र पासो थापेर अवैध रूपमा वन्यजन्तुको सिकार गर्ने क्रम बढेको भए पनि सम्बन्धित निकायको त्यसतर्फ ध्यान जान नसकेको एक स्रोतले बताएको छ ।
खुला सीमा-नाका र भौगोलिक विकटताका कारण दार्चुलामा चोरी-सिकारीमा वृद्धि भएको हुनसक्ने बताउँदै जिल्ला वन अधिकृत चन्द्रदेवलाल कर्ण अवैधरूपमा चोरी सिकारी गर्ने जोकोहीलाई वन ऐनअनुसार कडा कारबाही गरिने दृढता व्यक्त गर्छन ।
चोरी-सिकारी नियन्त्रणतर्फ उपभोक्ताले लापरबाही गरेका कारण समस्या आएको कर्णको भनाइ छ । वन र वन्यजन्तुको संरक्षणका लागि स्थानीय उपभोक्ताहरू नै जागरुक हुनुपर्ने कर्णले बताए ।
Post a Comment