पृथ्वीनारायणको सालिक मुनि मन्त्री रिसाए !
किरण लोहनी
गोरखा,
माघ २४ -
पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न गोरखा पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठ कार्यक्रममा सहभागीको संख्या थोरै भएपछि आक्रोशित हुनु भएको छ ।
सालिक अनावरणपछि सबै वक्ताले मन्तब्य राखेका मन्त्री श्रेष्ठले बोल्ने बेलामा सहभागीको संख्या कम भएपछि उहाँ आक्रोशित हुनु भएको हो ।
“यो गोरखा हो, मेरो गृह जिल्ला, त्यसले यो ठाउँमा मलाई कडा बोल्ने हक छ ।” आफ्नो मन्तब्यको सुरुमै मन्त्री श्रेष्ठले भन्नुभयो “यत्रो सदरमुकामको वजार, यत्रा ब्यवसायी भएको ठाउँ, अनि राष्ट्रनिर्माताको सालिक अनावरण कार्यक्रममा यही हो सहभागिता ?”
उहाँले स्थानीय ४ जना ब्यवसायीहरुको नाम किटेर नै किन सालिक अनावरण कार्यक्रममा मान्छेको कम सहभागिता भनेर प्रश्न गर्दै भन्नुभयो “तपाईहरु त वजारको ठूलो ब्यवसायी होइन ? एक चुड्कीमा मान्छे भेला पार्न सक्ने तागत हुनुपर्ने हो तपाईहरुसँग ।”
आफ्नो संबोधनको झण्डै १५ मिनेट सहभागिताकै बारेमा बोलेका मन्त्रीले प्रश्न गर्नुभयो “गाउँका साना साना कार्यक्रममा त कत्ति धेरै सहभागीता हुन्छ, वजारमा के यही हो त सहभागिता ?”केहीबेर आक्रोसित भएका मन्त्री श्रेष्ठले हिजो आज विकास निर्माणका काममा मानिसको कम चासो रहेको भन्दै पछि आफ्नो चित्त आफैंले बुझाउनुभयो । “यही ठाउँमा एउटा राजनीतिक पार्टीको कार्यक्रम भएको भए ,यसको १० गुणा बढी मान्छे हुन्थे होला” उहाँले भन्नुभयो “तर विकास निर्माणको काममा मानिसलाई रुची नै छैन ।”
एकीकृत नेकपा माओवादीको कोटामा मन्त्री भएका श्रेष्ठ प्रमुख अतिथि भएको कार्यक्रममा एमाओवादीको उपस्थिती थिएन । माओवादीले नै भत्काएको सालिकको पुनस्थापना कार्यक्रममा मन्त्री श्रेष्ठ पुग्नु भएको हो ।
सहभागीको संख्या किन कम ?
गोरखा सदरमुकामस्थित संग्रहालय परिसरमा गएको शनिवार पुनर्स्थापना गरिएको सालिक अनावरणको चाँजोपाँजो संग्रहालयको तालुकदार अड्डा पुरातत्व विभागले गरेको थियो । सालिक अनावरणका लागि विभागका महानिर्देशक सहितको टोली संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री श्रेष्ठलाई लिएर शुक्रवार बिहान १० वजेतिर गोरखा सदरमुकाम आइपुगेको थियो ।
सदरमुकामकै एउटा होटलमा खानपिन लगत्तै मन्त्रीको टोली उद्योग वाणिज्य संघले गरेको अन्तर्क्रियामा ब्यस्त भयो । गोरखा संग्रहालयले बिहान ११ वजे सालिक अनावरण कार्यक्रमको ब्यहोरासहितको पत्र पठाएको थियो । त्यही आसपासको समय मिलाएर पाहुनाहरु कार्यक्रमस्थलमा आउने क्रम सुरु भयो । झण्डै आधा घण्टा पर्खंदा पनि मन्त्री नआइपुगेपछि केही पाहुना फर्किएका थिए । निर्धारित समयभन्दा झण्डै १ घण्टा ढिलो गरेर बाजागाजासहित मन्त्रीको टोली संग्रहालय परिसरमा पुगेको थियो । कार्यक्रम सुरु भएको झण्डै १५ मिनेट त आसनग्रहणमै बित्यो । त्यसपछि स्वागत मन्तब्य अनि सालिक अनावरण । रातो कपडाले छोपेर राखिएको सालिक उघारो भए लगत्तै फोटो खिच्ने क्रम सुरु भयो । सालिक हेरिहालियो, ब्यर्थैको भाषण किन सुन्नु भन्दै केही पाहुना फर्कन थाले ।
त्यसमा पनि वक्ता धेरै थिए र उनीहरुको भाषणमा पृथ्वीनारायण शाह नभैदिएको भए त पृथ्वीनै ठप्प हुन्थ्यो कि भन्ने जस्तो कुरा थियो । अघिल्ला वक्ताहरुका यस्तै भाषणले डेढ घण्टा बितेपछि मन्त्रीको बोल्ने पालो आएको थियो । उहाँले बोल्ने पालोमा त केही सरकारी कर्मचारी, केही ब्यवसायी र सञ्चाकर्मी मात्रै बसेकाले सहभागीको संख्या कम देखिएको थियो ।
Post a Comment