पत्रकार महासङ्घ सङ्खुवासभामा तालाबन्दी
१३ फागुन ।
कीर्ते हस्ताक्षर गरी नयाँ सदस्य थप गरिएको विरोधमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सङ्खुवासभामा आबद्ध पत्रकारहरुले सो शाखामा तालाबन्दी गरेका छन् ।
महासङ्घका जिल्ला शाखा सचिव छेटु शेर्पाले शाखाको बैठक पुस्तिकामा नक्कली हस्ताक्षर गरी थप गरिएका ११ जना सदस्यको खारेजी र सचिव शेर्पालाई कारबाहीको माग गरिएकोमा केन्द्रले बेवास्ता गरेको भन्दै जिल्लाका पत्रकारहरुले शाखामा तालाबन्दी गरेका हुन् ।
सचिव शेर्पाले अध्यक्ष श्याम निरौला, उपाध्यक्ष दिव्य बराल, सहसचिव किशोर बुढाथोकी, सदस्यहरु भवीन कार्की, नवीन दाहाल, भोला गौली र सभासद् गङ्गा विष्टको कीर्ते हस्ताक्षर गरी नयाँ थप सदस्यको सिफारिस गरेका थिए ।
शाखा अध्यक्ष श्याम निरौलाले भन्नुभयो–“केन्द्रमा नयाँ ११ जनाको नाम सिफारिस भएको सुन्दा अचम्म लाग्यो, केन्द्रमा गएर हेर्दा बैठकको उपस्थितिमा मेरो पनि हस्ताक्षर कीर्ते गरेको पाएँ । सचिव शेर्पाले दुई वर्षअघि वैदेशिक रोजगारका क्रममा दुबई गएका सदस्य भवीन कार्कीको समेत हस्ताक्षर गरेका रहेछन् । ”
“सचिव छेटुले नयाँ सदस्य सिफारिसमा विराटनगर क्षेत्रीय कार्यालयमा कार्यरत प्रहरी जवान नवीन श्रेष्ठलगायत अन्य शिक्षक, लेखापाल र एनजिओमा कार्यरतलाई समेत सिफारिस गरेका रहेछन्”– अध्यक्ष निरौलाले भन्नुभयो । यसबारे तत्कालै केन्द्रीय अध्यक्ष शिव गाउँलेलाई उहाँको कार्यकक्षमै भेटी सचिवले कीर्ते गरी पठाएको नयाँ सदस्य खारेज गर्न माग गरेको उहाँले बताउनुभयो ।
जिल्ला शाखाका सदस्य कृष्णराज शाक्यले सचिव शेर्पाले पत्रकारिता क्षेत्रलाई नै बदनाम गराउने प्रयास गरेको भन्दै उनलाई निलम्बन र नयाँ ११ जनाको सदस्यता खारेज नगरेसम्म ताला नखोल्ने बताउनुभयो ।
Post a Comment