अज्ञात रोगका कारण हजारौँ कुखुरा सखाप
अज्ञात रोगका कारण खोटाङमा पालिएका लोकल कुखुरा सखाप भएका छन् । दाना नखाने, झोक्राउने, सेतो छेर्ने, टाउको बाङ्गो हुने, तन्किनेलगायतका लक्षण देखिने यो रोगका कारण सदरमुकाम दिक्तेललगायत आसपासका गाविसमा पालिएका कुखुरा मरेका हुन् ।
हप्ता दिनदेखि एक्कासी देखापरेको रोगका कारण खोर नै रित्तो बनेको दिक्तेलका कुखुरा व्यवसायी गुणराज सैजुले बताए ।
सैजुले भने, “भेटेनरीबाट खोप लगाइएको कुखुरा त झनै एउटै रहेन । एउटै इन्जेक्सन सबै कुखुरामा लगाइएकाले यस्तो भएको हो ।”
व्यवसायीका अनुसार लक्षण देखापरेको दुई दिनमै कुखुरा मर्ने गरेका छन् । सुरुमा दिक्तेल–१ स्थित हाटडाँडा क्षेत्रमा देखापरेको यो रोग क्रमशः सदरमुकामका अन्य क्षेत्रमा फैलिन थालेको छ ।
कुखुरामा रानीखेत लागेको आशङ्कामा जिल्ला पशुसेवा कार्यालयले खोप दिएपछि कुखुरा मर्ने क्रम झन् बढेको कुखुरा व्यवसायीको गुनासो छ । स्वस्थ र बिरामी कुखुरामा एउटै इन्जेक्सन प्रयोग गरिएका कारण रोगको महामारी अन्य कुखुरामा सर्दै गएको उनीहरुको आरोप छ ।
कुखुरामा रानीखेत लागेको आशङ्कामा दिक्तेलका एक हजारभन्दा बढी कुखुरालाई रानीखेत विरुद्धको खोप दिइएको जिल्ला पशुसेवा कार्यालय खोटाङले जनाएको छ ।
स्वस्थ कुखुरालाई दिनुपर्ने खोप बिरामी कुखुरालाई पनि दिइएकाले कुखुरा मर्ने क्रम बढेको हुनसक्ने पशुसेवा कार्यालयको अनुमान छ ।
रोगका कारण सदरमुकाम दिक्तेल, राजापानी, बुइपा, बाम्राङ, खाल्ले, लफ्याङलगायत गाविसमा गरी हजारौँ कुखुरा मरेको कृषकको भनाइ छ । राजापानीका किसानले पालेका कुखुरामा समेत रोग देखापरेको जनाइएको छ ।
अहिलेसम्म कुखुरामा देखापरेको रोगको स्पष्ट पहिचान नभएको कार्यालयका नायब सुब्बा ध्रुव कार्कीले जानकारी दिए ।खोटाङमा लोकल कुखुरा प्रतिकेजी रु ५५० मा बिक्री हुन्छ भने ब्रोइलर रु ४३० मा बिक्री हुने गरेको छ ।
Post a Comment