0

झार बन्दै स्याउका बोट

– जिल्लाका सयौँ नर्सरीमा वर्षौंदेखि उत्पादन गरिएका १० लाख स्याउका बोट अहिले झार बन्दै छन् ।
SB-KTM-apple khetiजुम्लाको चौध बीस क्षेत्रमा मात्र जुम्ला जिल्लालाई नै ओगट्ने स्याउका बोट उत्पादन भएको डिल्लीचौर गाविसका लक्ष्मण बोहराले जानकारी दिए ।
जिल्लाका धेरैभन्दा धेरै नर्सरी धनी वर्षौंदेखिको लगानी डुबेकाले ठूलो समस्यामा परेका छन् । आर्थिक रूपले समृद्ध बन्ने सपना बोकेका यी कृषक स्याउका बिरुवा नै झारमा परिणत हँुदा पुर्पुरोमा हात राखेर बस्नुबाहेक अर्को उपाय नभएको बताउँछन्– कुडारी– ३ जुम्लाका स्याउ कृषक नरबहादुर रावत । कृषक रावतका बगैँचामा अहिले पनि करिब २० हजार बोट छन् । पछिल्लो चरणमा प्रत्येक गाविसका एक वा दुई जनासम्मले स्याउ खेती गर्न थालेपछि अनुमान गरे भन्दा बढी स्याउ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले बताएको छ ।
वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेका अनुसार स्याउको माग कम, उत्पादन धेरै र बजार व्यवस्थापन हुन नसक्नु, यावत विषयले स्याउका बिरुवाहरू नर्सरीमा नै थन्किएका हुन् ।
तथापि यस वर्ष जुम्लामा स्याउ आत्मनिर्भर कार्यक्रमअन्तर्गत ३० हजार खपत हुने र जिल्ला बाहिर करिब सवा एक लाख बिरुवा गइसकेको कार्यालयको भनाइ छ ।
यता कालिका तथा सत्रखम्बा फलफूल तलिउम– ३ जुम्लाका नर्सरी धनीद्वय अमरबहादुर रावत र रतनबहादुर रावतले कृषि कार्यालयले नै बिक्री वितरणमा सहयोग सल्लाह दिएर गरेको उत्पादन नै नष्ट पार्नु परेपछि व्यवसाय धरापमा परेको बताए ।
ग्राहकलाई दुई÷तीन रूपैयाँमा बोट लिइदिनोस् भन्दा पनि निलिने उनीहरुको गुनासो छ । दीर्घकालीन रूपमा स्थापित हुने ध्येयका साथ करिब ३० मुरी भूमिमा दुवै नर्सरी धनीका गरी ९५ हजार बुटा झार भइसकेका छन् ।
यस्तो पीडा जिल्लामा दर्ता भएका नभएका गरी १११ नर्सरी धनीले खेप्नु परेको छ । केही किसानले त निःशुल्क बुटा लिइदिनोस् भनेर एफएमद्वारा सूचना गर्न आफूसँग ५० रूपैयाँसम्म पनि नभएको दुखेसो सुनाए । बागवानी विकास अधिकृतको संयोजकत्वको पाँच सदस्यीय टोलीको अनुगमनबाट दर्ता नर्सरीमा मात्र १० लाख ७८ हजार ६०० बिरुवा छन् भने पौने दुई लाख बराबर दर्ता नभएका नर्सरीमा पाउन सकिन्छ ।

Post a Comment

 
Top