0

फेसबुकमा ‘प्रहरीलाई ५० हजार तिर्नु परेको’ लेखेपछि पक्राउ

असार ५– 
सामाजिक सञ्जाल फेसबुकमा प्रहरीविरुद्ध प्रतिक्रिया लेखेको आरोपमा १९ दिनदेखि सप्तरी प्रहरीको हिरासतमा रहेका सप्तरीका एक युवा व्यापारीलाई प्रहरीले आज बिहान काठमाडौं ल्याएको छ ।
सप्तरी पोर्ताहा १ का व्यापारी अब्दुल रहमानलाई विद्युतीय कारोबार ऐन विपरीतको अपराध मुद्दामा कारबाहीका लागि यहाँ ल्याइएको हो ।
उनले अनावश्यक रुपमा प्रहरीले चोरीको बाइक फर्काउन प्रहरीलाई ५० हजार रुपयाँ तिर्नुपरेको सामाजिक सञ्जालमा लेखेका थिए । पत्रकार जितेन्द्रकुमार झाद्वारा नागरिक दैनिकमा प्रकाशित ‘सप्तरीमा सुध्रँदो सुरक्षा’ भन्ने शीर्षकको समाचार पत्रकार झाबाट फेसबुकमा सार्वजनिक हुँदा गत जेठ १७ गते राति उनले “के को सुध्रिनु आफ्नै चोरी भएको बाइक फर्काउन पैसा तिर्नु परिरा’ छ । त्यो पनि ५० हजार” भन्ने प्रतिक्रिया लेखेका थिए ।
लगत्तै जेठ १८ गते दिउँसो १ बजे नी पक्राउ परेका थिए ।
जिल्ला प्रहरी कार्यालयले रहमानविरुद्ध गत जेठ १९ गते विद्युतीय कारोबार ऐन विपरीतको अपराध मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतमा गत सोमबार पेस गरेको थियो ।
रहमानले आफ्ना एक छिमेकीले चोरी भएको बाइक फर्काउन पैसा तिर्नुपरेको पीडा सुनाएको आधारमा आफूले त्यस्तो प्रतिक्रिया लेखे पनि कसैको नाम, पेसा अङ्कित नगरेकाले सामान्य ढङ्गले लिन आग्रह गर्दै आएका छन् ।
यता रहमानलाई गैरकानुनी तरिकाबाट प्रहरीले १८ दिनदेखि हिरासतमा राखेको भन्दै उनका बुबा इसराइलले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा बुधबार पुनरावेदन अदालतले बन्दी प्रत्यक्षीकरण रिट आदेश गरेको छ ।
पुनरावेदन अदालतका न्यायाधीश राजेश्वर तिवारीले सूचना पाएको मितिले २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेस गर्न जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयका नाममा बुधबार सूचना जारी गरेको हो ।
अधिवक्ता समिम अख्तर अलीले बन्दीलाई उपस्थित गराउने अदालतको आदेश बुधबार जिल्ला प्रहरी कार्यालयले बुझेर पनि राति काठमाडौँ पठाइनु शक्तिको दुरुपयोग गर्दै अदालतको अपहेलना गर्नु भएको बताए ।

Post a Comment

 
Top