0
नेपाल की चेलीमात्र होईन , नेपाली चेली पनि छिन है DID L'IL MASTER मा !!!
हुन त अब DID L'IL MASTER को GRAND FINALE संघारमै आईपुगेकोले मेरो यो लेखले खासै अर्थ नराख्ला ! यो "मर्ने बेलामा औषधि" हुन जाला तर पनि "साँस रहुन्जेल आश" त भै हाल्छ ! कतै यो मर्ने बेलाको औषधिले असर पो गरिहाल्ला कि ? आशा गरौँ !!
सन्दर्भ हाल भारतको ZEE TV बाट प्रसारण भईरहेको DID L'IL MASTER नामक एउटा रिएलिटी शो को हो । अब मैले यहाँ यस कार्यक्रमबारे चर्चा गरिरहनुपर्ने औचित्य देख्दिन कारण अहिले नेपालै DIDमय , अझ खासै भन्नुपर्दा "तेरियामय" भएको अवस्था हो । हुन त म हाल बिदेश (जापान)मा भएकोले किटाननै गर्रेर त भन्न सक्दिन तरपनि यी सामाजिक संजालहरू , बिशेष गरी फेसबुकमा स्टाटसहरू हेर्ने हो भने हाल नेपालीहरू यो "Teriya Fever"ले यती ग्रस्त भएकाछन् कि शायद हाल संचालन भई रहेको विश्व कप पनि ओझेलमा परेको भान भईरहेकोछ ! नेपालीहरूको यो उत्साह र जाँगर देख्दा तेरियाको जीत ९९.९९% निश्चित छ ! यो हामी नेपालीले प्रमाणितपनि गरेर देखाई सकेकाछौँ २००७ मा प्रशान्त तामागंलाई जिताएर ! अझ त्यसताका त यी सामाजीक संजालहरू ले नेपालमा प्रवेशपनि गरेका थिएनन् क्यारे ।
तेरियालाई जिताउने अभियान प्रति मेरो कतई विमती होईन । म पनि अन्य सबै नेपाली सरह तेरिया को प्रशंसक हूँ र उनलाई जिताउने अभियानप्रति मेरो पूर्ण समर्थन छ ।
तर मेरो मनमा खट्केको कुरा के भने तेरिया जस्तै अर्कीपनि एउटी नेपाली चेली छिन । उनी हुन भारतको दार्जिलिंग निवासी केवल ८ बर्षिया अनुष्का छेत्री ! भलै उनी नेपाल की चेली ( नेपालमा जन्मिएकी ) होइनन , तर नेपाली चेली ( नेपाली मूलकी ) त हुन नि ! तर उनको पक्षमा भोटको अपिल अथवा शुभकामनाका शब्दहरू कही कतै पढन सुन्न पाइएन । अरू त अरू हाम्रा प्रख्यात मीडियाकर्मि तथा BBC नेपाली सेवाका संपादक रविन्द्र मिस्रज्यूले पनि आफ्नो फ़ेसबुक वाल मार्फ़त तेरियाको निकै प्रशंसा तथा भोट अपिल गरिएको पढन पाइयो । तर उहाँ ले पनि अनुष्काको बारे एक शब्दपनि खर्चेको मैले चाहिँ भेटिन ।
के अनुष्कालाई प्रवासी भएकै कारण अथवा राष्ट्रीयताकै कारण उपेक्षा गरिएको हो त ? यदि हो भने भारतीय राष्ट्रीयता बोकेका प्रशान्त तामागंलाई २००७ मा INDIAN IDOL बनाउने पनि हामी नेपालीहरूनै होइनौं र ? नेपाल भित्र र बाहिरका नेपालीहरूले जोश र जाँगर नदेखाएको भए शायद प्रशान्त तामागंले INDIAN IDOL 2007 को ताज पहिरिने मौका पाउने थिएन । शायद यस कुरामा कसैको विमती नहोला ।
यदि अनुष्काल्ई कम प्रतिभावान आँकलन गर्ने हो भने उनीपनि करिब ४ लाख प्रतिस्पर्धीहरूलाई पछारेर उत्क्रिष्ट ४ मा आइपुग्न सफल भएकी छिन ! अझ उमेरको हिसाबले हेर्ने हो भने त अनुष्का यी टप ४ मध्य सबभन्दा कान्छी हुन !
मैले यतीका कुरा भनिरहदाँ तेरियालाई होइन अनुष्कालाई जिताऔँ भनेर क़तई भन्न खोजेको होइन । जितुन तेरियाले ! निश्चित रूपमा जित्छिन पनि ! मेरो अग्रिम बधाई तेरियालाई ! तर साथमा अर्की एउटी नेपाली चेलीपनि छिन । तिनलाईपनि सदासायता देखाऔं । भोट गरौँ । तेरियालाई शुभकामनाका शब्दहरूको वर्षा गर्दा अनुष्कालाई पनि केही भोट र शुभकामनाका छिटाहरू वर्षाओँ भन्न खोजेको मात्र हुँ ! अन्यथा नलिनु होला ।
मैले त दुवैजनालाई भोट गरेँ , तपाईँहरूपनि गर्नुस है त !!!!!

Post a Comment

 
Top