0
लघुजलविद्युत् बिग्रिएर ३० गाउँका १७ हजार जनसङ्ख्या अन्धकारमा

 उत्तरी गोरखाको ३० गाविसमा सञ्चालनमा रहेका लघुजलविद्युत् आयोजना हालै गएको भूकम्पले बिग्रेपछि यहाँका मानव बस्तीहरु विद्युत्विहीन बनेका छन् । 


त्रिपाल, टहराभित्र बस्दै आएका भूकम्पपीडितले विद्युत् सेवाबाट वञ्चित हुनुपरेको हो । उत्तरी भेगमा रहेका विभिन्न खोलाबाट निकालिएको विद्युत्ले गाउँ विद्युत्भार कटौतीमुक्त थियो । तर डेढ महिनादेखि गाउँ विद्युत्विहीन छ । 

भूकम्पले जिल्लामा ६५ भन्दा धेरै लघुजलविद्युत् आयोजना ध्वस्त भएको छ । आयोजनाका लागि खोलाबाट पानी लगिएको कुलो पहिरोले बगाएको, टर्वाइन बिग्रेको, विद्युत् गृह पुरिएको जस्ता समस्याले गर्दा आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको हो । 

जिल्ला विकास समिति गोरखाअन्तर्गतको वैकल्पिक ऊर्जा तथा वातावरण शाखाका अनुसार उत्तरी भेगमा सञ्चालनमा रहेका अधिकांश लघुजलविद्युत् बिग्रेपछि गाउँले रातमा अन्धकारमा बस्नुपरेको छ । 

“जिल्लाभर रहेका ७० लघु जलविद्युत्मध्ये ६५ भन्दा बढी आयोजना बन्द भएको हामीलाई जानकारी आएको छ,” ऊर्जा शाखाका प्रमुख कुलराज चालिसेले भन्नुभयो, “तत्कालै मर्मत गर्न सक्ने सम्भावना छैन ।” पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल विद्युत् आयोजना मर्मत गर्न सक्ने स्थिति नरहेको ऊर्जा शाखाले जनाएको छ । 

विभिन्न खोलाबाट गोरखाभर गरी एक मेगावाटभन्दा धेरै विद्युत् उत्पादन हुँदै आएको थियो । यस जिल्लाका करिव सत्र हजार स्थानीयवासीले लघुजलविद्युत् प्रयोग गरिआएका थिए । 

जिविसअन्तरगतको ऊर्जा तथा वातावरण शाखा, क्षेत्रीय नवीकरणीय ऊर्जा सेवा केन्द्र, कादुरी नामक गैरसरकारी संस्था र उत्तरी भेगमा काम गर्दै आएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले खोलाबाट विद्युत् निकालेर गाउँ झिलिमिली बनाएका थिए । “साठी वटा लघुजलविद्युत् आयोजनाबाट १.४९४ मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो,” चालिसेले भन्नुभयो – “भूकम्पले सबै आयोजनामा क्षति पु¥याएको जानकारी आएको छ ।” रु सात लाखदेखि रु एक करोड लगानी गरेर गाउँमा लघुजलविद्युत् निर्माण गरी विद्युतीकरण गरिएको थियो । 

गोरखाको उच्च पहाडी भेगमा एउटै खोलाबाट तीनवटासम्म लघुजलविद्युत् आयोजना सञ्चालन भइआएका थिए । लापु गाविसको नौलीखोलाबाट तीनवटा आयोजना सञ्चालनमा रहे पनि हाल सबै आयोजना बिग्रेका छन् । 

त्यस्तै, खरिबोट गाविसमा रहेको चार किलोवाट क्षमताको लिलीखोला लघुजलविद्युत् आयोजना, १२ किलोवाट क्षमताको अँधेरीखोला लघुजलविद्युत् आयोजनालगायतका लघुजलविद्युत् आयोजना बन्द छन् । 

“आयोजना बन्द भएपछि मोबाइल चार्ज गर्न र टावर सञ्चालन गर्न पनि पाइएको छैन,” खरिबोट गाविस–५ का कृष्णबहादुर गुरुङले भन्नुभयो, “घर भत्केर बारीमा बसेको पीडामा अन्धकारले झन् पीडा थपिदियो ।” विद्युत् अवरुद्ध भएदेखि गाउँले सञ्चार सेवाबाट पनि वञ्चित हुनुपरेको गुरुङको भनाइ छ । 

“गाउँमा ढिँकीजाँतो छैन,” उहिया गाविसका छिरिङ गुरुङले भन्नुभयो – “बिजुली आएपछि गाउँलेले पानीघट्ट पनि उखालेका थिए ।” बारीमा फलेको गहुँ पाकेर टिपे पनि पिस्न नपाएको गुनासो छिरिङले गर्नुभयो । स्थानीय लुङ्गेतखोलाबाट निकालिएको लघुजलविद्युत् बिग्रेपछि अन्धकारमा बस्नुपरेको दुखेसो पोख्दै उहाँले भूकम्पले क्षतिग्रस्त आयोजनालाई सरकारले सहयोग गरेर तत्कालै मर्मत गर्न लगाउनुपर्ने बताउनुभयो । 

विद्युत् आयोजना बिग्रेपछि उहियाको करिब २०० वटा टहरामा बस्दै आएका स्थानीयवासी अन्धकारमा बसिरहेका छन् । मिल नचलेपछि भूकम्पले भत्काएको घरभित्रबाट झिकेको अन्न पनि भूकम्पपीडितले पिस्न पाएका छैनन् । 

आयोजना बिग्रेपछि ३० गाउँका १७ हजार जनसङ्ख्या रातको अन्धकारमा बस्नुपरेको हो । सामागाउँ, ल्हो, प्रोक, केरौँजा, कासीगाउँ, गुम्दा, उहिया, लापु, हंशपुर, खरिबोट, सिम्जुङ, स्वाँरा, सौरपानी, बारपाक, लाप्राकलगायत गाविसका विभिन्न खोलाबाट निकालिएको लघुजलविद्युत् आयोजना बिग्रेपछि गाउँलेले सास्ती पाएका हुन् । गुम्दाका सुनील गुरुङका अनुसार विद्युत्को विकल्पका रुपमा सोलार प्यानल प्रयोगमा ल्याइएको छ । 

“टहरा टहरामा सोलार प्यानल राखिएको भए पनि घाम नलाग्दा चार्ज हुँदैन,” गुरुङले भन्नुभयो – “विद्युत् नहुँदा टेलिफोनको टावर चल्दैन । रेडियो सुन्न पनि पाइँदैन ।” जिविसको ऊर्जा शाखाका चालिसेका अनुसार भूकम्पले बिग्रेका आयोजनामध्ये स्वाँरा गाविसको स्तुलखोला लघुजलविद्युत् आयोजना र सौरपानी गाविसको हुडिखोला तेस्रो लघुजलविद्युत् आयोजना मर्मतपछि सञ्चालनमा आएका छन् । 

“स्थानीयवासीले चन्दा उठाएर अवरुद्ध विद्युत् आयोजना मर्मत गरेका छन्,” चालिसेले भन्नुभयो – “सरकारका तर्फबाट मर्मतका लागि पहल भइरहेको छ ।” आयोजना मर्मतका लागि करोडौँ बजेट लाग्ने उहाँको भनाइ छ । 

आयोजना मर्मत गर्ने बजेट ऊर्जा शाखासँग नभएका कारण सरकारले मर्मत खर्च पठाइदिनुुपर्ने उहाँको माग छ ।

Post a Comment

 
Top