0
सरकारको नेतृत्व गर्नबाट कसैले रोक्न सकदैनः ओली ।
असार १० 
सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सरकारको नेतृत्व गर्नबाट कसैले रोक्न नसक्ने बताउनुभएको छ ।
एमाले अध्यक्ष ओलीले भुकम्प प्रभावितहरुको पुर्नस्थापनाका लागि पार्टीले संचालन गरेको  राष्ट्रिय स्वयंसेवक परिचालन अभियानको विहिवार काठमाडौमा समापन गर्दै एमालेलाई सरकारको नेतृत्वमा पुग्नबाट कसैले रोक्न नसक्ने बताउनुभयो । सत्तारुढ नेपाली काँग्रेसले १६ बुँदे सहमति गर्दा सत्ता बाँडफाँडको विषयमा कुनै छलफल नभएको बताउँदै आइरहेका बेला एमाले अध्यक्ष ओलीको यो भनाइ आएको हो ।
उहाँले संविधान छिटै जारी हुने र त्यसपछि सरकारको नेतृत्व आफूले गर्ने संकेत गर्नुभयो । उहाँले जिम्मेवारी आउँछ कि आँदैन भन्दा पनि जिम्मेवारी नदिनका लागि कसैले भाँजो हाल्छ कि हाल्दैन भन्ने कुरा महत्वपूर्ण भएको भन्दै जनतामा बनाएको हैसियतले एमालेलाई जिम्मेवारी लिनबाट कसैले रोक्न नसक्ने बताउनुभयो ।
एमाले अध्यक्ष ओलीले नयाँ संविधानमा के के विषय राख्ने भन्ने कुरा संविधानसभाको क्षेत्राधिकारको विषय भएको भन्दै अर्काको क्षेत्राधिकारभित्र प्रवेश गरेर जथाभावी आदेश नदिन सर्वोच्च अदालतलाई चेतावनी दिनुभयो । कार्यक्रममा एमालेको स्वयंसेवक अभियानका संयोजक गोकर्ण विष्टले एक महिने अभियान अन्र्तगत पार्टीका नेता तथा कार्यकर्ताले भुकम्प प्रभावित २५ जिल्लाका ७६ वटा निर्वाचन क्षेत्रमा २७ हजार २ सय ७१ वटा अस्थायी आवास बनाएको बताउनुभयो ।
यसबीचमा एमालेले जोखिमयुक्त २२ हजार ६ सय ३० वटा घरको भग्नावशेष हटाएको छ भने  १ हजार १३ वटा विद्यालय तथा क्याम्पसहरूका लागि अस्थायी भवन बनाइदिएको छ । संयोजक विष्टले १ हजार ४ सय भन्दा बढी स्थानमा दैनिक करिब २९ हजार स्वयंसेवकहरु खटिएका कारण यति धेरै अस्थायी भवन बनाउन सम्भव भएको बताउनुभयो ।
एमालेले भुकम्प प्रभावितहरुका लागि अस्थायी आवास बनाउने प्रयोजनका लागि गत जेठ १० गते  राष्ट्रिय स्वयंसेवक परिचालन अभियान सुरु गरेको थियो । अभियानमा एमालेका शिर्ष नेताहरु पनि सहभागी भएका थिए ।

Post a Comment

 
Top